काठमाडौँ- यी हुन् आजका मुख्य समाचारहरू
संसदीय विशेष समिति
निर्वतमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठन भएको संसदीय विशेष समितिले थप ७ दिन म्याद थप गर्न सरकारसगँ आग्रह गरेको छ । समितिको आज बसेको बैठकले समय नपुगेको भन्दै ७ दिन म्याद थप गर्न सभामुखलाई आग्रह गर्ने निर्णय गरेको स्रोतले जनाएको छ । सिंहदरबारमा आज बसेको समिति बैठकले अर्थमन्त्रालयमा बाह्य व्यक्तिको प्रवेशका बारेमा समाचार लेख्ने दुईपत्रकारसंग छलफल गरेको थियो भने भोलि शर्मासंग छलफल गर्ने निर्णय भएको समिति सचिव सुरेन्द्र अर्यालले जानकारी दिए । त्यस्तै भोलि समिति गठन गरिएको १० दिन पुरा हुने भएकाले केहि दिन म्याद थप गर्ने बिषयमा पनि छलफल भएको उनले जानकारी दिए । समितिले छानविनका लागि समय अपुग भएको भन्दै सात दिन म्याद थप गर्नका लागि सभामुखसंग आग्रह तयारी गरेको छ ।यस्तै सीसीटीभीको हार्ड डिक्स परीक्षणका लागि फरेन्सिक ल्याबमा पठाइएको छ । बयान सकेर फरेन्सिक ल्याबबाट सीसीटिभी रिकभर भएपश्चात मात्रै समिति निस्कर्षमा पुग्न सम्भव हुने बताइएको छ । त्यसका लागि थप केही दिन लाग्ने भएपछि समितिले सभामुखसमक्ष आग्रह गर्ने निर्णय गरेको हो । समितिले यसअघि अर्थ मन्त्रालयका पूर्वसचिव , सचिव र राजस्व विभागकहरुसगँ छलफल गरेको थियो ।आर्थिक वर्ष २०७९ ÷२०८० को बजेट निमार्णका क्रममा निर्वतमान अर्थमन्त्री शर्माले मन्त्रालयमा अनधिकृत व्यक्तिलाई प्रवेश गराई करको दर हेरफेर गरेको भन्दै सो विषयमा छानविन गर्न सभामुख सापकोटाले गत असार २२ गते ११ ससंदीय छानविन समिति गठन गरेका थिए ।
प्रतिनिधिसभा बैठक
प्रतिनिधिसभाको बैठकले ‘ग्लोबल ग्रिन ग्रोथ इस्टिच्यूट’ को सहभागितामूलक सदस्यका रूपमा सदस्यता प्राप्त गर्न स्वीकृति प्रदान गर्नेसम्बन्धी सम्झौतालाई अनुमोदन गरेको छ । वन तथा वातावरणमन्त्री प्रदीप यादवले प्रस्तुत गरेकोे सो प्रस्तावमाथि छलफलपछि सर्वसहमतिले पारित भएको हो । त्यसअघि मन्त्री यादवले सांसदहरूले उठाएका जिज्ञासाको जवाफमा सम्झौता कार्यान्वयनपछि वन तथा वातावरणको क्षेत्रमा थप अन्तर्राष्ट्रिय लगानी भित्रिने विश्वास व्यक्त गरेका थिए । त्यस्तै बैठकले विकास तथा प्रविधि समितिको प्रतिवेदन सहितको नेपाल इन्जिनियरिङ परिषद्(पहिलो संशोधन) विधयेक, २०७६ माथि छलफल गरियोस” भनी प्रस्ताव पारित गरेको छ भने ज्येष्ठ नागरिक (पहिलो संशोधन) विधेयक पनि पारित गरेको छ । बैठकमा अन्तर्राष्ट्रिय सम्बन्ध समिति र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको वार्षिक प्रतिवेदन पेश समेत गरिएको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही साउन ५ गते बिहीबार दिउँसो १ बजे बस्नेगरी स्थगित भएको हो ।
प्रविधि विश्वविद्यालय विधेयक, २०७६ पारित
मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७६ राष्ट्रियसभाबाट सर्वसम्मतिले स्वीकृत भएको भएको छ । राष्ट्रियसभाको आजको बैठकमा विद्येयक माथिको दफाबार छलफल गरियोस् भनी शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले राखेको प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो । सो अवसरमा मन्त्री पौडेलले छलफलमा उठेका प्रश्नको जवाफ दिए ।संशोधनकर्ताका तर्फबाट छलफलमा राष्ट्रियसभा सदस्य प्रकाश पन्थले सो विधेयकको सराहना गर्नुभयो । सांसद देवेन्द्र दाहालले विज्ञान र प्रविधिसँग जोडिएको विधेयक महत्वपूर्ण रहेको बताउँदै अन्तर्राष्ट्रिय जनशक्ति उत्पादन गर्ने संस्थाका रुपमा विकास गर्नुपर्नेलगायत केही संशोधन प्रस्ताव राखे । यस्तै सांसद डा बेदुराम भुसाल लगायतका अन्य सासंदहरुले पनि सो विषयमा आ आफना धारणा प्रस्तुत गरेका थिए ।यसैबीच प्रतिनिधिसभाको आजको बैठकले नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक, २०७६ सर्वसम्मतिले पारित गरेको छ । बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईले राष्ट्रियसभामा उत्पत्ति भएको ‘नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक, २०७६ लाई पारित गरियोस’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।
भीम रावल
प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद भीम रावलले एसपीपी सम्झौता नगर्ने पत्र पठाउन सरकारलाई रुलिङको माग गर्दै रोष्ट्रम नछाडेपछि प्रतिनिधिसभाको बैठक प्रभावित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा एसपीपी सम्झौतामा सहभागी नहुने पत्र पठाउन सरकारलाई रुलिङकोमा माग गर्दै रोष्ट्रम नछाडेपछि बैठक प्रभावित भएको थियो । बैठकमा सभामुखको अध्यक्षता गरेकी सत्या पहाडीले ध्यानाकर्षण भएको र पटक पटक बस्न अनुरोध गर्दा पनि रावलले भने रुलिङ नभएसम्म रोष्ट्रम नछाड्ने अडान राखेका थिए । सो क्रममा केहि सांसदहरुले नियमापती समेत गरेका थिए । त्यस लगतै सभामुख अग्नि सापकोटा आएर रावलले उठाएको विषयमा ध्यानाकर्षण भएको बताएको बिषयान्तर नगर्न आग्रह गरे । तर रावलले भने एसपीपी सम्झौतामा सहभागी नहुनेबारे अमेरिकालाई पत्र लेख्नुपर्ने दोहराउनुभयो ।त्यसपछि सभामुख सापकोटाले केहिबेरका लागि संसद बैठक स्थगीत गरेका थिए । १५ मिनेट स्थगीत भएर सुरु भएको प्रतिनिधिसभा बैठक भने सहज रुपमा अघि बढेको थियो ।
केपी ओली
नेकपा एमालेका अध्यक्ष केपी ओलीले कम्युनिष्ट पार्टीबीच फेरि अर्को फुटका लागि एकता अभियान सुरु भएको बताएका छन् । काठमाडौंमा आज नेकपा एमाले बागमति प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एकता अभियान फेरि अर्को फुटका लागि भएको र सफल नहुने बताएका हुन् ।ओलीले वास्तविक वामपन्थी कोही भए गठबन्धन छाडेर एकतामा आउन आह्वान पनि गरे । उनले आफुलाई वामपन्थी भन्नेहरु कांग्रेसको पिँडुलामा समातेर रुने गरेको तर्क गरे । सत्ता गठबन्धभित्रका दलका नेताका स्वार्थले आफैं फुट्ने भन्दै उनले एकता तोड्नका लागि चाँदीको तरबार बनाउनु आवश्यक नरहेको बताए ।ओलीले आफु नेतृत्वको सरकारले कोरोना महामारीका बेला पनि शुसासन कायम गर्न सफल भएपनि अहिलेको एक बर्षको सरकारले मुलुकमा भयानक अवस्था सिर्जना गरेको आरोप लगाए ।उनले समाजवादको आधार तयार गर्ने अभियानलाई अघि बढाउनका लागि एमालेको बहुमतको सरकार आवश्यक पर्ने धारणा राखे । ओलीले आफ्नै पार्टीका कार्यकर्ताहरुले अर्कालाइ भोट दिने प्रवृति देखाउनेले पार्टीबाटै राजीनामा दिनुपर्ने बताए । एमाले पार्टी बनाउन, पार्टीको शुद्धीकरण गर्नुपर्न आफुलाई कम्युनिस्ट बनाउँनुपर्ने उनकोे भनाई छ । उनले सरकारले विभिन्न बहाना बनाएर निर्वाचनको मिति पछि सार्ने प्रयास गरिरहेको भन्दै आगामी मंसिरमा चुनाव हुनैपर्ने जिकिर गरे ।
माधव नेपाल
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले स्थानीय तहको निर्वाचनमा गठबन्धनलाई धेरै विश्वास गर्दा सोचजस्तो परिणाम आउन नसकेको बताएका छन् । काठमाडौंमा आयोजित पार्टीको स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुको अभिमुखीकरण कार्यक्रममा बोल्दै नेपालले स्थानीय निर्वाचनमा गठबन्धनको गीत धेरै बढी गाएकाले सोचजस्तो परिणाम आउन नसकेको बताएका हुन् ।अध्यक्ष नेपालले नयाँ पार्टी भएकाले पनि कतिपय स्थानमा चूनाव लड्ने आट नगरेको र केहि स्थानमा तालमेलको सहमति पालना नभएको गुनासो गरे । उनले आगामी निर्वाचनमा समानुपातिकमा २० देखि २५ सिट प्राप्त हुने र प्रत्यक्ष निर्वाचनमा पनि क्षमता बढ्ने उल्लेख गरे । अध्यक्ष नेपालले नेकपा एमालेका अध्यक्ष केपी ओलीले एकलौटी ढंगले पार्टी सञ्चालन गरेपछि बाध्य भएर बिद्रोह गरेको जिकिर गरे ।
महङ्गीविरूद्ध उपत्यकामा जनप्रदर्शन
नेकपा (एमाले) ले चर्को महङ्गीविरूद्ध उपत्यकामा जनप्रदर्शन गर्नेभएको छ । एमाले महासचिव शंकर पोखरेलको अध्यक्षतामा आज बसेको बैठकले महंगीविरूद्ध यही साउन १६ गते जनप्रदर्शन गर्ने निर्णय गरेको हो । पार्टीका स्थायी कमिटीका सदस्य तथा सांसद कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा जनप्रदर्शन तयारी कमिटी वनाइएको छ । जनप्रदर्शनमा पार्टीका उपत्यकाका तीनै जिल्ला कमिटी, जनसंगठन परिचालन गरिने जनाइएको छ । राजधानीको वसन्तपुरबाट शुरू हुने र्यालीमा उपत्यका विशेष प्रदेश कमिटी, पार्टीका केन्द्रीय विभागहरू, सांसदहरू, उपत्यकामा पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरू, सम्पर्क मञ्चहरू र जनसहभागिता गराउने निर्णय भएको पार्टीका कार्यालय सचिव डा.भीष्म अधिकारीले जानकारी दिए । यसैबीच नेकपा एमालेका महासचिव शंकर पोखरेलले कालो धनलाई सेतो बनाउन नसकेपछि गभर्नर महाप्रसाद अधिकारीमाथि सत्तापक्षबाट आक्रमण भइरहेको आरोप लगाएका छन् ।काठमाडौंमा आज अनलाइन सम्पादकहरुसँगको अन्तरक्रियामा बोल्दै महासचिव पोखरेलले एम अधिकारीबारे पार्टी र स्वयं गभर्नर अधिकारीले प्रस्ट पारिसक्दा पनि आक्रमण नरोकिनु त्यसकै श्रृंखला भएको टिप्पणी गरेका हुन् ।
दक्षिण अफ्रिकाका लागि राजदूत नियुक्त
दक्षिण अफ्रिकाका लागि नेपाली राजदूतमा दानबहादुर तामाङ नियुक्त भएका छन् ।राष्ट्रपति विद्यादेवी भण्डारीले तामाङलाई आज राजदूतमा नियुक्त गरेको हो । मन्त्रिपरिषदले राजदूतमा सिफारिस गरेपछि तामाङको नाम संसदीय सुनुवाई समितिले नियुक्तिका लागि अनुमोदन गरेको थियो ।
दर्ज्यानी चिन्ह प्रदान
नेपाल प्रहरी प्रधान कार्यालयले ३७ जना वरिष्ठ प्रहरी अधिकृतहरूलाई आज दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । नेपाल सरकार मन्त्रीस्तरको विभिन्न मितिको निर्णयले प्राविधिक तथा प्रशासनतर्फक ३७ जना वरिष्ठ प्रहरी अधिकृतहरूलाई प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले आज एक समारोहबीच दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन् । समारोहमा प्रहरी महानिरीक्षक सिंहले पदोन्नति भएका वरिष्ठ प्रहर अधिकृतहरूलाई बधाई ज्ञापन गर्दै पदोन्नतिसँगै प्रहरी अधिकृतहरूले दत्तचित्त भएर सेवा लाग्न आग्रह गरे । प्रहरी संगठनमा अनुशासनको धेरै महत्व हुने चर्चा गर्दै यसप्रति सबै सचेत हुनुपर्नेमा उनले जोड दिए ।यस्तै उच्च मनोवलका साथ कार्यसम्पादन गर्न निर्देशन दिए ।
निर्वाचन आयुक्त
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहको निर्वाचनले लोकतन्त्र र सङ्घीयतालाई कार्यान्वयन गर्न थप योगदान गरेको बताएका छन् । आम निर्वाचन पर्यवेक्षण समितिले आज काठमाडौंमा आयोजना गरेको स्थानीय निर्वाचन, २०७९ को पर्यवेक्षण प्रतिवेदन सार्वजनिक र समीक्षा कार्यक्रममा प्रमुख आयुक्त थपलियाले संघीयतालाई बलियो रुपमा कार्यान्वयन गर्न स्थानीय तहको निर्वाचनले ठूलो भूमिका खेलेको बताएका हुन् । उनले प्रदेश सदस्य समेतले राजीनामा गरेर स्थानीय तहको प्रमुखमा उम्मेदवारी दिनुले स्थानीय तहको आकर्षण बढाएको उल्लेख गरे । अव स्थानीय तहको कार्यकालको विवाद नहुने भन्दै पाँच बर्ष अवधि सकिनुभन्दा पहिले नै निर्वाचन गर्न सकिने उनले बताए । त्यस्तै उनले लैङ्गिक र समावेशिताका आधारमा पनि स्थानीय निर्वाचन सार्थक रहेको बताए । कार्यक्रममा थपलियाले निर्वाचनका लागि मतदाताको बिश्वास जित्नुपर्छ भन्ने जबरजस्त धारणा स्थानीय निर्वाचनले स्थापीत गरेको जिकिर गरे ।
सिके राउत
सिके राउत नेतृत्त्वको जनमत पार्टीका कार्यकर्ताले मधेश प्रदेशको कृषि मन्त्रालयमा तालाबन्दी गरेका छन् । मधेश प्रदेश सरकारको कृषि मन्त्रालयमा व्यापक भ्रष्टाचार भएको भन्दै मन्त्रीलाई कारबाही गर्न भन्दै गएका कार्यकर्ताले मन्त्री नभेटिएपछि मन्त्रालयमा तालाबन्दी गरेर फर्केका हुन् । जनमत पार्टीको नेतृत्वमा भइरहेको किसान आन्दोलन अन्तर्गत आज जनकपुरधाममा प्रदर्शन गर्दै जनमतका कार्यकर्ताहरूले मन्त्रालयमा तालाबन्दी गरेका हुन् । मन्त्रालयमा भएको भ्रष्टाचारमाथि छानविन हुनु पर्ने, किसानको रकम भुक्तानी हुनु पर्ने, किसानको समस्या अध्ययनका लागि बनेको समितिको प्रतिवेदन सार्वजनिक हुनुपर्ने माग रहेको जनमत पार्टी धनुषाका इन्चार्ज बीपी साहले बताए ।
कोरोना अपडेट
नेपालमा थप ३ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ५ सय ६२ पिसिआर परिक्षणका क्रममा ३ सय ४० जना र १ हजार ४ सय १९ एन्टीजेन परिक्षणका क्रममा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ४६ संक्रमित निको भएका छन् । हाल नेपालमा २ हजार २ सय ७६ सक्रिय संक्रमित आइशालेशनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नदीले बगाएर दुई बालक बेपत्ता
काभ्रे जिल्लाको तेमाल गाउँपालिमा– ३ मा सुनकोशी नदीले बगाएर दुई बालक बेपत्ता भएका छन् ।तेमाल गाउँपालिका वडा नं ३ स्थित सुनकोशी नदीमा आज दिउँसो पौडी खेल्ने क्रममा चौथलीका सोम माझीका ११ वर्षीय छोरा समिर माझी र सोही स्थानकै कुल बहादुर माझीका ८ वर्षीय छोरा कान्छो माझी बेपत्ता भएका हुन् । सुनकोशी नदीमा बालकहरु बेपत्ता भएको खबर सुन्न साथ उद्दारको लागि प्रहरीको टोली घटनास्थल पुगेको छ ।बेपत्ता बालकहरुको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय काभे्रले जनाएको छ ।
युरेनियम जस्तो देखिने पदार्थसहित युरेनियम जस्तो देखिने पदार्थसहित दुई वटा गिरोहका १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । छुट्टा छुट्टै स्थानबाट दुईवटा समूहलाई प्रहरीले पक्राउ गरेको हो । विक्रीका लागि आएकाहरुलाई विराटनगरको दुई स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । गत साउन १ गते एक किलो ८७ दशमलव ३ ग्रामसहित विराटनगर– ९ ट्राफिक चोकबाट ८ जना र साउन ३ गते विराटनगर महानगरपालिका– ३ स्थित दूध फारम नजिकैबाट ९ सय ७ दशमलव ६ ग्रामसहित सात जनालाई पक्राउ गरिएको जनाएको हो । उनीहरुको साथबाट बरामद भएको वस्तु परीक्षणका लागि पठाइएको र मुख्य नाइकेको खोजी भइरहेको छ । पक्राउ परेकाहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले बताए ।
स्रोत नखुलेको साढे ४१ लाख सहित पक्राउ
पर्साको वीरगञ्जबाट स्रोत नखुलेको साढे ४१ लाख रुपैयाँसहित १ जना भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको बिहार राज्यअन्तर्गत पूर्वी चम्पारण जिल्लाको रक्सौल थाना ११ मा बस्ने २५ वर्षीय राकेश कुमार रहेका छन् । प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले आज बिहान ८ बजेतिर नेपाल–भारत सीमा क्षेत्रबाट नेपाल आउँदै गरेको भारतीय नम्बर प्लेट बीआर–५–एन ०२३८ नम्बरको मोटरसाइकल रोकेर चेकजाँज गर्दा कुमारलाई ४१ लाख ५५ हजार रुपैयाँसहित पक्राउ गरेको हो । पक्राउ परेका कुमारविरुद्ध बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरुद्धको कसुरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
सहकारी अध्यक्ष पक्राउ
रासायनिक मलमा कालोबजारी गरेको अभियोगमा प्रहरीले सल्यान जिल्लाको शारदा नगरपालिका १ श्रीनगरस्थित अभियान कृषि सहकारी संस्थाका लिमिटेडका अध्यक्षलाई पक्राउ गरेको छ । शारदा नगरपालिका १३ लेखटाकुरा घर भएका अध्यक्ष प्रवीण घर्तीमगर पक्राउ परेका हुन् ।साल्ट ट्रेनिङ्ग कर्पोरेसन लिमिटेड शाखा कार्यालय शीतलपाटी सल्यानका तर्फबाट प्रवीणजंग शाहले रासायनिक मलमा कालोबजारी गरेको भन्दै जाहेरी दिएपछि अध्यक्ष घर्तीमगरलाई श्रीनगर बजारबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । जिल्ला प्रशासन कार्यालय सल्यानबाट कालोबजारी कसुर मुद्दामा सात दिनको म्याद थप भई अनुसन्धान कार्य भइरहेको छ ।
सत्तानिकट संयुक्त बिद्यार्थी संगठन
सत्तानिकट संयुक्त बिद्यार्थी संगठनहरुले गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै बालुवाटारमा कालो व्यानर टाँसेका छन् । राजनीतिक दलको सदस्य भएका व्यक्ति राज्यको महत्वपूर्ण पदमा बस्न नहुने भन्दै उनीहरुले विरोध प्रदर्शन सहित बालुवाटारमा कालो व्यानर टाँसेका हुन् । उनीहरुले गभर्नर अधिकारीले राजीनामा नदिएसम्म आन्दोलन जारी राखेका बताएका छन् । नेकपा एकीकृत समाजवादी निटक अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले अधिकारी राष्ट्र बैंकमा रहेसम्म मुलुकको आर्थिक सूचकांक बिग्रने दावी गरे ।उनले अहिलेको सरकारलाई असफल बनाउने नेतृत्व अधिकारीले गरेको भन्दै राजीनामा दिन सुझाव दिए । उनले गभर्नरले राजीनामा नदिए संयुक्त बिद्यार्थीको आन्दोलनबाट हटाउने चेतावनी दिए ।
काभ्रेमा अर्काको नाममा रहेको जग्गा किर्ते
काभ्रेमा अर्काको नाममा रहेको जग्गाको किर्ते लालपुर्जा बनाई नक्कली विक्री ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेले अर्काको जग्गा देखाएर नक्कली पुर्जा बनाई बिक्री गरेको आरोपमा साविक धादिङको जीवनपुर गाविस–५ घर भई हाल काभ्रेको बनेपा नगरपालिका–९ बस्ने ३७ वर्षीय रविप्रसाद रेग्मी लगायतलाई पक्राउ गरेको हो । प्रहरीले जग्गा खरिद गर्नेमध्ये चारजनाले प्रहरी कार्यालयमा गरेको उजुरीका आधारमा अनुसन्धान गर्ने क्रममा जिल्ला मालपोत कार्यालय काभ्रेका कर्मचारीलाई समेत पक्राउ गरेको छ ।पक्राउ पर्नेमा मुख्य व्यक्ति रविप्रसाद रेग्मीसहित मालपोतका कर्मचारी रामविनय यादव र सतीश भण्डारी रहेका छन् । उनले यादव र भण्डारीको नक्कली जग्गा विक्री गर्ने गिरोह रेग्मीसँग मिलेमतो रहेकाले पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका रेग्मीले काभ्रेको बनेपा नगरपालिका–२ बस्ने ज्ञानबहादुर खड्गी लगायत ६ जनालाई बनेपा–१ स्थित चाइना टाउनको बास्केटबल कोर्ट अगाडि रहेको जग्गा आफ्नो नाममा रहेको भनी नक्कली लालपुर्जा र नक्सा सिट समेत देखाई बैनाबापत १ करोड २१ लाख ५० हजार रुपैयाँ समेत लिएका खुलेको हो ।
सडक दुर्घटनामा एक जनाको मृत्यु
महोत्तरीको गौशला नगरपालिका–२ स्थित सडकमा दुई मोटरसाइकल एकआपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक औरही नगरपालिका–६ बस्ने २४ वर्षीय बिबेक कुमार यादव रहेका छन् । प्रदेश २–०२–००१ प ८६७९ र प्रदेश २–०२–००३ प ७७३८ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई आज बिहान दुर्घटना हुँदा प्रदेश २–०२–००१ प ८६७९ नम्बरको मोटरसाइकल चालक यादवको मृत्यु भएको छ ।साथै घाइते अर्का मोटरसाइकल चालक गौशला नगरपालिका–४ रजखोर बस्ने २५ वर्षीय कृण्ण यादवलाई सोही स्वास्थ्य केन्द्र हुँदै थप उपचारको लागि काठमाडौं रिफरगरिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सटही रकम घट्यो
विदेश भ्रमणमा जाने नेपालीले अब दुई सय अमेरिकी डलर मात्र सटही गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले आज एक निर्देशन जारी गर्दै विदेश भ्रमणमा जाने नेपाली नागरिकलाई राहदानीबापत अधिकतम अमेरिकी डलर २ सय सम्मको सटही सुविधा प्रधान गर्ने व्यवस्था गरेको हो । नेपाल राष्ट्र बैंक मनिचेञ्चर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ को विनियम ९ को उपविनियम ४ को खण्ड ३ को व्यवस्था बमोजिम परिवत्र्य विदेशी मुद्रा बिक्री गर्ने इजाजत प्राप्त मनिचेञ्जरले विदेश भ्रमणमा जाने नेपाली नागरिकलाई तोकिएअनुसार मात्रै डलर सटही सुविधा दिन भनिएको छ ।
नेपालबाट स्टिल (छड) को निकासी सुरु
.भारतमा पहिलो पटक नेपालबाट स्टिल (छड) को निकासी सुरु भएको छ । परासी–भैरहवा करिडोरअन्तर्गत रुपन्देहीको रोहिणीस्थित श्री स्टील्स प्रालिले आजबाट भारतमा टीएमटी छड निर्यात सूरु गरेको हो जिल्लाको रोहिणी–३, सेमरहवा रहेको उद्योगले बेलहिया नाका हुँदै निर्यात सुरुवात गरेको हो ।श्री स्टिल उद्योगका प्रबन्ध निर्देशक राजेशकुमार अग्रवालले सरकारले चालु बजेटमा छड निर्यात गर्ने उद्योगलाई सहुलियत दिने घोषणा गरेपछि आज एउटा ट्रकमा ३५ टन फलामे छड पठाइएको जानकारी दिएका हुन् । उद्योगले भारतको उत्तर प्रदेशस्थित एक सप्लायर्सलाई टीएमटी फलामे छड पठाएको हो । । मुलुकबाट भारतमा टीएमटी फलामे छड निर्यात गर्नेमा सो उद्योग पहिलो बनेको छ । सिमेन्ट उद्योगमा भने पाल्पा इण्डस्ट्रीले उद्योगमा कार्यक्रम आयोजना गरेर निर्यात सुरुवात गरिएको थियो ।
आज पनि शेयर बजारमा सामान्य अकंले वृद्धी शेयर बजारपरिसुचक नेप्से आज पनि सामान्य अकंले वृद्धी भएको छ । लगातार ८ दिनदेखि बढ्ेको नेप्से आज ४ दशमलव ८९ अङ्कले बढेर दुई हजार ५० दशमलव ५९ विन्दुमा पुगेको हो । आज दुई सय १५ वटा कम्पनीका ४१ लाख ३३ हजार ७ सय ९ कित्ता शेयर कुल एक अर्ब ७३ करोड १८ लाख ३२ हजार २ सय ७० रुपैयाँमा कारोबार भएको छ । आज विकास बैंक, फाइनान्स, निर्जीवन बीमा, उत्पादन, लघुवित्त, लगानी र म्युचुल फन्ड समूहको शेयर सामान्य अंकले बढेको छ । बैंकिङ, व्यापार, होटल, जलविद्युत र जीवन बीमा समूहको शेयर भने घटेको छ । आज मल्टिपर्पोज फाइनान्सको शेयर साढे पाँच प्रतिशत र कर्णाली विकास बैंकको शेयर झन्डै साढे चार प्रतिशतले बढेको छ । सबैभन्दा धेरै आज शिवम् सिमेन्टको १६ करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
पासपोर्ट विश्वभरको पासपोर्ट ¥याङ्किङको सूचीमा नेपाली राहदानी (पासपोर्ट) विश्वकै कमजोर सूचीमा परेको छ ।हेन्ली पासपोर्ट इन्डेक्स २०२२ क्वाटर थ्री अध्ययनमा देखाइए अनुसार नेपाल विश्वकै कमजोर मध्ये ६ औं स्थानमा देखिएको हो । अध्ययनले नेपाली राहदानीलाई उत्तर कोरियाभन्दा पनि तल अर्थात् १०६ औं स्थानमा राखेको छ । जापान एक नम्बरमा रहँदै विश्वभर उत्कृुष्ट पासपोर्टमा पर्न सफल भएको छ । संसारका कति मुलुकहरूले भिसाबिनै(भिसाफ्री स्कोर) ती मुलुकमा प्रवेश गर्न दिन्छन् भन्ने आधारमा सो सूची तयार गरिन्छ । जसअनुसार जापान एक नम्बरमा छ । त्यस्तै सिंगापुर र दक्षिण कोरिया दोस्रो तथा जर्मनी र स्पेन तेस्रो स्थानमा रहेका छन् ।जापानी नागरिकहरूले पहिले नै भिसा नलगाई संसारका १ सय ९३ मुलुकहरूको भ्रमण गर्न पाउँछन् भने नेपालीले मात्र ३८ मुलुकको भ्रमण गर्न मिल्छ । दोस्रो शक्तिशाली सिंगापुर र दक्षिण कोरियाको राहदानीले १ सय ९२ देश र तेस्रो स्थानमा रहेको जर्मनीको राहदानीले १ सय ९० देश घुम्न सकिन्छ ।
अमेरिकी दाबी
रुसले युक्रेनी भूभागलाई आफ्नो देशमा गाभ्ने योजना बनाएको अमेरिकाले दाबी गरेको छ । अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले गुप्तचर निकायलाई उद्धृत गर्दै रुसले यूक्रेनको भूभाग कब्जा गर्नका लागि आधार तयार पारिसकेको बताएका हुन्। रुसले यूक्रेनमा कब्जा गरेका क्षेत्र गाभ्ने विषयबारे सेप्टेम्बर लगत्तै जनमत सङ्ग्रह गर्न सक्ने पनि उनको दाबी रहेकोे बीबीसीले उल्लेख गरेको छ ।रुसले अवैध रूपमा युक्रेनमा रुस समर्थक अधिकारीहरू तयार पारेको पनि अमेरिकाले आरोप लगाएको छ । रुसले आफूमा बिलय गर्नका लागि लक्षित क्षेत्रहरूमा खेरसन, जापोरिज्जिया, डोनेट्स्क र लुहान्स्क समावेश रहेको र जनमत सङ्ग्रह गराउने उद्देश्यका साथ तयारी गरेको किबीले बताएका छन् ।
बेलायतमा गर्मी
बेलायतका तातो हावाका कारण देशभर प्रचण्ड गर्मी बढेपछि आज पनि रेलसेवा अवरुद्ध भएको छ ।युरोपेली देशमा तापक्रम ४३ डिग्री सेल्सियसभन्दा माथि रहेको जनाइएको छ । तातो हावाका कारण देशभर प्रचण्ड गर्मी बढेपछि बेलायतमा तेस्रो दिन पनि रेलसेवा अवरुद्ध भएको छ । जङ्गलमा आगालागीका सम्भावित घटनालाई दृष्टिगत गरी तैनाथ रहेका अग्नि नियन्त्रकले राहत महसुस गरे पनि लण्डन–एडिनबरा रेलमार्गका सूचना सङ्केतलगायत संरचना गर्मीका कारण बिग्रँदा रेलका कर्मचारी भने तिनको मर्मतसम्भारमा व्यस्त रहनुपरेको समाचारमा जनाइएको छ । बेलायतमा मात्र नभइ युरापेली देश फ्रान्स, पोर्चगल, स्पेन र ग्रीसमा पनि प्रचण्ड गर्मी भइरहेको छ ।
नयाँ राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित
श्रीलंकाका नयाँ राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित भएका छन् । ससंदमा आज भएको मतदानमा विक्रमासिङ्घेले १३४ मत ल्याएर निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी सत्तारुढ दलकानेता दुल्लास अलाहपेरुमाले ८२ मत प्राप्त गरेका छन । यस्तै वामपन्थी जनता विमुक्ति पेरामुना (जेभीपी) का नेता अनुरा कुमारा दिसानायकेले तीन मत पाएका हुन् । राष्ट्रपति निर्वाचित भएलगत्तै विक्रमसिंघेले देशको आर्थिक संकट समाधानका लागि सबै दललाई मिलाएर काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
आज इंग्ल्यान्ड र स्पेन भिड्दै
युरोकप महिला फुटबलको पहिलो क्वाटरफाइनलमा आज इंग्ल्यान्ड र स्पेन भिड्दै छन् । ब्राइटनको एमेक्स स्टेडियममा हुने खेल आज राति नेपाली समय अनुसार पौने १ बजे सुरु हुनेछ । लगातार १७ खेलसम्म अपराजित टोली इंग्ल्याण्ड आजको खेल जित्दै प्रतियोगिताको सेमिफाइनलमा पुग्न चाहन्छ ।उता फिफा वरियतामा इंग्ल्याण्डभन्दा एक स्थान माथि सातौं नम्बरमा रहेको स्पेन पनि आजको खेल जित्दै प्रतियोगितामा आफ्नो दावेदारी कायम राख्न चाहन्छ । महिला युरोकप फुटबलका अन्य क्वाटरफाइनल खेलहरूमा जर्मनी र अष्ट्रिया, स्वीडेन र बेल्जियम तथा फ्रान्स र नेदरल्याण्ड्स भिड्ने भएका छन् ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता
गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनका गठन गरिएको १४ उपसमिति मध्ये १२ उपसमितिको संयोजक र सचिवहरु तोकिएको छ । नवौं राष्ट्रिय खेलकुदको कार्यकारी समितिले आज पत्रकार सम्मेलन गर्दै १२ उपसमितिको संयोजक र सचिव तोकिएको जानकारी दिएको हो । नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशका विभिन्न जिल्लामा हुने छ । प्रतियोगितामा ३६ खेलहरु आयोजना हुने छ ।