काठमाडौँ – विश्वका कवि, कलाकार, संगीतकार, गायक–गायिका, लेखकले सौन्दर्यको अनुपम बिम्ब मानेको श्वेत आभासहितको हाम्रो उपग्रह चन्द्रमा यदि पृथ्वीमै ठोक्कियो भने के होला ? यस्तो विनाशकारी कल्पना आम मानिसले पक्कै नगर्लान् ।
चलचित्रकर्मीका लागि भने ‘साइन्स फिक्सन’को यो उम्दा प्लट हो । यसैले त यसै वर्ष फेबु्रअरी ११ मा प्रदर्शीत हलिउड चलचित्र ‘मूनफल’ले यही विषयवस्तु अघि सारेको छ ।
महाप्रलयमा आधारित चलचित्र निर्माणमा माहिर निर्देशक रोल्याण्ड एमेरिचले यसअघि ‘गोडजिला ’देखि ‘२०१२’ सम्म निर्देशन गरिसकेका छन्, जसमा पृथ्वीमा प्रलयको विनाशकारी भयावह दृश्य देखाइएको छ ।
महाप्रलयका अनेक ‘मेटाफोर’लाई कलात्मक ढंगले प्रस्तुत गर्न सफल निर्देशक रोल्याण्डको पछिल्लो चलचित्र ‘मुनफल’ एक पूर्व अन्तरिक्ष यात्री तथा नासामा काम गर्ने वैज्ञानिक (हाले बेरी)माथि केन्द्रित छ । हाले बेरीको काँधमा आफ्ना अन्तरीक्ष सहयात्री जान ब्रेडलीसँग मिलेर पृथ्वीलाई महाविनाशबाट बचाउने जिम्मेवारी आइपर्छ ।
कथा अनुसार चन्द्रमा केही महिनामै पृथ्वी ग्रहमा ठोक्किदैछ । सर्वनाश हुनेवाला छ । तर, हाले बेरीलाई कसैको साथ र सहयोग मिलिरहेको हुँदैन । अब कसरी चन्द्रमाको टक्करबाट चन्द्रमालाई जोगाइन्छ, यही कुतुहलमा चलचित्र घुमेको छ ।
‘साइन्स फिक्सन’ यथार्थ हुनसक्छ
यो त चलचित्रको कुरा भयो । तर, पृथ्वीमा चन्द्रमा या अर्को कुनै आकाशीय पिण्ड ठोक्किन सक्ने संभावनालाई वैज्ञानिक अस्वीकार गर्दैनन्, बरु अहिले पृथ्वीबासीको सबैभन्दा ठूलो चिन्ताको विषय नै यही हो ।
सन् २०२१ डिसेम्बरमा करिब ३० हजार किलोमिटर प्रतिघन्टाको रफ्तारमा एउटा एस्टेरोयड (छुद्र ग्रह) पृथ्वीको नजिकैबाट गुज्रियो । नासाका वैज्ञानिकका अनुसार ९ सय ८४ फुट चौडा ‘३३६१ ओरफेस’ नामक सो एस्टेरोयड पृथ्वीभन्दा ३५ लाख माइलको दुरीमा रहेकाले त्यसबाट हाम्रो धर्तीलाई कुनै क्षति भएन । तर, यो चिन्ताको विषय चाहिँ पक्कै थियो ।
वैज्ञानिकले पृथ्वीबाट १२ करोड माइलभित्रबाट गुज्रिने कुनै पनि पिण्डलाई ‘नियर अर्थ अब्जेक्ट’ मान्ने गरेका छन् । यस्ता पिण्डहरुको दिशा बदलियो भने पृथ्वीमा ठोक्किने र मानव सभ्यता नै संकटमा पर्ने भएकाले वैज्ञानिक त्यस्ता पिण्डमाथि निगरानी गर्दै आएका छन् ।
डिसेम्बरमा एस्टेरोयडको खडगो टरेको खबर सेलाउन नपाउँदै सन् २०२२ जनवरीमा अर्को स्तब्ध पार्ने सूचना नासाका वैज्ञानिकले सार्वजनिक गरे । उनीहरुका अनुसार केही एस्टेरोयड यस्ता पनि छन्, जुन हामीले देख्दै नदेखी सोझै पृथ्वीसम्म आउनसक्छन् ।
उदाहरणका लागि सन् २०१९ मा एक सय मिटर लामो एस्टेरोयड पृथ्वीको नजिकै ४३ हजार माइलको दूरीबाट गुज्रियो, तर यसलाई वैज्ञानिकले पृथ्वीको नजिक आउनु २४ घन्टापहिले मात्र देखेका थिए । यदि यो पिण्ड पृथ्वीमै ठोक्किने खालको थियो भने २४ घन्टाभित्र त्यसबाट बच्ने उपाय खोज्न असंभव नै हुन्थ्यो ।
पृथ्वीको बिनास या महाप्रलयका संभावित पाँच कारणहरुमध्ये आणविक बम, प्राणघातक भाइरसको व्यापक संक्रमण, वातावरणीय बिनास, सुपरनोभा विस्फोट र एस्टेरोयडको टक्करलाई मान्ने गरिएको छ । मानिसको विवेक र चेतनाको उपयोग गरेर आणविक बम, भाइरस संक्रमण, वातावरणीय बिनासबाट त बच्न सकिएला, तर सुपरनोभा विष्फोट र एस्टेरोयड भने मानिसको नियन्त्रणभन्दा बाहिर छन्, जुन सुदूर अन्तरीक्षबाट आइपर्ने खतरा हुन् ।
पृथ्वीको जीवनमा यसअघि पनि एस्टेरोयडको टक्कर भएकै हो । मानव सभ्यता विकासअघि पृथ्वीमा ‘चिक्सुलब’ नामक एस्टेरोयड ठोक्किएको थियो, जसले गर्दा ६ करोड ६० लाख वर्षपहिले धर्तीबाट भिमकाय प्राणी डायनोसर विलुप्त भएका थिए । सोही एस्टेरोयड खस्दा मेक्सीकोको खाडीनजिकै १० किलोमिटर चौडा ‘चिक्सुलब क्रेटर’ बनेको थियो, जसको निशानी अहिले पनि देख्न सकिन्छ ।
सौर्यमण्डलका अन्य ग्रहमा एस्टेरोयड ठोक्किने घटना भइरहेकै हुन्छन् । सन् १९९४ मा पृथ्वीकै आकार बराबरका १०–१२ वटा उल्कपिण्ड बृहस्पति ग्रहमा ठोक्किएका थिए । वैज्ञानिकहरुले त्यो दृश्यको प्रत्यक्ष प्रशारण नै गरेका थिए, जुन कुनै महाप्रलयभन्दा कम थिएन ।
तर, बृहस्पती एउटा ग्यासले भरिएको ठूलो ग्रह भएकाले यस्ता पिण्ड ठोक्किदा त्यसको सन्तुलनमा कुनै फरक परेन, तर अहिले पनि त्यसबेला उठेको आगो र बिनासको क्रम शान्त भइसकेको छैन ।
बृहस्पतीमा झैं कुनै ठूलो एस्टेरोयड ठोक्कियो भने पृथ्वीमा व्यापक बिनास हुनेछ । जताततै आगो नै आगो फैलने छ र अक्सिजन तह घटनेछ । यद्यपी आउँदा सय वर्षसम्म पृथ्वीमा कुनै ठूलो एस्टेरोयड ठोक्किने खतरा भने देखिदैन । तर, हाम्रो सौर्य मण्डलमा अहिले पनि २० लाख बढी एस्टेरोयड अनियन्त्रित रुपमा चक्कर लगाइरहेका छन् र ति भौंतारिदै कुनै पनि बेला पृथ्वीतिर आउनसक्छन् ।
नासासँग हाल उपलब्ध प्रविधिले पृथ्वीको निकै नजिक रहेका १४० या त्योभन्दा बढी आकारका एस्टेरोयडमाथि निगरानी राख्ने क्षमता राख्छ । अहिले अन्तरीक्षमा भटकिइरहेको सबैभन्दा ठूलो उल्का पिण्ड ‘२००५ बाइ–यू ५५’ हो । तर, अहिलेलाई पृथ्वीका लागि सबैभन्दा खतरा ‘एपोफिस’ नामक एस्टेरोयडबाट छ । वैज्ञानिकका अनुसार आगामी दिनमा ‘एपोफिस’ एस्टेरोयड पृथ्वीको निकै नजिकैबाट गुज्रनेछ र यो पृथ्वीमै ठोक्किने खतरालाई पनि उनीहरु नकार्न सक्दैनन् ।
नासाले निश्चित कक्षमा नरही भौंतारिएका यस्ता पिण्डबाट बच्न सन् २०२१ नोभेम्बर २४ मा अन्तरीक्षमा ‘डार्ट मिशन’ लन्च गरिसकेको छ । पृथ्वीको नजिक आइरहेका एस्टोरोयडको दिशा बदल्न सकिन्छ कि सकिँदैन भन्नेबारे यो मिशनले अध्ययन गर्नेछ । यसक्रममा सन् २०२२ को अन्त्यसम्म डार्ट अन्तरीक्ष यानलाई पृथ्वीबाट करीब ७ मिलियन माइल टाढा अवस्थित ‘डिमोफोर्स’ नामक १६९ मिटर लामो र आधा माइल चौडा एक एस्टोरोयडसँग ठोक्काइनेछ । यदि यो प्रयोग सफल भएमा भविष्यमा पृथ्वीसँग निहुँ खोज्न आउने कुनै पनि बरालिएका घातक आकाशीय पिण्डलाई हामी ‘चट्टानको जवाफ बम’ले दिनसक्नेछौं ।
चलचित्रमा पृथ्वीको चिन्ता
सन् २०१८ मा प्रदर्शीत भारतको पहिलो अन्तरीक्ष विषयमा आधारित तमिल चलचित्र ‘टिक.टिक.टिक.’ पनि एस्टेरोयडकै विषयमा आधारित छ । कथा अनुसार वैज्ञानिकहरुलाई थाहा हुन्छ, केही महिनाभित्रै अन्तरीक्षबाट कुनै उल्का पिण्ड भारतीय भूमिमा ठोक्किदैछ र आधा भारत ध्वस्त हुँदैछ ।
यसबाट बच्न ‘इन्डीयन स्पेश रिसर्च सेन्टर’ले एउटा टिम तयार गर्छ, जसमा एकजना जादुगर पनि हुन्छन् । जादुगरको भूमिका चलचित्रका नायक जयम रवीले निर्वाह गरेका छन्, जसले उल्का पिण्डबाट कसरी भारतलाई बचाउँछन् भन्ने कुतुहल दर्शकमा जागिरहन्छ ।
‘टिक.टिक.टिक.’ मा हलिउडका अन्तरीक्ष चलचित्रमा जस्तो वैज्ञानिक तथ्य र प्राविधिक ज्ञानका आधारमा भन्दा पनि एउटा ‘कमर्शीयल मसाला मूभी’मा झैं जादुगरी ट्रिक बढी देखाउन खोजिएको छ, जुन कतिपय सन्दर्भमा हास्यास्पद पनि लाग्छ ।
पक्कै पनि निर्देशक एवं लेखक शक्ति सुन्दर राजनले ‘भिज्यूअल इफेक्ट’मा भने निकै मेहनत गरेका छन् र दर्शकलाई अन्तरीक्षको वास्तविक आभास दिलाएका छन् । योभन्दा ठूलो पक्ष, पृथ्वीमाथि एस्टेरोयडबाट हुनसक्ने संभावित खतराको विश्वव्यापी चिन्ताको विषयप्रति भारतलगायतका मुलुकमा पनि सर्जकहरु घोत्लीन थालेका छन् ।
निर्देशक शक्ति सुन्दर राजनले ‘टिक.टिक.टिक’ पनि हलिउड चलचित्र ‘अर्मागेडोन’बाट प्रभावित भएरै बनाएका हुन् । सन् १९८८ मा प्रदर्शीत ‘अर्मागेडोन’को सुरुमै दर्शकलाई बताइन्छ कि हजारौं वर्षपहिले एउटा ठूलो उल्का पिण्ड पृथ्वीमा १० हजार परमाणु बम हाराहारीको शक्तिका साथ ठोक्किएको थियो र त्यसले धर्तीका सारा बनस्पती र प्राणी सखाप पारेको थियो ।
६५ मिलियन वर्षपछि पृथ्वीमा पुनः त्यस्तै घटना दोहारिन लागेको जानकारीका साथ कथा अघि बढ्छ । यस्तैमा अन्तरीक्षमा रहेको नासाको एउटा यानमा अचानक एउटा अज्ञात वस्तु आएर ठोक्किन्छ । यानमा रहेका अन्तरीक्ष यात्रीले त्यसबारेमा पृथ्वीमा सूचना पठाउनुअघि नै यान ध्वस्त हुन्छ र त्यो घटना रहस्यकै गर्भमा विलिन हुन्छ । नासालाई यति मात्र थाहा हुन्छ, कुनै चिजसँग ठोक्किएकाले यान ‘क्रयास’ भएको छ ।
अब नासाका ११ हजार वैज्ञानिकहरुको टोली अन्तरीक्ष यानमा ठोक्किएको वस्तु पत्ता लगाउन तल्लीन हुन्छन् । त्यसैबेला अमेरिकाको न्यूयोर्क सहरमा उल्का पिण्डहरु खस्न थाल्छन् । तीव्र गतिका साथ खसिरहेका उल्का पिण्डका कारण हजारौं मानिस मारिन्छन् । अचानक आकाशबाट खसिरहेको विपत्तिका कारण मानिसहरु भयभीत हुन्छन् ।
नासाका वैज्ञानिकलाई उल्का पिण्डकै कारण सहरमा ध्वंश भइरहेको थाहा हुँदासम्म न्यूयोर्क सहर आधा ध्वस्त भइसकेको हुन्छ । यो त विनाशको सुरुवात मात्र थियो, किनकी खसेका पिण्डहरु चाहिँ उल्काका टुक्रा मात्र थिए । यदि उल्का नै पृथ्वीमा ठोक्कियो भने के होला ?
वैज्ञानिक हैरान हुन्छन् । भूउपग्रहले पठाएका तस्वीरबाट के पत्ता लाग्छ भने पृथ्वीतिर आइरहेको उल्का टेक्सास सहरजत्तिकै ठूलो छ । उल्का पृथ्वीमा खस्यो भने पुरै मानव सभ्यता समाप्त हुनेछ । भयावह अवस्था त के भने, त्यो उल्का १८ दिनभित्रै पृथ्वीमा ठोक्किदैछ ।
पृथ्वीको सुरक्षाका लागि एउटा उपाय अगाडि सारिन्छ, उल्कामा ड्रिल गरेर त्यसमा परमाणु बम भर्ने र विष्फोट गरेर पिण्डलाई स–साना टुक्रामा विभाजित गर्ने । साना टुक्राहरु पृथ्वीसम्म आउनुअघि नै तीब्र गुरुत्वाकर्षणीय घर्षणबाट आकाशमै धुलोमा परिणत हुनेछन् । यो कामको जिम्मेवारी चलचित्रका अभिनेताहरु ब्रयूस विलिस र बिल्ली बबलाई दिइन्छ । माइकल बेले निर्देशन गरेको यो चलचित्रमा नायकले कसरी उल्काबाट पृथ्वीलाई बचाउँछन् भन्ने कौतुहलमै कथा अगाडि बढ्दै जान्छ ।
अब माथि हेरौं
लियोनार्दो डिक्याप्रीयो, जेनिफर लरेन्स र मेरिल स्ट्रीप अभिनित एवं एडम म्याकके निर्देशीत पछिल्लो साइन्स फिक्सन चलचित्र ‘डोन्ट लुक अप’ (२०२१) मा भने एस्टेरोइडले पृथ्वीको मानव सभ्यता ध्वस्त पारेकै देखाइएको छ । राजनीतिक नेतृत्व र व्यापारीक स्वार्थका कारण एस्टोरोइडलाई आकाशमै ध्वस्त पार्ने वैज्ञानिकको प्रयासमा विराम लाग्छ, जसले गर्दा पृथ्वीमा विनास निम्तन्छ ।
चलचित्रको प्रारम्भमै विद्यावारिधिको तयारीमा रहेकी केट डीबियास्की (जेनिफर लरेन्स)ले एउटा यस्तो उल्का पिण्ड पत्ता लगाउँछीन्, जुन केही महिनामै पृथ्वीमा ठोक्किदैछ । यो सूचनालाई अझ विश्वसनीय बनाउँदै प्रोफेसर मिन्डी (लियोनार्दो डिक्याप्रियो)ले चिन्ता जाहेर गर्छन् कि यो उल्का पिण्ड तिब्र गतिका साथ धर्तीमा ठोक्किदैछ ।
गणितीय हिसाब गर्दा उल्का पिण्ड ६ महिना १४ दिनपछि पृथ्वीमा ठोक्किन लागेको तथ्य प्राप्त हुन्छ । केट र प्रोफेसर मिन्डीले आत्तिएर यो सूचना सरकारलाई दिन्छन् । उनीहरुलाई तत्काल अमेरिकी राष्ट्रपति निवास ह्वाइट हाउसमा बोलाइन्छ । यसपछि चलचित्र एउटा ‘डार्क कमेडी’तर्फ अग्रसर हुन्छ ।
अर्थात उल्का पिण्डबाट विश्व समाप्त हुँदैछ, तर राजनेता, सामाजिक संजाल र आम सर्वधारणसमेत वैज्ञानिकको कुरालाई हाँसोमा उडाउन थाल्छन् । राष्ट्रपति (मेरिल स्ट्रीप)समेत यसलाई चुनावी मुद्दा बनाउन उद्यत हुन्छीन् ।
टिभी शोमा प्रोफेसर चिच्याउँदै जनतालाई भनिरहेका हुन्छ, ‘हामी केही महिनामै मर्दैछौं ।’ तर, सामाजिक संजालमा उनको अनेक व्यंग्यात्मक ट्रोल बनाएर उपहास गरिन्छ, कसैले यसलाई गम्भीरताका साथ लिदैन ।
अन्ततः राष्ट्रपतिले पृथ्वीबाट एक दर्जन रकेटमार्फत परमाणु बम पठाएर उल्का पिण्डलाई अन्तरीक्षमै नस्ट गर्ने योजनामा सहमति जनाउँछिन्। मिसन प्रारम्भ हुन्छ । रकेट प्रक्षेपण पनि गरिन्छ । तर, पिटर नाम गरेका मोबाइल कम्पनी र अन्य उद्योगका मालिकको हस्तक्षेपका कारण प्रक्षेपित रकेट पनि ‘यू टर्न’ गरेर समुद्रमा खस्छन् ।
पहिलो मिसन सुरु हुनासाथ अचानक व्यवसायी पिटरले अर्को योजना राष्ट्रपति समक्ष अघि सारेका हुन्छन् । पृथ्वीतर्फ आइरहेको उल्का पिण्डमा बहुमुल्य खनिज तत्व भएको र ति मोबाइल फोन, कम्प्युटरलगायतका विद्युतीय उपकरण निर्माणमा काम लाग्ने दलिल दिँदै पिटरले नयाँ मिसन अघि सार्छन् ।
उनको मिसन अनुसार रोबोटजस्ता देखिने भिमकाय दर्जनबढी रोबरलाई उल्का पिण्डमा पठाउने, विभिन्न ठाउँमा प्वाल पारेर परमाणु बम राख्ने र उल्का पिण्डलाई दश–बाह« टुक्रामा विभाजित गरी समुद्रमा खसाउने । यसो भएमा उल्का पिण्डमा भएको खनिजबाट आएको रकमले विश्वको भुकमरी र गरीबी हटाउन सकिने आदर्शवादी दलिल दिन्छन्, जसलाई राष्ट्रपतिले स्वीकार गर्छिन् ।
वैज्ञानिकलाई यसमा पत्यार लागिरहेको हुँदैन । किनकी, उल्कापिण्ड निकै ठूलो हुन्छ । समयमै गम्भीर नहुँदा र पृथ्वीमाथि भइरहेको विनासप्रति सजग नहुँदा कसरी मानव सभ्यता नै विलुप्त हुन्छ भन्ने एकखालको कमेडी ड्रामा यो चलचित्रमा देखाउन खोजिएको छ ।
हलिउडका अन्य चलचित्रभन्दा ‘डोन्ट लुक अप’ किन भिन्न छ भने, यसमा पृथ्वीलाई बचाउन कुनै नायक आउँदैन । यसअघिका चलचित्रमा गोडजिल्लादेखि किङकङ र डायनोसरसम्मबाट पृथ्वीलाई बचाउन कुनै ‘हिरो’को आगमन हुन्थ्यो, तर यो चलचित्रमा चाहिँ नायक लियोनार्दो डिक्याप्रीयोसमेत लाचार हुन्छन् । यस हिसाबले यो चलचित्रलाई यथार्थवादी कोणबाट बनाइएको बुझिन्छ ।
राजनीतिक नेतृत्वमा सुझबुझ भएन र पृथ्वी बिनासको डिलमा पुग्दा पनि व्यापारीक स्वार्थ नै हावी भयो भने पृथ्वीको बिनास अवश्य संभव छ भन्ने सन्देश दिन खोजिएको छ । भोलि वास्तवमै यस्तो अवस्था आएमा राजनीतिक नेतृत्व र पुँजीपतिले जिम्मेवार भूमिका निर्वाह गर्न सकून् । ‘डोन्ट लुक अप’को एउटै सन्देश हो, ‘लुक अप’ अर्थात् माथि अन्तरीक्षमा हेर, जहाँ आसन्न संकटको संकेत मिलिसकेको छ, जुन संकेत महान वैज्ञानिक स्टीफन हकिङले समेत गरिसकेका थिए ।