ब्रेकिङ स्टोरी

बाजुरामा मतपेटिकामा आगजनी, मतदान स्थगित

By खबरहब

November 20, 2022

धनगढी– बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका-१ मा मतपेटिकामा आगो लगाइएको छ । स्वामिकार्तिक खापर गाउँपालिका-१ स्थित भगवती माविको मतदान केन्द्रमा समानुपातिक मतपेटिकामा आगो लागेको प्रदेश प्रहरी कार्यालय धनगढीका सूचना अधिकारी एसएसपी भोलाबहादुर रावलले बताए ।

उनले आगजनीको कारण भने नखेलेको बताए । ‘आगजनी कसले र किन गर्‍यो भन्ने खुलेको छैन,’ रावलले भने, ‘यसबारेमा छानविन भइरहेको छ ।’ सो मत पेटिकामा ९ सय ५० मत खसेका थिए । मतपेटिकामा आगजनी भएपछि सो मतदान केन्द्रको मतदान कार्य स्थगित भएको एसएसपी रावलले बताए । 

त्यसैगरी बाजुराको बुढीगंगा नगरपालिका-५ मा पनि कांग्रेस र एमालेका कार्यकर्ता भएको विवादका कारण मतदान स्थगित भएको छ । सो स्थानमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप हुँदा केही मानिस घाइते समेत भएका छन् ।

बाजुराका अन्य स्थानमा भने मतदान भइरहेको एसएपी रावलले जानकारी दिएका छन् । जिल्ला निर्वाचन कार्यालयका प्रमुख नवराज अवस्थीका अनुसार जिल्लाको खप्तड छेडेदह-१, त्रिवेणी-७ तथा स्वामिकार्तिक खाँपर ३ र ४ मा पुनः मतदान सुरु भएको छ ।