समाचार

अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइयो

By खबरहब

March 21, 2022

काठमाडौँ- ५७ औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

संयुक्त राष्ट्र सङ्घले सन् १९६५ मा जातीय विभेद उन्मूलन सम्बन्धी महासन्धि पारित गरी जाति तथा रङ्गभेद उन्मूलन दिवसको रुपमा मनाउने घोषणा गरेको थियो । नेपालले भने यो महासन्धिलाई सन् १९७१ मा मात्रै अनुमोदन गरेको थियो । तर यो दिवस भने सन् १९६६ देखि हरेक वर्ष मार्च २१ तारिखमा मनाउने गरिन्छ ।

दिवसका अवसरमा विभिन्न संघ संस्थाले संयुक्त रुपमा काठमाडौँको भृकुटिमण्डपदेखि शान्तिबाटीकासम्म प्रभात फेरीको आयोजना गरेका थिए । प्रभातफेरीपछि आयोजित सभामा सरोकारवालाहरुले जातीय विभेद र छुवाछुतबाट अपहेलित र अपमानित हुन नहुने बताएका थिए ।

कार्यक्रममा राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले जातीय विभेद उन्मूलन दिवस मनाउन थालेको दुई दशक पुग्दा विभेद उन्मूलनका लागि प्रभावकारी काम गर्नुपर्ने बताए । दलित समुदायका व्यक्तिमाथि अझैपनि कुनै न कुनै रुपको विभेद भइरहेको उनको भनाइ छ ।

जातिय भेदभाव गर्न नपाइने स्पष्ट कानुनी व्यवस्था भए पनि जातीय भेदभाव तथा छुवाछुतका घटना भइरहेका छन् । २०६२/६३ सालको जनआन्दोलन पछि पुनस्थापित संसद्ले २०६३ साल जेष्ठ १६ गते नेपाललाई छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको थियो । तर अहिले पनि छुवाछुतका घटना हुने गरेका छन् ।