खेलकुद

प्रिमियर लिग : वल्भ्सविरुद्ध टोटेनहम विजयी

By खबरहब

August 20, 2022

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले जित निकालेको छ । घरेलु मैदानमा शनिबार भएको खेलमा टोटेनहमले वल्भ्सलाई १– ० गोल अन्तरले हराएको हो ।

टोटेनहमको जितमा ह्यारी केनले निर्णायक गोल गरे । उनले खेलको ६४ औं मिनेटमा गोल गरे । ह्युङ मिन सनको कर्नरलाई इभान पेरिसिचले निअर पोस्टमा फ्लिक गरेपछि केनले ६ यार्ड बक्स भित्रबाट सहजै गोल गरे ।

त्यसअघि पहिलो हाफमा वल्भ्सले टोटेनहमलाई दबाबमा राखेपनि गोल गर्न सकेको थिएन । पाहुना टोलीको आक्रमणसामु गोलरक्षक तथा कप्तान ह्युगो लोरिस बाधक बनिरहे । दोस्रो हाफमा टोटेनहमका केन र सनले गरेको प्रहार पोस्टमा लाग्दै बाहिरिएको थियो ।

जितसँगै टोटेनहले ३ खेलमा ७ अंक जोडेको छ ।टोटेनहम शीर्ष स्थानमा उक्लिएको छ । उल्भ्स १ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।