फाइल फोटो

समाचार

जनकपुरमा कोभिड विशेष अस्पताल सञ्चालन

By खबरहब

January 21, 2022

जनकपुर – बढ्दो कोरोना सङ्क्रमणलाई दृष्टिगत गरी मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले पुनः कोरोना विशेष अस्पताल सञ्चालन गरेको छ ।

प्रतिष्ठानले सञ्चालन गरेको १०० शय्याको सो कोभिड विशेष अस्पतालमा २० भेन्टिलेटर र २० शय्याको आइसीयू शय्या रहेको प्रतिष्ठानका उपकुलपति प्रा डा रामकेवल साहले जानकारी दिए ।

यसका साथै कोभिड विशेष अस्पतालमा दैनिक ५० सिलिण्डरसम्म भर्न सक्ने क्षमताको अक्सिजन प्लान्टसमेत जडान गरिएको उपकुलपति प्रा डा साहले बताए । सञ्चालन गरेको कोभिड विशेष अस्पतालमा हाल दुई कोभिड सङ्क्रमितको उपचार भइरहेको र उपचाररत दुवै सङ्क्रमितको स्वास्थ्य अवस्था समान्य रहेको प्रतिष्ठानले जनाएको छ ।

कोभिड विशेष अस्पतालका अधिकांश शय्या अहिले खाली रहेकाले दैनिक तीन–चार जना अन्य रोगका बिरामीलाई समेत राखेर उपचार गरिरहेको उपकुलपति डा साहले बताए । विशेष अस्पतालको गत बुधवार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा, मधेश प्रदेश सरकारका सामाजिक विकासमन्त्री नवलकिशोर साहलगायतले निरीक्षण गरेका थिए ।

प्रदेश सरकारबाट वार्षिक रु १० करोड अनुदानमा सञ्चालित सो प्रतिष्ठानले अघिल्लो कोरोनाकालमा पनि कोभिड अस्पताल सञ्चालन गरेको थियो ।