तस्वीर- अनादोलू एजेन्सी

अन्तर्राष्ट्रिय

चीनमा १२३ यात्रु र चालक दलका ९ सदस्य बोकेको विमान दुर्घटनाग्रस्त

By खबरहब

March 21, 2022

काठमाडौं– चीनमा १३२ जना सवार विमान दुर्घटनाग्रस्त भएको छ । दक्षिणी चीनको कुन्मिङ शहरबाट ग्वाङ्झाउका लागि उडान भरेको चाइना इष्टर्न एअरलाइन्सको बोइङ ७३७ विमान ग्वाङ्शी प्रान्तको वुझोउ पहाडी इलाकामा दुर्घटनामा परेको हो ।

विमानमा १२३ यात्रु र चालक दलका ९ सदस्य रहेको चीनको नागरिक उड्ययन प्रशासनले जानकारी दिएको छ । दुर्घटना भएको क्षेत्रमा आगलागी समेत भएको थियो ।

यद्यपि दुर्घटनाको कारण र मानवीय क्षतिबारे भने केही विवरण सार्वजनिक गरिएको छैन । दुर्घटनास्थलमा ६ सय भन्दा धेरै उद्धारकर्ता खटिएको र उनीहरुले दुर्घटनास्थलमा लागेको आगो निभाउन सफल भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

चीनमा हवाई यात्रा तुलनात्मक रुपमा सुरक्षित मानिन्छ । १२ वर्षयता चीनमा पहिलो पटक यति गम्भीर हवाई दुर्घटना भएको बताइएको छ । यसअघि सन् २०१० को अगष्ट महिनामा यिचुन क्षेत्रमा भएको हवाई दुर्घटनामा ४२ जनाको मृत्यु भएको थियो ।

हवाई सेवा प्रदायक कम्पनी इष्टर्न चाइना एअरलाइन्सले यात्रुका परिवार र दुर्घटनाबारे जानकारी लिन चाहनेका लागि हटलाइन सेवा शुरु गरेको बताइएको छ ।