खेलकुद

पुष्पलाल स्मृती ब्याडमिन्टन उपाधि अनुमाया र प्रिन्सलाई

By खबरहब

February 21, 2022

काठमाडौँ – नेपाली सेनाकी अनुमाया राई र रिभाईभका प्रिन्स दाहालले ११औं पुष्पलाल स्मृती र्‍याङ्किङ्ग राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उपाधि उचाल्न सफल भएका छन् ।

राष्ट्रिय ब्याडमिन्टन संघ नेपाल र नखिपोट युथ क्लबको संयुक्त आयोजनामा भएको प्रतियोगितामा राईले १२ बरियताबीच भएको प्रतिस्पर्धामा सेनाकै राष्ट्रिय च्याम्पियन रशिला महर्जनलाई रिटायर्डहर्टका आधारमा जित हात पार्दै उपाधि उचालेकी हुन् ।

पहिलो सेटमा २१–१९ ले पछाडि परेकी रशिला दोस्रो सेटमा १०–४ को अवस्थामा खुट्टामा चोट बोक्न पुगेकी थिइन् । अनुमायाले नगद ५० हजार र उपविजेता रशिलाले नगद २८ हजार प्राप्त गरिन् ।

महिला एकलतर्फ तृतीय स्थान प्राप्त गर्ने खेलाडी नङ्गशल देवी तामाङ्ग र अमिता गिरीले नगद १२ हजार ५ सयसहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गरे।

प्रतियोगिताको पुरुष एकल (उच्च १६ औं बरियता प्राप्त) मा विश्व वरियतामा जुनियर तर्फ नम्बर १ रहेका प्रिन्सले सेनाका नविन श्रेष्ठलाई २१–१०, १८–२१, २१–१८ ले पराजित गर्दै उपाधि चुमेका हुन् । प्रिन्स अघिल्लो १० औं संस्करणका विजेतासमेत हुन् ।

विजेता प्रिन्सले नगद ५० हजार प्राप्त गर्दा उपविजेता नविनले नगद ३० हजार प्राप्त गरे । तृतीय स्थान हाँसिल गरेका दिपेश धामीले नगद १४ हजार र प्रफुल महर्जनले नगद १२ हजार ५ सय सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । प्रफुलले लिगमा एक खेल हारेका कारण १ हजार ५ सय कम प्राप्त गरेका हुन् ।

महिला युगल तर्फको खेलमा सेनाका रशिला महर्जन र अमिता गिरीको जोडीले नम्बर एक भोजपुरकी नङ्गशल देवी तामाङ्ग र सेनाकी अनुमाराईलाई २१–१४, २८–२६ ले पराजित गर्दै उपाधि कब्जा गरे ।

यस्तै, पुरुष युगल तर्फ एपिएफका दिपेश धामी र बिजित थापा मगरको जोडीले जित हात पारे । उक्त जोडीले नेपाली सेनाका रुकेश महर्जन र सुरोज महर्जनको जोडीलाई २३–२१, २१–१६ ले पराजित गर्दै उपाधि उचालेका हुन् ।