काठमाडौँ – श्रीलंकामा आज राष्ट्रपति पदको चुनाव हुँदै छ । आज हुने निर्वाचनका लागि तीन जना उम्मेदवारले आफ्नो मनोनयन दर्ता गरेका छन् । मनोनयन दर्ता गराउनेहरुमा श्रीलंकाका कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिंघे, सांसद दुल्लस अलाहापेरुमा र सांसद अनुरा कुमारा दिसानायके रहेका छन् ।
राजीनामा दिएका गोटाबाया राजापाक्षेको स्थानमा नयाँ राष्ट्रपतिका लागि बुधबार संसदमा मतदान हुँदैछ । आर्थिक संकट चुलिएपछि सुरु भएको आन्दोलन उग्र बनेपछि राष्ट्रपति गोटाबाया देश छाडेर भागेका थिए । उनी माल्दिभ्स हुँदै सिंगापुर भागेका थिए । सिंगापुर सरकारले राजापाक्षेलाई शरण नदिएको बरु उनी निजी भ्रमणका क्रममा त्यहाँ आएको बताएका छन् ।
नयाँ आउने राष्ट्रपतिले देशमा जारी अभूतपूर्व संकट समाधानमा महत्वपूर्ण पहल गर्ने विश्वास गरिएको छ । श्रीलंकाका २ करोड २० लाख मानिस खाद्यान्न, औषधिजस्ता अत्यावश्यक सेवाको अभाव झेलिरहेका छन् ।
हाल अन्तरिम राष्ट्रपति बनेका रनिल विक्रमसिंघे नै नयाँ राष्ट्रपति बन्ने बढी सम्भावना रहेको अन्तराष्ट्रि सञ्चार माध्यमहरुले जनाएका छन् । विक्रमसिंघे राजापाक्ष परिवारसँग निकट मानिन्छन् । संसदमा राष्ट्रपति पदको निर्वाचन अघि उनले श्रीलंकाभर आपतकाल घोषणा गरेका छन् । प्रदर्शनकारीहरुले उनी राष्ट्रपति हुन नहुने बताउँदै आएका छन् ।