राजनीति

‘शिक्षा, स्वास्थ्य र बजार व्यवस्थापन मेरो प्राथमिकतामा छ’

By खबरहब

May 20, 2022

काठमाडौँ– सर्लाहीको हरिपुर नगरपालिकाको मेयरमा निर्वाचित नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका गोपाल पजियारले आफ्नो लागि धेरै नै चुनौती रहेको बताएका छन् । उनले आफूले चुनाव जित्नु भन्दा पनि जनताको अपेक्षाअनुसार काम गर्ने चुनौती रहेको बताएका छन् । शिक्षा क्षेत्रमा वर्षौँदेखि सक्रिय रहेका पजियारले त्यहीँ विश्वासमा मत पाए । त्यो मतले गरेको विश्वास अनुसार हरिपुर नगरपालिकामा परिवर्तन गर्नु पर्ने दायित्व उनमा छ । 

‘म शिक्षा क्षेत्रबाट यता आएको हो । मेरो लागि नयाँ क्षेत्र भएता पनि मैले गर्ने कामको प्लानिङ गरिसकेको छु । त्यसलाई विस्तारै मूर्तरूप दिनेछु’ मेयर पजियारले भने । उनले ६ हजार ९ सय ३८ मत ल्याउँदा निकटतम् प्रतिस्पर्धी माओवादी केन्द्रका उम्मेदवार सुनिलकुमार बुढाथोकीले ३ हजार ८ सय ८७ मत प्राप्त गरे । यति धेरै मतान्तरले निर्वाचित भएकाले आफूलाई जनअपेक्षा बढेको मेयर पजियारले बुझेका छन् । 

‘मैले निजी विद्यालयमा विगत चार दशक यता काम गरिरहेकाले त्यहीँ अनुभवले शिक्षा क्षेत्रलाई सुधार गर्छु । सरकारी विद्यालयहरूलाई निजीस्तरका विद्यालय भन्दा राम्रो बनाउनु पर्ने दायित्व छ । यसका साथै स्वास्थ्य क्षेत्रमा पनि मैले देखिने गरी केही काम गर्नु छु उनले भने । हरिपुर बजारलाई व्यवस्थित गर्नुका साथै त्यहाँ देखिने विकास गर्ने उनको चुनौती छ । ‘मैले शिक्षा, स्वास्थ्य, बजार व्यवस्थापन, फोहर व्यवस्थापन लगायतका विभिन्न क्षेत्रहरूलाई समेटेर काम गर्दै जान्छु’ मेयर पजियारले भने । 

‘हामी राजनीतिमा आउनु नै स्थानीय विकासका लागि हो । र, विकासको सुरुवात शिक्षाबाट हुन्छ । त्यसपछि स्वास्थ्य लगायतका क्षेत्रमा स्थानीय स्रोतका साथै प्रदेश, संघीय सरकारसँग समन्वय गरेर काम गर्ने तयारी गरेको छु । यसका साथै एनजीओ, आइएनजीओसँग पनि कुराकानी भइरहेको छ’ मेयर पजियारले भने । त्यसैगरी उपमेयरमा नेपाली कांग्रेसकै निलम राय यादव ५ हजार ५ सय ५२ मत प्राप्त गरी निवार्चित भएकी छिन् ।

 उनका निकटतम् प्रतिस्पर्धी एकीकृत समाजवादीका उम्मेदवार शिला कार्कीले ४ हजार ७६ मत प्राप्त गरिन् ।