प्रतिकात्मक तस्वीर

क्रिकेट

आईसीसी क्रिकेट विश्वकप लिग-२: यूएईबाट नेपाललाई २०३ रनको लक्ष्य

By खबरहब

March 21, 2022

दुबई– आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक ओडीआई शृंखलामा आयोजक संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपाललाई २०३ रनको लक्ष्य दिएको छ ।

दुबई क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २०२ रन जोडेको हो ।

यूएईका रोहन मुस्तफाले सर्वाधिक ६० रन बनाए । यस्तै ओपनर मुहम्मद रिजवानले ३३ , चिराग सुरीले २६ रन र भृत्या अरविन्दले २४ रनको योगदान गरे ।

नेपालका कप्तान सन्दीप लामिछानेले १० ओभरमा १ मेडनसहित ३२ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । यस्तै, सोमपाल कामीले २ विकेट लिँदा आरिफ शेख, दीपेन्द्रसिंह ऐरी र करण केसीले एक एक विकेट लिए ।

यसअघि, नेपालले पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई २ विकेटले हराउँदा दोस्रो खेलमा यूएईसँग ४८ रनले पराजित भएको थियो ।

नेपाल र यूएईबीच हालसम्म पाँच ओडिआई खेल हुँदा नेपाल २ खेलमा विजयी भएको छ भने यूएई तीन खेलमा विजयी भएको छ ।

प्रतियोगितामा नेपाल १० खेलमा ५ जित र ५ हार सहित १० अंकका साथ छैटौं स्थानमा छ । यूएई १७ खेलमा ९ जित र ६ हारका साथ २० अंक जोड्दै दोस्रो स्थानमा छ ।