प्रतिकात्मक तस्वीर

अन्तर्राष्ट्रिय

बिहारमा चट्याङ लागेर २१ जनाको मृत्यु

By खबरहब

September 20, 2022

काठमाडौँ- नेपालसँग सीमा जोडिएको भारतको पूर्वी राज्य बिहारमा बितेका २४ घण्टामा वर्षासँगै चट्याङ पर्दा कम्तीमा २१ जनाको ज्यान गएको छ ।

बिहारका विभिन्न स्थानमा चट्याङबाट २१ जनाको मृत्यु भएको राज्यको विपद् व्यवस्थापन प्राधिकरणले जनाएको छ । कृषिकर्ममा व्यस्त भएका बेला चट्याङ लागेर सर्वसाधारणको मृत्यु भएको जनाइएको छ ।

बिहारका १० जिल्लामा चट्याङ लागेर सर्वसाधारणको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मारिनेमा पूर्णिया र अररियामा चार–चार जना, सुपौलमा तीन, बाङ्का, जमुई र नवादामा दुई–दुई तथा बेगुसराय, शेखपुरा, शारण र सहरसामा एक–एक जना रहेको बिहारको विपद् व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

यसैबीच, बिहार राज्यका मुख्यमन्त्री नीतिशकुमारले चट्याङ लागेर ज्यान गुमाएका प्रत्येकका परिवारका सदस्यलाई चार लाख भारतीय रुपैयाँ क्षतिपूर्ति प्रदान गर्ने घोषणा गरेका छन् ।

साथै उनले सबै राज्यवासीलाई सचेत रहन, प्रतिकूल मौसममा घरबाहिर ननिस्कन तथा विपद् व्यवस्थापन प्राधिकरणले जारी गरेका चेतावनीको पालना गर्न आग्रह गरेका छन् ।