तस्वीर- एएनआई

अन्तर्राष्ट्रिय

भारतद्वारा युक्रेनबाट १० बंगलादेशी नागरिकको उद्धार

By खबरहब

March 20, 2022

काठमाडौं– भारतले रुसी आक्रमणको चपेटामा परेको युक्रेनबाट १० बंगालादेशी नागरिकलाई पनि उद्धार गरेको छ । अपरेशन गंगाको नामबाट भारतले युक्रेनबाट आफ्ना नागरिकको उद्धार थालेको थियो । सोही क्रममा बंगलादेशका १० नागरिकको पनि उद्धार गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उनीहरुलाई पूर्वी युक्रेनको सुमी क्षेत्रबाट उद्धार गरिएको बताइएको छ । तीमध्ये ९ बंगलादेशीलाई मार्च ९ को उडानद्वारा उद्धार गरिएका थियो भने अर्का बंगलादेशीलाई मार्च ४ मा उद्धार गरिएको थियो । आफ्ना नागरिकको उद्धार गरेकोमा बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिएकी छिन् ।

रुसको राजधानी मस्को र नयाँ दिल्लीमा रहेका बंगलादेशी नियोगले भारतसँग आफ्ना नागरिकको पनि उद्धार गरिदिन आग्रह गरेपछि भारतले आग्रह स्वीकार गर्दै उनीहरुको उद्धार गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतले आफ्ना नागरिकसँगै बंगलादेश, नेपाल र केही पाकिस्तानी नागरिकको पनि उद्धार गरेको छ । केही साताअघि मात्रै एक पाकिस्तानी विद्यार्थीले आफूलाई युक्रेनबाट उद्धार गरेकोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिएको भिडियो सार्वजनिक भएको थियो ।