देश/प्रदेश

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने मुख्य समाचारहरू

By खबरहब

August 20, 2022

काठमाडौँ– आज दिनभर माओवादी केन्द्रले पदाधिकारीको टुङ्गो लगायाे, कांग्रेसले भदौ १० चुनावी अभियान सुरू गर्ने, एमालेले हल्ला फैलाइरहेको भन्दै  माधव नेपालको आपत्ती, कोभिड–१९ को सङ्क्रमणबाट थप २ जनाको मृत्यु लगायतका समाचारले प्रमुख स्थान पाए ।

आज दिनभरका मुख्य समाचारहरू:

माओवादी केन्द्रले पदाधिकारीको टुङ्गो लगायाे  नेकपा माओवादी केन्द्रले छिटै पार्टीको बिशेष अधिवेशन गर्ने निर्णय गर्दै पदाधिकारीको समेत टुङ्गो लगाएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा शनिबार बसेको माओवादी स्थायी कमिटी बैठकले छिटै पार्टीको बिशेष अधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता कृष्ण बहादुर महराले जानकारी दिए ।

बैठकले बिशेष अधिवेशनसम्मका लागि पदाधिकारी चयन गरेको उनले बताए । जसअनुसार वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्णबहादुर महरा रहनुभएको छ भने महासचिवमा देव गुरुङ चयन भएका छन ।

त्यस्तै उपमहासचिवमा हरिबोल गजुरेल, जनार्दन शर्मा, वर्षमान पुन, पम्फा भुसाल, गिरिराजमणि पोखरेल, मात्रिका यादव र शक्ति बस्नेत रहेका छन ।

त्यस्तै सचिवमा दिनानाथ शर्मा, चक्रपाणी खनाल, लिलामणी पोखरेल, देवेन्द्र पौडेल, हितराज पाण्डे, हितमान शाक्य, राम कार्की र डिलाराम आचार्य चयन भए भने कोषाध्यक्षमा केन्द्रीय कार्यालय मुख्यसचिव श्रीराम ढकाललाई बनाइएको प्रवक्ता महराले बताए ।

कांग्रेसले भदौ १० चुनावी अभियान सुरू गर्ने नेपाली कांग्रेसले मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गरी भदौ १० देखि २४ सम्मको चुनावी अभियानको घोषणा गरेको छ । आज पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेसले जनताको साथमा कांग्रेस भन्ने अभियानको घोषणा गरेको हो ।

पहिलो चरणकोअभियान भाद्र १० देखि वीपी जन्मजयन्ती भाद्र २४ सम्म , दोस्रो चरण समानुपातिक उम्मेदवारी दर्तापछि र तेस्रो र निर्णायक चरण प्रत्यक्ष तर्फ उम्मेदवारी दर्तापछि सुरु हुने कांग्रेस प्रवक्ता डा प्रकाशशरण महत्तले जानकारी दिए ।

अभियानका लागि ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटिने उनले बताए । पत्रकार सम्मेलनमा प्रवक्ता महत्तले आगामी निर्वाचनमा गबठन्धनको तालमेललाई प्रभावकारी बनाउने र परिणाम धेरै लिने विषयमा पार्टीको ध्यान केन्द्रित रहेको बताए ।

एमालेले हल्ला फैलाइरहेको भन्दै  माधव नेपालको आपत्ती नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अवको निर्वाचनपछि बिलिन हुन्छ भनेर एमालेले हल्ला फैलाइरहेको बताएका छन ।

शनिबार एकीकृत समाजवादी उपत्यका युवा बिशेष जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले आफुहरुले बामपन्थी शक्तिहरुलाई एकतावद्ध गर्नका लागि हात अघि बढाएको भन्दै अरु दलसंग बिलिन हुने अवस्था नरहेको बताएका छन ।

स्थनीय निर्वाचनमा आफ्नो पार्टीलाई आएको मतदेखि डराएर समाजवादी अन्य पार्टीसंग बिलिन हुने हल्ला एमालेले चलाएको र त्यसमा कुनै सत्यता नरहेको उनले बताए ।

उनले एमालेले फालेको झुटको पुलिन्दालाई एकीकृत समाजवादीले काउण्टर जवाफ दिनुपर्ने धारणा राखे । अध्यक्ष नेपालले गठबन्धनकै कारण स्थानीय निर्वाचनमा आफ्नो पार्टीले उल्लेख्य सफलता प्राप्त गरेकाले अवको निर्वाचनमा पनि गठबन्धनसंगै अघि बढ्ने जिकिर गरे ।

संगठनात्मक अवस्था नहेरि चूनावी तालमेल गर्न नहुने गगन थापाकाे भनाइ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको संगठनात्मक अवस्था नहेरि चूनावी तालमेल भए पार्टीभित्र ठूलो असन्तुष्टि हुन सक्ने बताएका छन ।

नेपाली कांग्रेस प्रदेशसभा क्षेत्रीय कार्यसमिति क्षेत्र नंवर ८ ख द्वारा शनिबार काठमाडौंमा आयोजित प्रदेशसभा क्षेत्रीय सम्मेलन उद्घाटन गर्दै थापाले अन्य दलको तुलनामा कांग्रेसको संगठनात्मक अवस्था र फरक मतदाता रहेको भन्दै यसलाई ख्याल नगरि चूनावी तालमेल भए पार्टीभित्र ठूलो असन्तुष्टि हुन सक्ने बताएका हुन ।

थापाले मतदाताको मनोविज्ञान गठबन्धन दलले नबुझे सोचे जस्तो परिणाम ल्याउन पनि गाह्रो रहेको धारणा राखे । चुनावअघि तालमेल गर्न हुँदैन भन्ने कुरा ठीक भएपनि कांग्रेसले तालमेल नगरे अरुले तालमेल गर्नसक्ने देखिएको उनले बताए ।

तालमेलबाट निर्वाचनमा जाँदा सिटको बाँडफाँटका साथै गठबन्धन दलबीच संविधान, आर्थिक सामाजिक, विदेश नीति लगाएतका बिषयमा साझा धारणा बनाउन आवश्यक रहेको उनको भनाई छ । उनको अहिले पनि केहि बिषयमा गठबन्धन दलहरुबीच नै मतभेद रहेको भन्दै न्युनतम कुरा पनि मिल्न नसकेको अवस्थामा चुनाव जित्न मात्र तालमेल गर्न उचित नहुने धारणा राखे ।

कांग्रेसमा विकासबाहेक आफ्नो अरु स्वार्थ छैनः रामचन्द्र पौडेल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकासबाहेक आफ्नो अरु स्वार्थ नभएको बताए । तनहुँको भानु नगरपालिका–१ भन्सारमा आज आयोजित कार्यकर्ता भेटघाटमा वरिष्ठ नेता पौडेलले जिल्लाको विकास र समृद्धि नै आफ्नो लक्ष्य रहेको बताएका हुन ।

जिल्लाको विकास र समृद्धिबाट जनताको जीवनस्तर उकास्नका लागि राजनीति गरेको बताउँदै वरिष्ठ नेता पौडेलले त्यसका लागि आफू क्रियाशील रहेको बताउए ।

राष्ट्रपति र संसदबीचको टकराव हुनु ठिक होइनः मन्त्री कार्की सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रपति विद्यादेवी भण्डारी र संसदबीचमा टकराव हुनु ठिक नभएको बताएका छन ।

शनिबार सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर १० मा नेपाल टेलिकमको फाइबर नेट सेवाको शुभारम्भ गर्दै मन्त्री कार्कीले यस्तो बताएका हुन।

उनले संसदले पारित गरी प्रमाणिकरणका लागि राष्ट्रपतिसमक्ष पठाएको नागरिकता विधेयक फिर्ता आएपनि पुनः पठाउने बताए ।

कोभिड–१९ को सङ्क्रमणबाट थप २ जनाको मृत्यु नेपालमा कोभिड–१९ को सङ्क्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । योसँगै हालसम्म महामारीबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ९९२ पुगेको छ । नेपालमा कोभिड–१९ को मृत्यु दर १.२ प्रतिशत रहेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर २९९ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ४ हजार ३३७ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १८० तथा एन्टिजेन विधिबाट ११९ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यही अवधिका थप ५७७ जना निको पनि भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ४ हजार ६२५ पुगेको छ । यस्तै थप १८ हजार ६७० जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।