फाइल तस्वीर- बङ्गलादेश लाइभ न्युज

अन्तर्राष्ट्रिय

बंगलादेश र पाकिस्तानमा पसल खोल्ने समय सीमा तोकियो

By खबरहब

June 20, 2022

ढाका- इन्धनमा भएको अस्वाभाविक मूल्य वृद्धिले दक्षिण एसियाका एकपछि अर्को देश प्रभावित बनेका छन् ।  श्रीलंका लामो समयदेखि गहिरो आर्थिक सङ्कटमा फसेको छ । पछिल्लो समयमा पाकिस्तान र बंगलादेशमा उर्जा संकट देखिएको छ ।

विश्वव्यापी रूपमा ऊर्जाको बढ्दो मूल्यबिच ऊर्जा र इन्धन बचत गर्ने प्रयास स्वरूप बंगलादेश र पाकिस्तानले राति पसल खोल्ने समय सीमा तोकेका छन् । जसअनुसार बंगलादेश सरकारले सपिङ मल, पसल, भान्सा बजार र व्यापारका अन्य स्थानहरू हरेक दिन बेलुका ८ बजेपछि बन्द राख्न अधिकारीहरूलाई आदेश दिएको छ ।

प्रधानमन्त्री शेख हसिनाको निर्देशनमा मन्त्रालय, विभाग र स्थानीय अधिकारीहरूलाई पत्र पठाएर तोकिएको समयभित्र पसल बन्द गर्न निर्देशन दिएको हो । बंगलादेश श्रम ऐनले बेलुका ८ बजे पसलहरू बन्द गर्ने व्यवस्था गरेको पनि पत्रमा स्मरण गराइएको छ ।

पाकिस्तानका सिन्ध र पन्जाब प्रान्तका सरकारले राति ९ बजेभित्र सबै व्यावसायिक बजार, सपिङ मल र स्टोर बन्द गर्न निर्देशन दिएको छ । पाकिस्तान सरकारले तोकेको सीमा लामो समयसम्म विद्युत् कटौतीबिच ऊर्जा संरक्षण गर्न सरकारले घोषणा गरेका उपायहरूको एउटा हिस्सा हो । ताप  लहरका कारण पछिल्लो समय पाकिस्तानमा ऊर्जा अभाव बढेको छ ।

रुस–युक्रेन युद्ध सुरु भएपछि विश्वव्यापी रूपमा इन्धनको मूल्य बढेको छ । गत वर्ष डिसेम्बरमा प्रति ब्यारेल ६५ डलरमा बिक्री भएको कच्चा तेल मार्चमा मूल्य १२४ डलरमा उक्लिएको थियो । अहिले प्रति ब्यारेल करिब १२० डलरमा बिक्री भइरहेको छ ।