देश/प्रदेश

बिहान १० बजेसम्मका मुख्य १० समाचार

By खबरहब

August 20, 2022

काठमाडौँ : बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो चौबीस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । बिहान १० बजेसम्मका मुख्य १० समाचार यस्ता छन्ः

१. माओवादी स्थायी समिति बैठक आज पनि

नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटीको बैठक आज पनि बस्ने भएको छ । दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकले पदाधिकारी र स्थायी कमिटीलाई पूर्णता दिने बताइएको छ ।

यसअघि पदाधिकारी टुंगो लगाउन भन्दै बोलाइएको हिजोको बैठक निष्कर्षविहीन भएको थियो । प्रवक्ता कृष्णबहादुर महराले पदाधिकारीको विषयमा गम्भीर छलफल भएपनि निष्कर्ष निस्कन बाँकी रहेको र आजको बैठकले यस विषयलाई टुंग्याउने बताए ।

२. विधेयक धमाधम पारित गर्ने तयारी

लामो समय विधायिकी प्रक्रिया ठप्प हुँदा रोकिएका विधेयक पारित गर्न सङ्घीय संसद्को चालू अधिवेशनले तीव्रता दिएको छ । बजेट अधिवेशनमा ३० वटा विधेयक पारित भइसक्दा केही विधेयक अघि बढाउने तयारीमा सरकार र संसद् छ ।

तत्काल आवश्यक रहेका र राजनीतिक रूपमा विवाद नभएका विधेयक पारितको तयारी गरिएको छ । सङ्घीय संसद्का दुवै सदनमा गरेर अहिले पनि ४९ वटा विधेयक विचाराधीन छन्।

संसद्को चालू अधिवेशन नै अन्तिम हुने भएकाले तीमध्ये धेरै विधेयक कार्यकाल सकिएर निष्क्रिय हुने अवस्थामा छन् ।

३. उम्मेदवारी दर्तासँगै अनिवार्य सम्पत्ति विवरण बुझाउनुपर्ने

निर्वाचन आयोगले आगामी निर्वाचनमा उम्मेदवारी दर्तासँगै अनिवार्य रूपमा सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था प्रस्ताव गरेको छ । आयोगले निर्वाचन आचारसंहिताको मस्यौदामा यस प्रकारको नयाँ व्यवस्था राखेको हो ।

आयोगका कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका प्रमुख यज्ञप्रसाद भट्टराईले सरोकारवालासँग छलफलपछि आएका सुझावअनुसार थप केही व्यवस्था प्रस्ताव गरिएको जानकारी दिए । यसअघि उम्मेदवारले अचल सम्पत्तिको विवरण राख्ने व्यवस्था राखिएकोमा अब उक्त व्यवस्था परिमार्जन गर्न लागिएको हो ।

४. कांग्रेस नेता गिरिको स्वास्थ्य अवस्थाबारे प्रचण्डले लिए जानकारी

नेकपा माओवादी केन्द्रका अध्यक्ष  पुष्पकमल दाहाल प्रचण्ड कांग्रेस नेता प्रदीप गिरिको स्वास्थ्य अवस्था बुझन् ललितपुरस्थित मेडिसिटी अस्पताल पुगेका छन् । अध्यक्ष दाहालले आज बिहान अस्पताल पुगेर नेता गिरीको स्वास्थ्य अवस्थाबारे बुझेका हुन् ।

गिरिको पछिल्लो अवस्थाको  जानकारी लिँदै  दाहालले स्वास्थ्य लाभको कामना गरेको उनको सचिवालयले जनाएको छ । गिरीको स्वास्थ्य अवस्था हिजोबाट  गम्भीर बनेपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ  । 

५. करोडौ रकम खर्चेर नेपाल भारत सीमामा बनाएका ‘होल्डिङ सेन्टर’ बेवारिसे अवस्थामा

सरकारले ठुलो धनराशी खर्च गरेर कोरोना परिक्षण र सङ्क्रमितको व्यवस्थापनका लागि देशका सात स्थानमा बनाइएका होल्डिङ सेन्टर प्रयोगमा आउन नसक्दा बेवारिसे बन्न थालेका छन् ।

कोरोना संक्रमण नियन्त्रणका लागि भारतबाट आउनेलाई राख्न झापाको मेचीनगर– १४ दुवागढीमा निर्माण भएको होल्डिङ सेन्टर निर्माण कम्पनीले बल्ल नेपाली सेनालाई जिम्मा लगाउने तयारी गरेको छ ।

०७८ असारमा पुसभित्रै सक्ने गरी एक हजार जना अट्ने २२ वटा स–साना भवन, बेड, अक्सिजन पाइप सप्लाई, बिजुलीसहित सबै काम गर्ने गरी करिब २८ करोडमा ठेक्का लागेको थियो ।

६. तिनदिने तामाङ ज्ञान महोत्सव हुँदै 

काठमाडौंमा आजबाट तिनदिने तामाङ ज्ञान महोत्सव हुने भएको छ । तामाङ पहिचान दिवसको अवसरमा आज, भोलि र पर्सि बौद्धस्थित तामाङ भवनमा महोत्सव हुने भएको हो ।

भौतिक उपस्थिति र भर्चुअल दुवै माध्यमबाट बौद्धमा हुने महोत्सवमा १६ वटा कार्यपत्र प्रस्तुत हुने महोत्सव संयोजक निष्णु थिङले जानकारी दिए। तामाङ समाजका ६ जना ज्येष्ठ नागरिकका स्मृतिवाचन सत्र र तीनवटा विषयमा प्यानल डिस्कसन पनि हुनेछ ।

७. माछापोखरीमा ग्यारेजमा रोकिराखेको बसमा आगलागी

काठमाडौंको माछापोखरीमा रोकेर राखेको बसमा आगो लागेको छ । गएराति बुद्ध हल पछाडि रहेको ‘भिम दाइको ग्यारेज’ मा राखेको ना.५ ख ९९६१ नम्बरको बसमा आगो लागेको हो ।  मर्मतका लागि राखिएको बसमा अचानक लागो लागेको जनाइएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले दमकल र स्थानीयको सहयोगमा रातिनै आगो निभाएको जानकारी दिए । 

८. तानसेनमा भगवती जात्रा मनाइदैँ 

पाल्पाको तानसेनमा  बुटवलको जितगढीमा युद्ध जितेको सम्झनामा  आज  भगवती जात्रा मनाइँदैछ । जितगढीमा भएको युद्धमा अंग्रेज फौजलाई नेपाली सेनाले पराजित गरेको खुशियालीमा २०४ औं ऐतिहासिक भगवती जात्रा आज मनाउन लागिएको हो ।

विसं १८७७ सालदेखि  हरेक वर्ष बन्धन पूजा गरी  कृष्ण जन्माष्टमीको भोलिपल्ट भगवतीको जात्रा हुँदै आएको छ  ।

पाल्पाका तत्कालीन कर्णेल उजिर सिंह थापाले वि.सं १८७१ पुसदेखि १८७२ बैशाखसम्म भएको अङ्ग्रेजसँगको युद्धमा बुटवलको जितगढीलगायतका क्षेत्रमा विजय हासिल गरेको बताइन्छ ।

९. सिरियामा रकेट आक्रमणमा परेर १४ जनाको मृत्यु

सिरियाको उत्तरी शहरमा रकेट आक्रमणमा परेर १४ जनाको मृत्यु भएको छ । अन्य ३० जना घाइते भएका छन् । विद्रोही नियन्त्रित क्षेत्र उत्तरी शहर अल बावमा रकेट आक्रमण हुँदा बालबालिका सहित १४ जनाको मृत्यु भएको हो ।

सिरियाको  पूर्वी  र उत्तरी क्षेत्रलाई नियन्त्रणमा लिएको सिरियन डेमोक्रेटिक फोर्स (एसडीएफ), कुर्दिश समूहहरूको नेतृत्वले  आक्रमण गरेको  हुनसक्ने अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

१०. भारत र जिम्बाब्वेबीचको दोस्रो एकदिवसीय क्रिकेट आज हुँदै 

भारत र जिम्बाब्वेबीचको दोस्रो एकदिवसीय क्रिकेट आज हुँदै छ । दुई टोलीबीचको खेल जिम्बाब्वेको राजधानी हरारेको क्रिकेट मैदानमा  नेपाली समयअनुसार दिउँसो १ बजे हुने सुरु हुनेछ ।

जिम्बाब्वे भ्रमणमा रहेको पाहुना टोली भारत दोस्रो खेलमा पनि सहज जितको खोजीमा छ । उसले पहिलो खेलमा घरेलु टोलीलाई १० विकेटले पराजित गरेको थियो ।