तस्वीर- स्ट्यान्डर्ड अष्ट्रेलिया

अन्तर्राष्ट्रिय

ट्युनिसियामा २० आप्रवासीको शव फेला

By खबरहब

March 20, 2022

काठमाडौं- उत्तर अफ्रिकी मुलुक ट्युनिसियाको तटपारि भूमध्य सागरमा २० शव फेला परेको छ । अवैध रुपमा युरोपतर्फ जान खोज्ने आप्रवासीका ती शव उत्तरपूर्वी ट्युनिसियाको नयेबुल शहर नजिक फेला परेका हुन् ।

शुक्रबार १२ शव फेला परेकोमा शनिबार थप ८ शव भेटिएको स्थानीय रेडियोलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरु सिरियाली नागरिक हुन खोज्ने प्रहरीको आशंका छ ।

हाल फेला परेका शवलाई डीएनए परीक्षण र अन्य पहिचानका लागि स्थानीय अस्पतालतर्फ लगिएको बताइएको छ । थप शव भेटिने आशङ्कामा सो क्षेत्रमा खोजी कार्य पनि जारी रहेको समाचार संस्था एपीले जनाएको छ ।

ट्युनिसियाको तट युरोप प्रवेश गर्ने अफ्रिकी आप्रवासीका लागि कुख्यात मानिन्छ । हरेक वर्ष यस क्षेत्रमा अवैध रुपमा युरोपतर्फ जान खोज्ने सयौँ आप्रवासीले ज्यान गुमाउने गरेका छन् ।

अन्तर्राष्ट्रिय आप्रवासन संगठन आईओएमका अनुसार गत वर्ष मात्रै भूमध्य सागरको सो क्षेत्रमा १३ सय भन्दा धेरै आप्रवासी मारिएको वा बेपत्ता भएका थिए ।