दोहा – विश्व फुटबलको कुम्भमेला फिफा विश्वकप कतार २०२२ को भव्य उद्घाटन भएको छ । कतारको अलखोरमा अवस्थित अल बायत स्टेडियममा आइतबार साझ एक विशेष समारोहकाबीच कतार विश्वकप औपचारिक उद्घाटन भएको छ ।
कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले आइतवार साँझ अल बायत स्टेडियममा फिफा विश्वकप कतार २०२२ को उद्घाटन गरेका छन् ।
उद्घाटन समारोहमा फिफा अध्यक्ष जियानी ईन्फान्टिनो, कतार फुटबलका अध्यक्ष शेख हमाद बिन खलिफा बिन अहमद अल थानी, विभिन्न राष्ट्रका फुटबल अध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।
उद्घाटन समारोहमा अमेरिकी कलाकार मोर्गन फ्रीम्यान, कोरियाली ब्यान्ड बीटीएस लगायतका स्थानीय कलाकारले प्रस्तुति दिएका थिए ।
प्रतियोगिताको उद्घाटन खेलमा आयोजक कतारले इक्वेडरसँग कतारको समयअनुसार साँझ ७ बजे प्रतिस्पर्धा गर्दैछ । समूह ए मा रहेका कतार र इक्वेडर बीचको खेल आज राती नेपाली समय अनुसार राति पौने १० बजे अल बायत स्टेडियममा हुँदैछ ।
मध्येपूर्वको अरब राष्ट्रमा पहिलो पटक आयोजना भएको कतार विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् ।