तस्वीर- नेक्स्टा

अन्तर्राष्ट्रिय

मोटो विदेशी मुद्रासहित पूर्व युक्रेनी सांसद्की श्रीमती हंगेरीमा पक्राउ

By खबरहब

March 21, 2022

काठमाडौं– २ करोड ८० लाख अमेरिकी डलर र १३ लाख युरो नगदसहित पूर्व युक्रेनी सांसद्की श्रीमती छिमेकी मुलुक हंगेरीमा पक्राउ परेकी छिन् । बेलारुसको नेक्स्टा टेलिभिजनले सामाजिक सञ्जाल ट्विटरमार्फत् दिएको जानकारीअनुसार पूर्व युक्रेनी सांसद कोत्भेत्स्कीकी श्रीमती हंगेरीमा पक्राउ परेकी हुन् ।

उनको साथबाट ६ वटा सुटकेसमा कोचेर राखेको अवस्थामा उक्त नगद बरामद गरिएको नेक्स्टाले जनाएको छ । युक्रेनबाट भाग्ने क्रममा उनलाई हंगेरीका सीमा रक्षकहरुले पक्राउ गरेको हंगेरीका अधिकारीले जनाएका छन् । उक्त नगदको परिमाण वैधानिक हिसाबमा नै खुलासा गरिएको बताइएको छ ।

रुसी आक्रमणको सामना गरिरहेको युक्रेनका नागरिक खाना, खानेपानी, औषधिजस्ता अत्यावश्यक वस्तुको अभावमा बाँचिरहेका बेला उनको पक्राउलाई निकै चासोका साथ हेरिएको छ ।

उनको साथबाट फेला परेको नगदको श्रोत भने खुलाइएको छैन र यसबारे अनुसन्धान अघि बढाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।