तस्वीर- रोयटर्स

अन्तर्राष्ट्रिय

पुटिनलाई शक्तिबाट हटाउन ‘विषालू षड्यन्त्र’ – उत्तराधिकारी पनि छनौट भइसकेको दाबी

By खबरहब

March 21, 2022

काठमाडौं- रुसमा प्रभावशाली वर्गका मानिसहरुले राष्ट्रपति भ्लादिमिर पुटिनलाई विष खुवाएर ‘शक्तिबाट हटाउने’ षड्यन्त्र रचेको युक्रेनी गुप्तचर निकायले दाबी गरेको छ । बेलायतबाट प्रकाशित हुने द मिरर पत्रिकाका अनुसार क्रेमलिनका प्रभावशाली व्यक्तित्वहरुले पुटिनलाई विष खुवाएर मार्ने षड्यन्त्र रचेको र उनको उनको उत्तराधिकारी पनि छानिसकेको जनाएको छ ।

युक्रेनी रक्षा मन्त्रालयको प्रमुख गुप्तचर निर्देशनालयका अनुसार ती व्यक्तिहरुले जारी युक्रेन युद्धबाट पछि हट्न र पश्चिमा मुलुकहरुसँग आर्थिक सम्बन्ध पुनस्थापना गर्नका लागि यस्तो षड्यन्त्र रचेका हुन् ।

निर्देशनालयलाई उद्धृत गर्दै मिररले जनाएअनुसार पुटिनको उत्तराधिकारीका रुपमा रुसी गुप्तचर निकाय एफएसबीका निर्देशक ओलेक्जाण्डर बोर्त्निकोभलाई छनौट गरिएको छ ।

क्रेमलिनका प्रभावशालीहरुले युक्रेनमा जारी युद्ध र यसको प्रतिक्रियास्वरुप पश्चिमा देशहरुले आर्थिक प्रतिबन्ध लगाएपछि उत्पन्न परिस्थिती प्रति असन्तुष्टि समेत जनाइरहेको बताइएको छ ।

‘बोर्त्निकोभ र रुसी उच्च वर्गका अरु प्रभावशाली प्रतिनिधिहरुले पुटिनलाई शक्तिबाट हटाउने विषयमा सोचिरहेको स्पष्ट छ ।’ युक्रेनी गुप्तचर निर्देशनालयले जनाएको छ, ‘खासगरी विष, अकस्मात रोग वा अरु कुनै ‘संयोग’ लाई नजरअन्दाज गर्न सकिन्न ।’

(द मिररबाट)