फाइल फोटो

राजनीति

सुदूरपश्चिम प्रदेशसभा सदस्यलाई १० पुससम्म सपथ खुवाउने तयारी

By खबरहब

December 20, 2022

धनगढी– ४ मङ्सिरमा सम्पन्न निर्वाचनबाट निर्वाचित प्रदेशसभा सदस्यहरूलाई १० पुससम्म सपथ खुवाउने तयारीमा सुदूरपश्चिम प्रदेशसभा सचिवालय जुटेको छ । निर्वाचन आयोगले निर्वाचनको अन्तिम सूची प्रदेश प्रमुख समक्ष बुझाएको २० दिनभित्र निर्वाचित सदस्यको सपथ र प्रदेशसभा बैठक आह्वान गर्नुपर्ने प्रावधान छ ।

२ पुसमा आयोगले प्रदेशसभामा प्रत्यक्ष निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सदस्यको सूची प्रदेश प्रमुखलाई बुझाएको हो । आयोगले बुझाएको सूची प्राप्त भएको २० दिनभित्र प्रदेशसभा सदस्यको सपथ र प्रदेशसभा बैठक आह्वान गरिसक्नु पर्ने प्रावधान रहेको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शैलेशराज ढुङ्गानाले बताए ।

संविधानको धारा १७९ बमोजिम  प्रदेशसभामा निर्वाचित हुने सदस्यले प्रदेश प्रमुख समक्ष सपथ लग्नु पर्ने प्रावधान रहेको छ । प्रदेश प्रमुख समक्ष सपथ लाग्दा प्रदेश प्रमुखले सबैभन्दा जेष्ठ सदस्यलाई सपथ खुवाउने र ती जेष्ठ सदस्यले बाँकी प्रदेशसभा सदस्यलाई सपथ खुवाउनु पर्ने प्रावधान छ ।

प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव ढुंगानाका अनुसार जेष्ठ सदस्यको पहिचान प्रदेशसभा सचिवालयले गर्नुपर्ने हुन्छ । सुदूरपश्चिम प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीका अनुसार प्रदेशसभामा निर्वाचित प्रदेशसभा सदस्यमध्ये जेष्ठ सदस्यको पहिचान भइसकेकाले १० पुसभित्रै सपथका लागि तयारी थालिएको बताए ।

उनका अनुसार अछाम-२ को प्रदेशसभा ुखु बाट निर्वाचित प्रदेशसभा सदस्य मानबहादुर रावल प्रदेशसभामा सबैभन्दा जेष्ठ सदस्य रहेका छन् । उनी ६८ वर्षका भए । ‘निर्वाचन आयोगले बुझाएको सूचीअनुसार अछाम-२ को प्रदेश सभा ‘ख’ बाट निर्वाचित प्रदेशसभा सदस्य मानबहादुर रावलज्यू सबैभन्दा जेष्ठ सदस्य रहेका छन्,’ सूचना अधिकारी जैशीले भने, ‘त्यसैले उहाँलाई नै प्रदेश प्रमुखज्यू समक्ष पहिलो सपथका लागि आह्वान गर्ने र प्रदेशसभाको पहिलो बैठकको अध्यक्षताका लागि आह्वान गर्ने तयारी गरिएको छ ।’

प्रदेशसभा सचिवालय र प्रदेश प्रमुखको कार्यालयको समन्वयमा प्रदेशसभा बैठक बोलाएर पनि निर्वाचित प्रदेशसभा सदस्यको सपथ गराउन सकिनेछ, भने सपथ पछि प्रदेश सभा बैठक पनि बस्न सक्ने छ । प्रदेश सभामा निर्वाचित सदस्यमध्ये रावल पछि बैतडी प्रदेश सभा क्षेत्र ‘ख’ बाट निर्वाचित शिवराज भट्टको उमेर सबैभन्दा बढी  छ । उनको उमेर ६५ वर्ष रहेको छ ।

संवैधानिक व्यवस्थाअनुसार प्रदेशसभाको पहिलो बैठक २२ पुसभित्रै बसिसक्नु पर्नेछ । त्यसका लागि पहिलो बैठक र दोश्रो बैठक जेष्ठ सदस्यले सञ्चालन गर्न सक्ने छन् । निर्वाचित प्रदेशसभा सदस्यको दोश्रो प्रदेशसभा बैठकले सभामुख र उपसभामुख चयनको प्रक्रिया अघि बढाउने छ ।

तयारी अवस्थामा प्रदेश सभा कक्ष प्रदेश सभाको दोस्रो कार्यकालका लागि बैठक सञ्चालन गर्न प्रदेशसभा भवनको बैठक कक्ष तयार पारिएको छ ।  भवनको बैठक कक्षमा राखिएका कुर्सी, टेबुल, माइक पुनः जडान गरिएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले बताए ।

प्रदेश सभामा हरेक सदस्यका लागि यस पटक छुट्टाछुट्टै टेबुलको व्यवस्था गरिएको छ । बैठक कक्ष बाहिर पनि सरसफाइ र आवश्यक रङरोगन गर्ने काम सकिएको सूचना अधिकारी जैशीले बताए ।

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को संसद् सहयोगसहित २० लाख बजेटमा प्रदेशसभा बैठक कक्षमा आवश्यक संरचना थप गरिएका उनले बताए । ४ मङ्सिरको निर्वाचनबाट प्रत्यक्षमा १२ र समानुपातिकमा ७ गरी १९ सदस्यसहित कांग्रेस पहिलो दल बनेको छ ।

त्यसैगरी आठ प्रत्यक्ष र तीन समानुपातिक गरी ११ सदस्यसहित माओवादी केन्द्र दोश्रो दल बनेको छ । तीन प्रत्यक्ष र सात समानुपातिक गरी १० सदस्यसहित एमाले तेश्रो दल बन्दा पाँच प्रत्यक्ष र दुई समानुपातिक गरी सात सदस्यसहित नागरिक उन्मुक्ति पार्टी चौथो दल बनेको छ । तीन प्रत्यक्ष र एक समानुपातिक गरी चार सिट पाएको एकीकृत समाजवादी पाँचौँ तथा समानुपातिकबाट एक सिट पाएको राप्रपा छैठौं दल बनेको छ । प्रदेश सभामा एक जना स्वतन्त्र सदस्यको प्रतिनिधित्व रहने छ । 

०७४ सालको निर्वाचनमा एक एक सदस्यको प्रतिनिधित्व गरेको जनता समाजवादी पार्टी र तराई लोकतान्त्रिक पार्टी यो चुनावपछि भने प्रदेशसभाबाट बाहिरिएका छन् । 

संसदीय समितिका कार्यालयमा दललाई राख्ने तयारी धनगढी उपमहानगरपालिकाले सडक फराकिलो बनाउन थालेपछि प्रदेशसभा भवनको केही भाग भत्केको छ । प्रदेशसभा भवन भत्किँदा त्यहाँ रहेका राजनीतिक दलका संसदीय कार्यालय समेत विस्थापित भएका छन् ।

प्रदेशसभाको बैठक सुचारु गर्ने अन्तिम तयारी भइरहेका वेला भवनसँगै संसदीय दलको कार्यालय समेत विस्थापित भएपछि तत्कालका लागि दलहरूलाई प्रदेशसभा समितिका लागि तयार गरिएका कक्ष उपलब्ध गराउने तयारी गरिएको छ ।

सुदूरपश्चिम प्रदेशसभामा हाल कार्य व्यवस्था परामर्श समिति, विधायन तथा प्रदेश मामिला समिति, सार्वजनिक लेखा समिति, अर्थ विकास तथा प्राकृतिक श्रोत समिति र सामाजिक विकास समिति रहेका छन् ।