राजनीति

कम्युनिष्टले वितरणको मात्रै कुरा गर्छन्, उत्पादनको कुरा गर्दैनन् : नैनसिंह महर

By खबरहब

July 20, 2022

काठमाडौँ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले विचार, सिद्धान्त र उद्देश्य एउटै भए पनि पछिल्लो समय नेपालको कम्युनिष्ट आन्दोलन विभाजित हुँदै गएको बताएका छन्।

जनसमाजवादी पार्टी नेपालको दोस्रो राष्ट्रिय सम्मेलन उद्घाटन समारोहमा बोल्दै नेता महरले सबै कुरा एउटै हुँदा पनि कार्यक्रम मोडेलका बारेमा केही विमति हुँदा कम्युनिष्ट आन्दोलन विभक्त भएको टिप्पणी गरे।

कांग्रेस पनि कल्याणकारी राज्य व्यवस्थामा विश्वास गर्छ । तर, हामीमा एउटा फरक छ । हामी वितरणको कुरा गर्दै गर्दा उत्पादनको पनि कुरा गर्छौँ । अहिले दुई वटै कुरामा समस्या आइरहेको छ,’ उनले भने ।  अहिले पुँजीवादको मात्र कुरा भइरहेको बताए  । अहिले पुँजी आर्जन र सकंलनको मात्र कुरा भइरहेको बताउँदै उत्पादनको कुरा हुन छोडेको महरको टिप्पणी छ ।

आर्थिक समृद्धिका लागि उत्पादनमुखी राज्यव्यवस्थाको पनि कुरा हुनुपर्ने उनले बताए । ‘कम्युनिस्टहरूले वितरणको मात्रै कुरा गर्छन्। नकमाए वितरण कहाँबाट गर्ने’, उनले भने ।

नेता जनताको सेवक भएकाले कुर्सीमा पुगिसकेपछि आडम्बरी बन्ने प्रवृत्तिको अन्त्य हुन जरुरी रहेको बताएका उनले सधैँ एकै व्यक्ति एकै पदमा बसिरहे उसले जनताका पक्षमा काम गर्न नसक्ने बताए ।

‘हामीले जनताका लागि राजनीति गर्ने हो । विकासका लागि राजनीति गर्ने हो । हामीले भाषणमा यो गर्छौँ, त्यो गर्छौँ भनिरहनु पर्दैन । राम्रा काम गर्दै गए जनताले त्यसको सम्मान आफैँ दिन्छन्,’ महर भन्छन् ।

मनमोहन अधिकारीहरू र कांग्रेसले मिलेर राजनीतिक परिवर्तनका लागि यतिहासिक भूमिका खेलेको महरको भनाइ छ । उनले पुराना नेताहरूले महत्त्वपूर्ण भूमिका खेलेको भए पनि जनताले अनुभूत गर्ने गरी अहिले पनि सामाजिक परिवर्तन हुन नसकेको टिप्पणी गरे ।

सिपी मैनालीकै युगमा जनताले महसुस गर्ने गरी विकास र परिवर्तनको काम गर्न सके आफूहरूसहित देश र जनताका लागि सुखद अनुभूति हुने महरले बताए । उनले सबै राजनीतिक दलको उद्देश्य एउटै भएकाले जनताको समृद्धिका लागि मिलेर काम गर्नुपर्ने कुरामा जोड दिएका छन्।