२०७९ वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा बालेन्द्र शाहले स्वतन्त्रबाट काठमाडौं महानगरपालिकाको मेयर पदमा जित हासिल गरे। मुलुकका सबैभन्दा ठूलो दल नेकपा (एमाले)का केशव स्थापित र दोश्रो ठूलो दल नेपाली कांग्रेसकी सिर्जना सिंहलाई भारी मतान्तरले पराजित गर्दै बालेन मेयरमा निर्वाचित भएका हुन्।
मिडिया, नागरिक समाज, सिंगो युवा जमातले प्रमुख दलका नेता र कार्यकर्ता, बुद्धिजीवी र आमाबुबाको साथ पाएका उनले काठडौंको ‘फोहर व्यवस्थापन’लाई चुनावी मुद्दा बनाए। त्यसका अतिरिक्त स्मार्ट र आधुनिक काठडौं सहर, सुशासनयुक्त सेवा प्रवाह उनका मुख्य एजेण्डा थिए। एउटा ‘आर्किटेक’ इन्जिनियर भएको नाताले यहाँको पूर्वाधार निर्माण लगायतमा योजनाका साथ काम गर्ने बताएकै कारण उनी महानगरबासीका प्यारा उम्मेद्वार र अहिले मेयर बने।
चुनाव जितेको बल्ल दुई महिना पुरा भएको छ। यो बीचमा उनले धेरै गर्न खोजेको देखिन्छ भने केही निर्णयका कारण आलोचना पनि उत्तिकै खेप्नु परिरहेको छ। पदभार ग्रहण गरेपछि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, सेनापति, प्रमुख राजनीतिक दलका नेता, कलाकार लगायतसँग भेट गरेर उनले आफ्नो परिपक्वता पनि प्रदर्शन गरेका छन्। जसकारण उनी बेला बेला चर्चामा पनि आइरहेका छन्। बालेनको यस रणनीतिले आम समुदायबीच राम्रो सन्देश गइरहेको छ।
त्यसपछि उनले महानगर कार्यपालिकाको बैठक लाइभ गरे। फोहर व्यवस्थापनको लागि सहरी विकास मन्त्रालय, बञ्चरेडाँडा र सिडोलबासीसँग संवाद र सहकार्य गरेर लामो समय काठमाडौंमा थुप्रिएको फोहर बञ्चरेडाँडामा बिसर्जन भयो। साउन १ गतेबाट त उनले फोहोरको श्रोतमै कुहिने र नकुहिने गरी वर्गीकरण गर्नुपर्ने बाध्यकारी नियम बनाएका छन्। त्यसको लागि सचेतनाको प्रचार नै बोकेर मेयर शाह गल्लीगल्ली हिँडिरहेका छन्।
राजधानीको समस्याको रुपमा रहेको सार्वजनिक शौचालयको समस्या समाधानमा व्यवसायी र पब्लिकसँग सहकार्य गर्ने, सार्वजनिक शिक्षामा गुणस्तरीयता कायम गर्नको लागि विद्यालयमै पुगेर अनुगमन गर्ने, लगायतका अरु धेरै काम उनका उदाहरणीय सुरुवात् हुन्। अपवादबाहेक निर्वाचित जनप्रतिनिधिले छोटो अवधिमा यति धेरै काम गरेका छैनन्।
फुटपाथबाट मकै बेच्ने दम्पत्तीको ठेलागाडा जफत र उनीहरुमाथि नगरप्रहरीले गरेको दमनकारी व्यवहार, महानगरको खर्चमा ‘यमोबुद्ध’को शालिक निर्माण गर्ने, इस्पोर्टस् नामक संस्थालाई १ करोड रुपैयाँ दिने, मिडियासँग आमनेसाम्ने भएर विवादमा आएका उदाहरण पनि छन्।
बालेनका यी निर्णयले उनको ओरालो यात्रा सुरु भएको भनेर टिप्पणी पनि हुन थालेको छ। यो विष्यलाई लिएर कतिपयले उनको चर्को अलोचना पनि गरेका छन्। कतिपय मतदाताले त मत दिएर बालेनलाई विजयी गराएकोमा पश्चाताप महसुस भयो भनेर सामाजिक संजालमा रोष प्रकट गरिरहेका छन्।
के बालेनको आलोचना गर्ने समय भइसक्यो ? बालेनका यी निर्णयकै कारण उनको यसरी आलोचना गर्ने बेला भएकै हो त ? हनिमुन अर्थात् १०० दिनको कार्यकाल पनि पुरा नहुँदै उनी असफल भए भनेर आलोचना गर्नु र हतोत्साही गर्ने काम किमार्थ राम्रो होइन।
२०७४ सालमा भएको स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधिले ५ वर्षको अवधिमा खासै माखो मार्न नसकेको बुझ्न सकिन्छ। सीमित पालिकाबाहेक त्यहाँ निर्वाचित जनप्रतिनिधि कुहिरोको कागमा हराएझैँ हराए।
राम्रो काम गर्न त कता हो कता ? उनीहरु भ्रष्टाचार, ठेकेदारसँगको सेटिङ, घुसखोर, कमिसन लगायतमा नाङ्गै नाचे भने उनीहरुमा अनुशासनहिनता, सुशासनहिनता र दण्डहिनता उस्तैगरी मौलायो।
हरेक वर्ष बेरुजुको चाङ, बनाउनु पर्ने स्थानीय निकायका कानुन र नियम पाँच वर्षसम्म पनि बनाउन नसक्नु, कर्मचारी र जनप्रतिनिधि नमिल्नु, कार्यपालिका बैठकमा कुटाकुट गर्नु, सरकारी गाडीको दुरुपयोग गर्नु लगायतले पहिलो कार्यकालका जनप्रतिनिधि बदनाम छन्। पहिलो पटक निर्वाचित अधिकांस जनप्रतिनिधिका महत्त्वपूर्ण उपलब्धि पनि तिनै हुन्।
त्यसको ज्वलन्त उदाहरणको रुपमा अहिले रुपन्देहीको तिलोत्तमा नगरपालिकामा देखिएको लडाइँ र झगडालाई लिन सकिन्छ। यस्तो अवस्थामा बालेनलाई यति चाँडै यो भएन, त्यो भएन भनेर असफलताको पगरी लगाउनु किमार्थ राम्रो होइन।
३२ वर्षे युवाको जोश छ, जाँगर छ, केही गर्नु पर्ने नवीन सोच छ, अरु जनप्रतिनिधिको भन्दा फरक सोँचाई र काम गर्ने तरिका पनि अलग छ, बालेनमा। त्यसैले उनलाई काम गर्न दिनुपर्दछ।
निर्वाचित भएको बल्लबल्ल दुई महिना पुगेको अवस्थामा उनले के नै गर्न सक्थे र ? तै पनि उनले गरेका धेरै कामहरु चर्चा लायक छन्। वास्तविकताभन्दा धेरै पर पुगेर उनको आलोचना भइरहेको छ। त्यसको वास्तविकता र यथार्थ पनि विश्लेषण गर्न सक्नुपर्छ ।
फुटपाथमा व्यापार गर्न नपाइने निर्णय
व्यवस्थित र मापदण्ड पुगेको सहरको फराकिला बाटा हुनुपर्दछ। यहाँका हरेक टोल र गल्ली अवरोधरहित हुनुपर्दछ। घरघरमा फूल रोपिएको हुनुपर्दछ। सफा र चटक्क हुनुपर्दछ। चारैतिर हरियाली हुनुपर्दछ। रंगीबिरंगी हुनुपर्दछ। पानी र शौचालयको समूचित व्यस्थापन हुनुपर्दछ। मानिसहरु भीख मागेर बसेको हुनु हुँदैन। जथाभावी ढल मिसाउने। जथाभावी फोहोर मैला नफालिएको हुनुपर्ने हो।
आकाशभरी पोलमा तारहरुको गुजुल्टो हुनु हुँदैन। दुर्गन्धरहित हुनुपर्दछ काठमाडौं। ठाउँठाउँमा बाटो काट्न जेब्राक्रस वा स्काइ ब्रिज, एम्बुलेन्स, दमकल जस्ता आपतकालीन सेवारुलाई बाधा नपुपुर्याउने गरी व्यापार व्यवसाय भएको हुनुपर्दछ।
ब्रेल मार्ग, साइकल रुट, गाडी पार्किङस्थल भएको हुनुपर्दछ। फुटपाथमा मानिस हिँड्ने बाहेक केही गतिविधि भएको देखिनु हुँदैन। विश्वका विकसित मुलुकमा भएका सहर हेर्ने हो भने यस्तै गुणले भरिएका छन्।
२०७९ वैशाख ३० गतेको निर्वाचनमा उम्मेदवारी दिँदै गर्दा मेयर बालेन्द्र शाहले चुनावी घोषणा पत्रमा यस्तै काठमाडौं सहरको परिकल्पना गरियो। सवारी र यात्रुलाई अवरोध पार्ने गरी फुटपाथमा व्यापार व्यावसाय गर्न निषेध गरिने लगायत धेरै एजेण्डा लेखेका थिए।
स्मार्ट सिटी बनाउने एउटा काम फुटपाथरहित सडक भएकाले सबैले उनलाई सहयोग गर्नुपर्दछ मेयर बालेन्द्रको यो निर्णय तत्कालका लागि आलोचनाको विषय होला तर, दीर्घकालका लागि भने निकै महत्वपूर्ण छ भन्ने कुरालाई सबैले बुझ्नु पर्दछ।
यो निर्णय कार्यान्वयन गराइरहँदा फुटपाथमा व्यापार गरेर जीविकोर्पाजन गरेका नागरिकको वैकल्पिक व्यवस्थापनमा भने बालेनले ध्यान दिनै पर्दछ।
शालिक बनाउने निर्णय
यमबुद्धको शालिक बनाउने विषयलाई मिडियाले अतिरञ्जित गरेका छन्। उनी सबैभन्दा धेरै आलोचित यही निर्णयबाट बने। तर, हामीले उनको पृष्ठभूमि बुझ्नु पर्दछ। शालिक त्यसको बन्छ, जसले राष्ट्रलाई केही दिएको हुन्छ। आज नेपालको हिपपप जनारा विकास हुनु र हजारौँ युवा यसप्रति आकर्षित् हुनु उनैको देन हो। यो नेपाली संगीतको ठूलो ठाउँ ओगटेको क्षेत्र भएकाले र बालेन्द्र पनि त्यही पृष्ठभूमिका व्यक्ति भएको हुनाले उनले गरेको निर्णय त्यति नराम्रो होइन।
यमबुद्धकै प्रेरणा र मार्गदर्शनबाट बालेन, गिरिष खतिवडा, मानस घले, लाहुरे, भिटेन, जीबब, भाइबर लगायतले नेपालको हिपहपलाई विश्व समुदायमा पुर्याएका छन्। हिजो राष्ट्रलाई योगदान दिने राजा र राणाका शालिक बनेका थिए। आज कांग्रेसले विपी र गणेशमानको, एमालेले मदन भण्डारी र मनमोहनको सालिक बनाउन छोडेका छैनन्।
विश्व समुदायलाई हेर्यौँ भने विश्वभरका आधुनिक सहरमा माइकल ज्याक्सनका, रोनाल्डो र मेस्सीका शालिक बनेका देखिन्छन्। यो अनुत्पादक लगानी हुनसक्छ। तर, राष्ट्रको लागि उनीहरुले गरेको सम्मान पनि हो भनेर बुझ्न सकिन्छ। त्यसैको पृष्ठभूमिको एक निर्णय हो यमबुद्धको शालिक।
ई–स्पोट्सको नाममा १ करोड विनियोजन बालेन्द्र शाहले ई–स्पोट्स भन्ने संस्थालाई १ करोड बजेट विनियोजन गरे भनिएको छ। बालेनको सोच र गतिशिलता भनेकै ‘नवीनता’ हो। स्वभावैले उनले विश्वमा ई–स्पोर्टको महत्व बुझेका छन्।
आधुनिक र सूचना प्रविधिमा दौडिएको यो विश्वमा विद्युतीय खेलको पनि निकै महत्त्व छ। हामीले नचाहे पनि मोबाइल कम्युटर, ल्यापटप चलाउने पंक्तिलाई रोक्न सकिँदैन। ई–स्पोटले त्यही आकर्षणलाई नियम संगत र व्यवसायिक बनाउन यस्ता खेलको तालिम दिने लगायतको काम गर्दछ। यिनै खेललाई प्रोत्साहन दिन यो निर्णय गरेको बालेनले बताएका छन्।
विश्वमा विद्युतीय खेलका ठूलाठूला प्रतिस्पर्धा हुन्छन्। त्यसमा नेपाललाई समावेश गर्ने कदमको रुपमा पनि बालेनको यो निर्णयलाई लिनुपर्दछ। बालेनलाई मेयर बनाउन ‘रुटिन अफ नेपाल बन्द’ नामक फेसबुक पेजले गुन लगाएकै कारण ई–स्पोर्टको नाममा बजेट छुट्याएको हो भन्ने कुरा अनर्गल प्रचार हुन सक्छ।
उनले विनियोजन गरेको १ करोड कसरी कहाँ प्रयोग हुन्छ भन्ने कुरालाई नपर्खिकन उनको अहिल्यै उछितो काढ्नु वाञ्छनीय हुँदैन। अतः यो कुरालाई मान्न सकिन्छ कि बालेन्द्र चुनाव जित्दा जति प्रशंसायोग्या पात्र थिए त्यो कद भने घटेको छ। त्यसलाई जोगाउनतर्फ अब लाग्नुपर्छ।
बालेनले सिक्नुपर्ने पाठ
मेयर भइसकेपछि बालेनले धेरै कुरामा आफूलाई परिपक्व बनाउनुपर्छ। सचिवालयमा बस्ने र सरसल्लाह दिने मानिस ठिक नराख्नु, उनैको सल्लाहमा हिँड्नु, सीमित व्यक्तिका मात्रै कुरा सुन्नु जस्ता कुराले पनि उनको निर्णय क्षमता परिपक्व देखिएको छैन।
कुनै पनि निर्णय गर्दा महानगर कार्यपालिकाका सबै सदस्यसँग सर–सल्लाहा नगर्नु फेसबुकमा लेखेर स्टाटस डिलिट गर्नु लगायतका अपरिपक्वताबाट पाठ सिकेर मेयर बालेन्द्रले आगामी दिनमा आफूलाई सुधार गरेर लैजानु पर्दछ। उनी मिडियासँग खासै नजिक भएका छैनन्।
सार्वजनिक पद धारण गरेको व्यक्तिले आलोचना–प्रशंसा, ताली–गाली सबै खानु पर्दछ भन्ने कुरा बुझेर सबैसँग बोल्न, विचार राख्नबाट उनी हिच्किचाउनु हुँदैन। अब पुराना ढर्रा र सोचबाटै बालेन मुक्त हुनै पर्दछ।
उनको हनिमुन पिरियड पनि पुरा नभएको अवस्थामा मेयर शाह असफलताको बाटोतिर हिँडे, राम्रो काम गरेनन् भन्नु हाम्रो हतारो हुन सक्छ। नेपाली राजनीति दलगत प्रवृत्तिबाट गुज्रिरहँदा एकल उम्मेद्वारी दिएर मेयरको चुनाव जित्नु स्वयंम उनका लागि जति ठूलो विद्रोह हो, त्यति ठूलो आश पनि उनैबाट आम नागरिकले गरेका छन्।
त्यसमा धेरै मानिसको शुभेच्छा बटुल्दै यति धेरै अपेक्षा उनीबाट राख्नु अन्यथा होइन। जसकारण उनका केही निर्णय र सुरुवाती काम विवादित लाग्न सक्छन्। तर, सबै सुरुवात विवादित भए पनि अन्त्य चाहिँ विवादरहित हुनुपर्छ। जुन आम नागरिकको अपेक्षा हो। सम्भवतः बालेन यसमा चुक्नु हुँदैन।
उनी जसरी एक मेयर काठमाडौँका स्कुल धाउँदै सुधारको प्रयासमा लागेका छन्। यो एक किसिमले अरु मेयर र नेताको तुलनामा विद्रोह हो। तर, केही निर्णय विवादित बने। विद्रोह आफैँमा सुधारको सुरुवात हो भन्ने उनले बुझिरहे भने त्यो अन्त्यमा विवादरहित पनि बन्न सक्छ। यसमा उनी स्वयम् जिम्मेवार रहन सक्नुपर्छ।