आर्थिक

एनसेल ‘टेलिकम कम्पनी अफ द इयर’ र ‘इन्फ्रास्ट्रक्चर इनिसियटिभ अफ द इयर’ बाट सम्मानित

By खबरहब

March 20, 2022

काठमाडौँ- एनसेल आजियाटा लिमिटेड ‘एसियन टेलिकम अवार्ड २०२२’ को ‘टेलिकम कम्पनी अफ द इयर’ र ‘इन्फ्रास्ट्रक्चर इनिसिएटिभ अफ द इयर’ विधामा सम्मानित भएको छ। कम्पनीले गरेका उल्लेखनीय काम र इन्टिग्रेटेड डेटा सेन्टर स्थापनाको सम्मानस्वरूप यी पुरस्कार प्रदान गरिएको हो।

सिंगापुरमा अवस्थित ‘एसियन मोबाइल न्युज’ले सन् २००३ देखि ‘एसियन टेलिकम अवार्ड’ प्रदान गर्न सुरू गरेको थियो। यो अवार्ड कार्यक्रमले एसियाका अग्रणी दूरसञ्चार कम्पनीका उत्कृष्ट उपलब्धि र पहललाई मान्यता दिँदै पुरस्कृत गर्दैछ। उक्त अवार्डअन्तर्गत विभिन्न विधाका विजयी कम्पनीलाई हालै एक भर्चुअल कार्यक्रममार्फत सम्मानित गरिएको हो।

कोभिड-१९ महामारीले हरेक क्षेत्रलाई असर गरिरहँदा टेलिकम कम्पनीहरूले ग्राहकलाई सञ्चार सेवामा निरन्तर पहुँच सुनिश्चित गर्न र प्रतिस्पर्धामा रहिरहन विभिन्न सुविधा र योजना लागू गरे। बजारमा विभिन्न चुनौतीका बीच उत्कृष्ट प्रदर्शन गर्ने एसिया प्यासेफिक क्षेत्रका कम्पनीहरूलाई ‘एसियन टेलिकम अवार्ड २०२२’ले सम्मान गरिएको आयोजकले जनाएको छ।

नेपालमा भरपर्दो सेवा प्रदान गर्नुका साथै कोभिड-१९ को महामारीबीच देशभर विभिन्न आमसञ्चारमाध्यम तथा आफ्नै नेटवर्क प्रयोग गरी सरकारलाई जनचेतना अभिवृद्धिमा उल्लेखनीय योगदान पुर्‍याए बापत एनसेललाई ‘टेलिकम कम्पनी अफ द इयर’ अवार्ड प्रदान गरिएको हो। त्यस्तै, सरकारको डिजिटलाइजेसन योजनाको मेरुदण्डका रूपमा रहने विश्वस्तरीय डेटा सेन्टर स्थापनाका लागि एनसेललाई ‘इन्फ्रास्ट्रक्चर इनिसिएटिभ अफ द इयर’ पुरस्कारबाट सम्मानित गरिएको हो।

‘प्रतिष्ठित एसियन टेलिकम अवार्ड-२०२२ का दुई विधाबाट सम्मानित हुन पाएकोमा हामी अत्यन्तै हर्षित छौं। यो सम्मानले देश र जनताका लागि हामीले गरेका पहलहरू र योगदानलाई प्रमाणीकरण गरेको छ। हामीले सन् २०२० देखि कोभिड-१९ महामारीविरुद्ध गरेका काम र डिजिटलाइजेसन यात्रामा हाम्रो निरन्तर योगदानको सम्मान पनि हो,’ एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ पुरस्कृत भएपछि भने।

उनले यी उपलब्धिहरू कम्पनीले स्थापित गरेका बलिया आधारका कारण सम्भव भएको बताउँदै आफ्नो सम्पूर्ण कर्मचारी र टोलीप्रति उक्त उपलब्धी समर्पित गरे।

सरकारलाई कोरोना भाइरस रोकथामका लागि ‘कोभिड-१९ संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा १० करोड रुपैयाँ योगदान गर्ने एनसेल पहिलो निजी क्षेत्रको कम्पनी हो। कम्पनीले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सिएसआर) अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको सहकार्यमा कोभिड-१९ महामारीको रोकथामको लागि जनसचेतना अभिवृद्धि गर्ने काम गरेको छ।

पूर्वाधारको क्षेत्रमा एनसेलले भुकम्पीय जोखिमको दृष्टिकोणबाट अतिसंवेदनशील मानिने काठमाडौं उपत्यकामा विश्वस्तरीय ‘टियर थ्री’ मापदण्डको ‘इन्टिग्रेटेड डेटा सेन्टर’ स्थापना गरेको छ। यो पूर्वाधारले भूकम्पको विपद्का बेलामा पनि भरपर्दो सेवा प्रवाहमा योगदान पुर्‍‍याउनेमा कम्पनी विश्वस्त छ। यस किसिमको आधुनिक डेटा सेन्टर पूर्वाधार विकासका हिसाबले दक्षिण एसियाकै पहिलो हो।

यो पूर्वाधार हालसम्म कम्पनीले ठूलो लगानी गरेका आयोजनामध्ये एक हो। यसले सरकारको ‘डिजिटल नेपाल फ्रेमवर्क’ कार्यान्वयनमा सहयोग पुर्‍याउँदै डिजिटल भविष्य निर्माणमा महत्त्वपूर्ण योगदान गर्ने कम्पनीले बताएको छ।

एनसेलका अनुसार २०७२ सालको महाभूकम्पले पारेको प्रभावलाई मध्यनजर गर्दै विपद्सँग थप व्यवस्थित तथा उचित प्रतिकार्य गर्न सकिने गरी यो डेटा सेन्टर स्थापना गरेको हो। यसले बैंक तथा वित्तीय संस्था, बिमालगायत विभिन्न कम्पनीलाई आफ्ना डेटामा आधारित व्यवसाय विस्तार गर्न र उनीहरूको आवश्यकता अनुसार भरपर्दो कनेक्टिभिटी प्रदान गर्न मद्दत गर्छ।

सन् २०२१ मा पनि एनसेल ‘आजियाटा सिनियर लिडरसिप अवार्ड २०२१’ अन्तर्गत ‘मस्ट इम्प्याक्टफुल सस्टेनेबिलिटी इनिसिएटिभ’, ‘बेस्ट ओभरअल कोभिड-१९ रेस्पोन्स’, ‘वर्ल्ड कम्युनिकेसन अवार्ड २०२१’ मा ‘द सोसियल कन्ट्रिब्युसन अवार्ड’ र ‘क्राइसिस रेस्पोन्स अवार्ड’, ‘वर्ल्ड इन्फर्मेसन टेक्नोलोजी एन्ड सर्भिसेस् अलाएन्स (विट्सा)बाट ‘मेरिट विनर’का रूपमा ‘ई-हेल्थ सोलुसन अवार्ड (प्राइभेट सेक्टर/एनजिओ)’, ‘ग्लोबल बिजनेस आउटलुक (जिबिओ) अवार्ड २०२१’ मा ‘मस्ट सोसिएल्ली रेस्पोन्सिबल टेलिकम कम्पनी’ र ‘टेलिकम सिइ‌ओ अफ दि इयर’ अवार्ड तथा ‘एचआर मिट २०२१’ मा ‘नेसनल एचआर एक्सिलेन्स अवार्ड २०२०’ बाट सम्मानित भएको थियो।

त्यसैगरी, गत वर्ष नै एनसेलले ‘एसियाज बेस्ट इम्प्लोएर ब्रान्ड अवार्ड २०२१’, ‘एसियन–ओसियनियन कम्प्युटिङ इन्डस्ट्री अर्गनाइजेसन (एसोसिओ) अवार्ड’को ‘हेल्थटेक अवार्ड २०२१’ र ‘सस्टेनेबिलिटी लिडरसिप’का लागि एनसेल र डायलग आजियाटाले अन्य साझेदारका साथ ‘टिएम फोरम क्याटलिस्ट अवार्ड २०२१’ प्राप्त गरेको थियो।