खेलकुद

सासौलोसँग पराजित इन्टरले गुमायो शीर्ष स्थान उक्लने अवसर

By खबरहब

February 21, 2022

काठमाडौँ – सासौलोसँग २-० अन्तरले पराजित हुँदा इन्टर मिलानले इटालियन सिरी ‘ए’को शीर्ष स्थानमा उक्लने अवसर गुमाएको छ ।

मिलानको घरेलु मैदान सान सिरोमा सम्पन्न खेलको आठौं मिनेटमा जियाकोमा रासपोडारीले गरेको गोलमा सासौलोले अग्रता लिएको थियो । २६औं मिनेटमा जियानलुका स्काम्काले बललाई जाली चुमाउँदै सासौलोको अग्रता दोब्बर पारेका थिए ।

इन्टरले सबै खाले प्रतियोगिता गरि पछिल्लो पाँच खेलमा एक अंक मात्र जोडेको छ । शीर्ष स्थानको एसी मिलान शनिबार सेलमिटानासँग बराबरीमा रोकिएपछि इन्टरसँग शीर्ष स्थानमा उक्लने अवसर थियो ।

एसी मिलानको २६ खेलमा ५६ अंक छ भने इन्टरको २५ खेलमा ५४ अंक छ । तेस्रो स्थानको नेपोलीको ५३, चौथो स्थानको युभेन्टसको ४७ र पाँचौ स्थानको एट्लान्टाको ४४ अंक रहेको छ ।

सासौलो २६ खेलमा ३३ अंकसहित ११औं स्थानमा छ । सासौलोको हारसँगै सिरी ‘ए’ मा इन्टरको ६ खेलको अपरजित यात्रामा समेत पूर्णविराम लागेको छ ।