काठमाडौँ– नागरिकताविहीन संघर्ष समितिले माइतीघर मण्डलामा धर्नामा बसेको छ । नागरिकता विधेयक २०७९ लाई तत्काल राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्नुपर्ने एक बुँदे माग राखेर समितिआवद्ध व्यक्तिहरूले धर्ना दिएका हुन् ।
‘बुबाआमा दुवै नेपाली नागरिकका सन्तान अनागरिक कहिलेसम्म ? नेपाली आमाको सन्तान अनागरिक कहिलेसम्म ?’ जस्ता ब्यानर र प्लेकार्डसहित समितिले धर्ना दिएको छ ।
संघीय संसद्का दुवै सदनबाट पारित गरेर नागरिकता विधेयक प्रमाणीकरणका लागि गत २० भदौमा राष्ट्रपति कार्यालय पठाइएको छ । तर, हालसम्म उक्त विधेयक प्रमाणीकरण गरिएको छैन ।
यसअघि उक्त विधेयकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सुझाव र सन्देशसहित संसद्मा फिर्ता पठाएकी थिइन् । पुनः संघीय संसद्का दुवै सदनले पारित गरेर दुई साताअघि प्रमाणीकरणका लागि दोस्रोपटक राष्ट्रपति कार्यालय पठाइएको छ ।