राजनीति

‘संस्कार, संस्कृति देशका अमूल्य सम्पत्ति हुन्’

By खबरहब

August 20, 2022

भोजपुर– प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले संस्कार, संस्कृति देशको अमूल्य सम्पत्ति भएकाले संरक्षणमा ध्यान दिनुपर्ने बताए । षडानन्द नगरपालिका– ११ मा आज आयोजित ‘लाखे नाच’ कार्यक्रममा उनले सबै जातजातिको धर्म, संस्कार, संस्कृति रीतिरिवाज, रहनसहन देशको साझा सम्पत्ति भएकाले यसको अस्तित्व जोगाउन राज्यले भूमिका खेल्नुपर्ने बताए ।

‘यी विभिन्न संस्कार, संस्कृति हाम्रो देशको अमूल्य सम्पत्ति हुन्’, मुख्यमन्त्री राईले भने , ‘यस्ता धर्म संस्कार, संस्कृतिले सबै जातजातिलाई एक ठाउँमा जोडेको छ । यसको संरक्षण गर्दै मौलिकता जोगाउन सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्छ ।’ मुख्यमन्त्री राई आफैँ ढोलक बोकेर नाचमा सहभागी भएपछि स्थानीयवासीसमेत उत्साहित भएका थिए ।

मुख्यमन्त्री राईसँगै षडानन्द नगरपालिका प्रमुख सुरेन्द्रकुमार उदास पनि कार्यक्रममा ढोलक बजाउँदै सहभागी हुनुभएको थियो । षडानन्द नगरपालिका मुख्यमन्त्री राईको गृहनगर हो । श्रीकृष्ण जन्माष्टमीको अवसरमा भोजपुर सदरमुकामको कृष्ण मन्दिर, टक्सार बजार, दिङ्ला बजारलगायत ठाउँमा मेला लाग्ने गर्दछ ।