समाचार

सार्वजनिक सेवा लिन आजदेखि खोप कार्ड अनिवार्य

By खबरहब

January 21, 2022

काठमाडौं – सार्वजनिक सेवा लिन र हिँडडुल गर्दा आजदेखि कोरोनाविरुद्धको खोप कार्ड अनिवार्य बोक्नुपर्ने भएको छ ।

कोरोना सङ्क्रमण बढ्दै गएपछि सरकारले शुक्रबारदेखि सार्वजनिक स्थानमा खोपकार्ड अनिवार्य गरेको हो ।

गृह मन्त्रालयले सीसीएमसीको निर्णयअनुसार शुक्रबारदेखि सार्वजनिक स्थानमा हिँडडुल गर्दा खोप कार्ड अनिवार्य गर्ने निर्णय गरेको थियो ।

जसअनुसार कुनै पनि सेवा लिन जाँदा व्यक्तिले कोरोनाविरुद्धको खोप लगाएको कार्ड अनिवार्य देखाउनुपर्नेछ । कार्ड नै नबोकेर मोबाइलबाट खोप कार्डको फोटो देखाएर पनि सेवा लिन सकिनेछ ।

नेपालमा दैनिक कोरोना संक्रमितको संख्याले नयाँ रेकर्ड बनाउँदै गएपछि सरकारले स्वास्थ्य मापदण्ड र खोपलाई प्राथमिकता दिएको छ । बिहीबार मात्र नेपालमा १२ हजार बढीमा संक्रमण पुष्टि भएको छ ।

देशभरका संक्रमितमध्ये आधा काठमाडौं उपत्यकामा छन् । अहिले देशभर सक्रिय संक्रमितको संख्या ५७ हजार नाघेको छ ।