फाइल फोटो

समाचार

यी हुन् काठमाडौँ उपत्यकामा जोर–बिजोर नलाग्ने सवारी

By खबरहब

January 21, 2022

काठमाडौँ– काठमाडौं उपत्यकामा शुक्रबार राति १२ बजेपछि सवारी साधनमा जोर बिजोर प्रणाली लागू हुने भएको छ ।

कोरोना संक्रमण तीव्र रुपमा बढ्दै गएकाबेला त्यसको रोकथाम, नियन्त्रण, निदान र उपचारलाई थप प्रभावकारी बनाउने भन्दै काठमाडौँ उपत्यकामा जोर बिजोर प्रणाली लागू गर्न लागिएको हो । जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बरको सवारी सञ्चालनबारे थप स्पष्ट पार्दै प्रशासनले जोर बिजोर लागू नहुने सवारी साधनबारे स्पष्ट जानकारी दिएको छ ।

जोर–बिजोर प्रणाली लागू नहुने सवारी साधन (सूचीसहित) औषधि एवं स्वास्थ्य सामग्री बोकेका सवारी साधन, एम्बुलेन्स, दमकल, शव वाहन, ग्याँस, पेट्रोलियम पदार्थ, पानी बोक्ने सवारी साधन (चालक र सहचालक मात्र) सञ्चालन गर्न पाउने छन् । त्यस्तै, खाद्यान्न, दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, अण्डा, माछामासु, पशुपंक्षीका दाना एवं कृषि तथा पशुजन्य सामग्रीहरु बोक्ने सवारी साधन (चालक र सहचालक मात्र) सञ्चालन गर्न पाउने छन् ।

त्यस्तै, निर्माण सामग्री बोक्ने सवारी साधन (चालक र सहचालक मात्र) लाई जोर बिजोर लाग्ने छैन । परिचय पत्रका आधारमा सरकारी कर्मचारी, चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सार्वजनिक संस्थानका कर्मचारीले प्रयोग गर्ने सवारी साधनमा पनि जोर बिजोर प्रणाली लागू हुने छैन ।

सूचना तथा प्रशारण विभागबाट जारी प्रेस पास(परिचयपत्र) भएका सञ्चारकर्मीले प्रयोग गरेका सवारी साधन, सरकारी सवारी साधन र कुटनैतिक नियोगका सवारी साधनमा पनि यो प्रणाली लागू हुने छैन ।