अन्तर्राष्ट्रिय

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित)

By खबरहब

July 20, 2022

आज साउन ४, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार जुलाई २०, २०२२। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् :

 

अडियो सुन्नुहोस्-

 

कार्यवाहक राष्ट्रपति विक्रमासिंघे श्रीलंकका नयाँ राष्ट्रपति निर्वाचित

श्रीलंकाका कार्यबहाक राष्ट्रपति रनिल विक्रमासिंघे राष्ट्रपतिमा निर्वाचित भएका छन् । नवनिर्वाचित राष्ट्रपति विक्रमासिंघे सन् २०२४ सम्म पदमा रहनेछन् । राष्ट्रपतिका लागि तीन जना उम्मेदवार प्रतिस्पर्धामा थिए ।

२२५ सदस्यीय सदनमा ६ पटक प्रधानमन्त्री बनेका ७३ वर्षीय विक्रमासिंघेले १३४ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी तथा असन्तुष्ट सत्तारुढ दलका नेता दुल्लास अलाहपेरुमाले ८२ मत पाए । वामपन्थी जनता विमुक्ति पेरामुना (जेभीपी) का नेता अनुरा कुमारा दिसानायकेले जम्मा तीन मत पाए ।

विक्रमासिंघेलाई प्रदर्शनकारीहरूले खासै मन पराउँदैनन् । उनलाई राजापाक्षेको सहयोगीका रूपमा हेर्छन् । प्रदर्शनकारीले प्रधानमन्त्री पदबाट राजीनामा माग गर्दै प्रदर्शन गरेका थिए ।

कार्यवाहक राष्ट्रपति बनेपछि उनले देशमा संकटकाल घोषणा गरेका थिए ।

पाकिस्तानमा ५ सय ९२ नयाँ कोरोना भाइरसका सङ्क्रमित थपिए

पाकिस्तानमा पछिल्लो २४ घण्टामा पाँचसय ९२ कोभिड–१९ का थप सङ्क्रमित भेटिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज भएको वृद्धिसँगै कूल सङ्क्रमितको संख्या १५ लाख ४७ हजार सात सय ९५ पुगेको छ ।

पाकिस्तानमा कोभिड–१९ बाट ३० हजार चारसय ५२ जनाको मृत्यु भएको छ । तीमध्ये पछिल्लो २४ घण्टामा थप सात जनाको मृत्यु भएको हो ।

हाल पाकिस्तानमा एक सय ७४ जना कोरोनाका सक्रिय बिरामी रहेका र उनीहरूको अवस्था गम्भीर रहेको स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

यसैबीच, भारतमा बुधबार कोभिड–१९ सङ्क्रमितको सङ्ख्या २० हजार नाघेको छ । सङ्घीय स्वास्थ्य मन्त्रालयले आज सार्वजनिक गरेको विवरणअनुसार बितेका २४ घण्टामा देशमा २० हजार पाँचसय ५७ नयाँ बिरामी थपिएका छन् ।

हालसम्म भारतमा चार करोड ३८ लाख तीन हजार छसय १९ जना कोरोनाबाट सङ्क्रमित भएका छन् भने सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख ४५ हजार छ सय ५४ पुगेको छ ।

बितेका २४ घण्टामा ४० जनाको मृत्यु भएको छ । महामारी शुरू भएयता भारतमा पाँच लाख २५ हजार आठसय २५ जनाको ज्यान गइसकेको छ ।

गर्मीका कारण बुधबार पनि बेलायतमा रेल सेवा अवरुद्ध

तातो हावाका कारण देशभर प्रचण्ड गर्मी बढेपछि बेलायतमा बुधबार तेस्रो दिन पनि रेलसेवा अवरुद्ध भएको छ ।

युरोपेली देशमा मङ्गलबारको तापक्रम ४३ डिग्री सेल्सियसभन्दा माथि रहेको जनाइएको छ । यद्यपि केही बेर वर्षा भएपछि भने गर्मीबाट केही राहत मिलेको बताइएको छ ।

प्रचण्ड गर्मीबाट हुनसक्ने सम्भावित दुर्घटनालाई दृष्टिगत गरी बेलायती अग्नि नियन्त्रकहरू उच्च सतर्कताका साथ कार्यक्षेत्रमा खटिन तत्पर रहेका बेलायती सञ्चारमाध्यमले जनाएका छन् ।

गर्मीका कारण लण्डन–एडिनबरा रेलमार्गका सूचना सङ्केतलगायत संरचना बिग्रँदा रेलका कर्मचारी भने मर्मतसम्भारमा व्यस्त रहनुपरेको छ ।

यसबाहेक गर्मीका कारण लण्डनका ४१ वटा सम्पदा आगलागीबाट ध्वस्त पारेका मेयर सादिक खानले बताएका छन् । बेलायतमा मात्र नभइ युरापेली देश फ्रान्स, पोर्चुगल, स्पेन र ग्रीसमा पनि प्रचण्ड गर्मी भइरहेको छ ।

कोरोना भाइरसको बढ्दो सङ्क्रमणबीच अष्ट्रेलियन प्रधानमन्त्रीद्वारा मास्क लगाउन आह्वान

देशमा बढ्दो कोरोना सङ्क्रमणका बीच अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले सबै देशबासीलाई मास्क लगाउन आग्रह गरेका छन् ।

पछिल्लो २४ घण्टामा ५० हजारभन्दा बढी नयाँ कोरोना सङ्क्रमित फेला परेका तथा ८० जनाको मृत्यु भएको सन्दर्भमा प्रधानमन्त्री अल्बानीजले देशबासीलाई मास्क लगाउन आग्रह गरेका हुन् ।

देशका स्वास्थ्य अधिकारीले राष्ट्रव्यापी मास्क लगाउनुपर्ने आदेश फिर्ता लिन सिफारिस नगरेका जनाउँदै उनले मास्क लगाउने बानी व्यवहारलाई सरकारले प्रोत्साहन गरेको बताए । उनले बुस्टर खोप लगाउन, मास्क लगाउन तथा बिरामी भएमा नै बस्न पनि आग्रह गरे ।

पछिल्लो विवरणअनुसार अष्ट्रेलियामा हालसम्म अठासी लाख ५० हजार तीनसय ४३ कोरोनाबाट सङ्क्रमित भएका छन् भने दश हजार सातसय ९४ जनाको मृत्यु भइसकेको छ ।

त्यसैगरी सक्रिय सङ्क्रमितको सङ्ख्या तीन लाख ४७ हजार सातसय ५६ पुगेको छ । पाँचलाख नागरिकले कोभिड–१९ विरुद्धको चौथो खोप लगाइसकेका छन् ।

वरिष्ठ चिकित्सकको निकाय अष्ट्रेलियन मेडिकल एसोसिएसन (एएमए) ले मास्क अनिवार्य गर्नुपर्नेमा जोड दिएको छ भने बिरामीको बढ्दो चापका कारण अस्पताल भरिभराउ भएका छन् ।

दक्षिण कोरियामा कोभिड १९ सङ्क्रमित बढ्दै

दक्षिण कोरियामा बितेका २४ घण्टामा ७६ हजार चारसय दुईजना कोभिड–१९ बाट सङ्क्रमित भएका छन् ।

यो सँगै देशमा कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड ८९ लाख ३७ हजार नौसय ७१ पुगेको स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

कोरिया डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन एजेन्सीका अनुसार अघिल्लो दिन ७३ हजार पाँचसय ८२ सङ्क्रमित फेला परेका थिए ।

गम्भीर अवस्थाका रहेका सङ्क्रमितको सङ्ख्या ९६ पुगेको छ । सङ्क्रमणबाट मङ्गलबार १२ जनाको मृत्यु भएको छ भने हालसम्म चौबीस हजार सातसय ७७ले यो रोगबाट ज्यान गुमाइसकेका छन् ।

साइप्रसका राष्ट्रपति कोरोना भाइरसबाट सङ्क्रमित

साइप्रसका राष्ट्रपति निकोस अनास्तासिडेस कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।

सरकारका प्रवक्ता मारियोस पेलेकानोसले मङ्गलबार राष्ट्रपति सङ्क्रमित भएको पुष्टि जनाएका हुन् ।

नियमित स्वास्थ्य परीक्षण गर्दा उनलाई कोरोना भाइरसको सङ्क्रमण देखिएको उनले जानकारी दिए । अहिले ७५ वर्ष भएका राष्ट्रपतिलाई सङ्क्रमण देखिए पनि स्वास्थ्य अवस्था भने सामान्य रहेको प्रवक्ता पेलेकानोसले बताए ।

उनले अहिले कोरोना भाइरससम्बन्धी मापदण्ड पालना गरिरहेको र केही समय बाहिर ननिस्कने पनि प्रवक्ता पेलेकानोसले स्पष्ट पारे ।

साइप्रसमा पछिल्लो समय कोरोना भाइरसबाट सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गइरहेको छ भने धेरैले चिन्ता व्यक्त गर्न थालेका छन् ।

महामारी थप फैलिन नदिन स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन सरकारले आग्रह गर्दै आएको छ ।

सवारी दुर्घटनामा इजिप्टमा २२ जनाको मृत्यु

सवारी दुर्घटनामा परी इजिप्टमा कम्तीमा २२ जनाको मृत्यु भएको छ । घटनामा अन्य ३३ जना घाइते समेत भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् । देशको दक्षिणी क्षेत्रमा पर्ने मिन्या प्रान्तमा घटना भएको जनाइएको छ ।

“राजधानी कायरो तर्फ आइरहेको बस दुर्घटनामा परी उनीहरूको मृत्यु भएको हो,” गभर्नर ओसामा अल क्वाडीले भने ।

दुर्घटनामा परेको बस देशको दक्षिणी प्रान्त सोहाङबाट हिडेको थियो । सडकमा रोकेर राखिएको ट्रकमा ठोक्किएर दुर्घटना भएको जनाइएको छ ।

घाइतेहरूलाई एम्बुलेन्समा राखेर स्थानीय अस्पतालमा लागिएको छ । उनीहरूको अस्पतालमा उपचार भइरहेको छ ।

घाइते मध्ये केहीको अवस्था गम्भीर रहेको र अधिकांशको अवस्था समान्य रहेको चिकित्सकहरूले जनाएका छन् । इजिप्टमा यस्ता दुर्घटना बेला बेलामा भइरहने गरेका छन् ।

सडक तथा यातायातका साधनको बिग्रिएको अवस्था, चालकको लापरवाही लगायतका कारणले बढी दुर्घटना हुने गरेको हो ।

अमेरिकी तल्लो सदनद्वारा समलिंगी विवाहसम्बन्धी विधेयक पारित

अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले समलिंगी विवाहलाई संघीय सुरक्षा प्रदान गर्ने विधेयक पारित गरेको छ । सर्वोच्च अदालतले त्यस्ता मान्यता दिने विधेयकलाई फिर्ता गर्ने त्रासबीच तल्लो सदनले विधेयक पारित गरेको हो ।

‘दि रेस्पेक्ट फर म्यारिज एक्ट’ डेमोक्र्याटिक पार्टीको प्रभुत्व रहेको सदनबाट पारित भएको सीएनएनले जनाएको छ । विधेयकको पक्षमा २६७ र विपक्षमा १५७ मत परेको थियो । तर, विधेयक सिनेटबाट पारित हुने बारेमा अनिश्चित छ ।

विधेयक पारित गर्न ४७ रिपब्लिकन सांसदहरू डेमोक्र्याटहरूसँगै सामेल भएका थिए । विधेयकको पक्षमा उनीहरु सहभागी हुँदा सदनमा तालिको गडगडावट सुनिएको थियो ।

१०० सदस्य रहेको सिनेटमा ५० सिटमा डेमोक्रर्याट छन् । नयाँ विधेयकले अमेरिकी राज्यहरूलाई अर्को राज्यमा गरिएको वैध विवाहलाई मान्यता दिन बाध्य पार्छ । यसले समलिङ्गी युनियनहरूलाई मात्र होइन अन्तरजातीय विवाहहरूलाई पनि सुरक्षा प्रदान गर्दछ ।

१६ औँ चरणको उच्चस्तरीय बैठक रचनात्मक रहेको चीन र भारतको भनाइ

भारत र चीनले हालै आयोजित १६ औँ चरणको कोर कमाण्डरस्तरीय बैठक रचनात्मक रुपमा सम्पन्न भएको जनाएका छन् । वार्ताले पूर्वी लद्दाखमा सुल्झाउन बााक्ी रहेका मुद्दाहरूको समाधान र शान्ति पुनस्र्थापना गर्न सहयोग गर्ने दुबै देशले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

दुबै पक्षले निकट भविष्यमा सकारात्मक नतिजाको अपेक्षा गरेका छन् । दबै पक्षहरू निकट सम्पर्कमा रहन र सैन्य तथा कूटनीतिक च्यानलमार्फत वार्ता गर्न सहमत भएका छन् । त्यस्तै, बाँकी मुद्दाहरूको चाँडो भन्दा चाँडो पारस्परिक रूपमा स्वीकार्य हुने गरी समाधान गर्न दुबै पक्ष सहमत भएका भारत–चीन संयुक्त विज्ञप्तिमा भनिएको छ ।

दुवै पक्ष पश्चिमी क्षेत्रमा सुरक्षा र स्थायित्व कायम गर्न सहमत भएका छन् । भारत–चीन कोर कमाण्डरस्तरको १६औं चरणको बैठक भारततर्फको चुसुल–मोल्डो सीमा बैठक बिन्दुमा सम्पन्न भएको थियो । बैठकमा दुबै पक्षबीच खुलेर विचार आदानप्रदान भएको जनाइएको छ ।

द्विपक्षीय सम्बन्ध सुदृढ गर्न रुस र इरान सहमत

रूस र इरान द्विपक्षीय सम्बन्ध सुुदृढ बनाउन तथा पारस्परिक सहयोग अभिवृद्धि गर्न सहमत भएका छन् । दुबै देशका राष्ट्रपतिबीच मङ्गलबार भएको भेटवार्तामा त्यस्तो सहमति भएको हो ।

राष्ट्रपति भ्लादिमिर पुटिन र राष्ट्रपति इब्राहिम राइसीबीचको भेटवार्ता व्यापारिक साझेदारी, सुरक्षा, पूर्वाधार निर्माण, आर्थिक सहयोग र ऊर्जामा केन्द्रित रहेको इरानी राष्ट्रपति कार्यालयको वेबसाइटमा उल्लेख छ ।

दुबै राष्ट्रपतिबीच क्षेत्रीय सुरक्षा प्रवद्र्धनका साथै आपसी सहयोग र सम्बन्ध विस्तार, औद्योगिक विकास तथा संयुक्त लगानीबारे पनि विचारविमर्श भएको थियो । सिरियामा जारी आतङ्कवादविरुद्धको प्रयासबारे पनि भेटवार्तामा कुराकानी भएको थियो । आगामी दिनमा पनि दुबै नेताले आपसी हितका साथै साझा चासोका विषयमा मिलेर अघि बढ्न सहमति जनाएका छन् ।

चीनमा लामखुट्टेले टोकेको रगतको डीएएनएबाट चोर पक्राउ

चीनमा प्रहरीले रोमाञ्चक ढंगले एक चोरलाई पक्राउ गरेको छ । प्रहरीले चोरी भएको घरमा मरेको लामखुट्टे र भित्तामा टाँसिएको रगतको दागको डीएनए परीक्षण गरेर चोर पक्राउ गरेको ग्लोबल टाइम्सले जनाएको छ । चोरले घरबाट निस्कने क्रममा लामखुट्टेलाई मारेको थियो ।

रिपोर्टअनुसार उक्त घटना फुजियान प्रान्तको फुझोउमा ११ जुनमा भएको थियो । घरमा पुग्दा ढोका भित्रबाट बन्द भएको र बालकोनीबाट चोर अपार्टमेन्टमा पसेको प्रहरीले जनाएको छ । साउद चाइना मर्निङ पोस्टका अनुसार चोरले धेरै बहुमूल्य बस्तु चोरेको थियो । किचनमा केही चाउचाउ र अन्डा फेला पारेपछि चोर उक्त घरमा रात बिताएको थियो ।

प्रहरीले पर्खालबाट सावधानीपूर्वक रगतको नमूना निकालेर डीएनए विश्लेषणको लागि पठाएको थियो । डीएनए नमूनाहरू आपराधिक रेकर्ड भएका छाइ उपनामका संदिग्ध व्यक्तिको भएको प्रहरीले पुष्टि गरेको छ ।

प्रहरीको नयाँ जुक्तिले चिनियाँ सामाजिक सञ्जालका प्रयोगकर्ता दंग परेका छन् । उनीहरूले विच्याटमा अनगिन्ति टिप्पणी गरेका छन् । ‘उसले घटनास्थलमा रात बिताउने हिम्मत कसरी गर्यो ? यो व्यक्तिलाई साँच्चै गम्भीर मनोवैज्ञानिक समस्याहरू छन्’, एक प्रयोगकर्ताले टिप्पणी गरे ।

यो लामखुट्टेको बदला हो । लामखुट्टे बेकार हो भन्ने मेरो सोचाइ गलत रहेछ’ अर्काले टिप्पणी गरेका छन् । ग्लोबल टाइम्सका अनुसार अपराध गरेको १९ दिनपछि उक्त चोर पक्राउ परेको थियो । उनले यसअघि पनि चोरीका विभिन्न घटनामा संलग्न रहेको प्रहरीले जनाएको छ ।