अडियो सुन्नुहोस्ः
चीनमा विमान दुर्घटना
चीनमा १३२ जना सवार विमान दुर्घटनाग्रस्त भएको छ । दक्षिणी चीनको कुन्मिङ शहरबाट ग्वाङ्झाउका लागि उडान भरेको चाइना इष्टर्न एअरलाइन्सको बोइङ ७३७ विमान ग्वाङ्शी प्रान्तको वुझोउ पहाडी इलाकामा दुर्घटनामा परेको हो ।
विमानमा १२३ यात्रु र चालक दलका ९ सदस्य रहेको चीनको नागरिक उड्डयन प्रशासनले जानकारी दिएको छ । दुर्घटना भएको क्षेत्रमा आगलागी समेत भएको थियो । यद्यपि दुर्घटनाको कारण र मानवीय क्षतिबारे भने केही विवरण सार्वजनिक गरिएको छैन ।
दुर्घटनास्थलमा ६ सय भन्दा धेरै उद्धारकर्ता खटिएको र उनीहरूले दुर्घटनास्थलमा लागेको आगो निभाउन सफल भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
चीनमा हवाई यात्रा तुलनात्मक रुपमा सुरक्षित मानिन्छ । १२ वर्षयता चीनमा पहिलो पटक यति गम्भीर हवाई दुर्घटना भएको बताइएको छ । यसअघि सन् २०१० को अगष्ट महिनामा यिचुन क्षेत्रमा भएको हवाई दुर्घटनामा ४२ जनाको मृत्यु भएको थियो ।
हवाई सेवा प्रदायक कम्पनी इष्टर्न चाइना एअरलाइन्सले यात्रुका परिवार र दुर्घटनाबारे जानकारी लिन चाहनेका लागि हटलाइन सेवा सुरु गरेको बताइएको छ ।
१५ हजार रुसी सैनिक मारिएको युक्रेनी दाबी
रुसले आक्रमण थालेयता युक्रेनमा १५ हजार रुसी सैनिक मारिएको युक्रेनले दाबी गरेको छ । युक्रेनी रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा रुसी आक्रमण सुरु भएयता १५ हजार रुसी सैनिक मारिएको दाबी गरिएको हो ।
यसका साथै रुसका ४९८ ट्याङ्क, १५ सय ३५ बख्तरबन्द गाडी, २४० आर्टिलरी, ८० मल्टिपल लन्च रकेट सिस्टम र ४५ वटा हवाई प्रतिरोधी प्रणाली ध्वस्त पारिएको युक्रेनी दाबी छ ।
यसबाहेक युक्रेनले ९७ लडाकु विमान, १२१ हेलिकोप्टर र २४ वटा चालकरहित हवाई उपकरण (ड्रोन) पनि ध्वस्त पारिएको दाबी गरेको छ ।
यद्यपि युक्रेनी दाबीको स्वतन्त्र पुष्टि भने हुन नसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
बेलायती प्रधानमन्त्रीले युक्रेनको भ्रमण गर्ने
बेलायती प्रधानमन्त्री बोरिस जोनसनले रुसी हमलाको चपेटामा परेको युक्रेनको भ्रमण गर्ने भएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध युक्रेनको समर्थन जनाउन प्रधानमन्त्री जोनसनले युक्रेन भ्रमण गर्न लागेका हुन् ।
उनले राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग वार्ता गर्न युक्रेनको राजधानी किभको यात्राको व्यावहारिकता र जोखिम जाँच गर्न अधिकारीहरूलाई अनुरोध गरेका छन् ।
सुरक्षा अधिकारीहरूले प्रधानमन्त्रीको युद्धक्षेत्रमा यात्रा गर्ने सम्भावनालाई ‘निकै डरलाग्दो’ भएको बताएका छन् । सुरक्षाको अनुभूति भए जोनसनले भ्रमण गर्न सक्ने विवरणहरूमा जनाइएको छ ।
यद्यपि उनले युक्रेन भ्रमण गर्ने समयतालिका भने सार्वजनिक गरिएको छैन । गत फेब्रुअरी २४ देखि रुसले आक्रमण थालेयता किभमा नियमित जसो गोलाबारी र हवाई आक्रमण हुँदै आएका बेला जोनसनले युक्रेनको भ्रमण गर्न लागेको समाचार आएको हो ।
केही दिनअघि मात्रै पोल्याण्ड, स्लोभिनिया र चेक गणतन्त्रका प्रधानमन्त्रीहरुले रेलमार्गको यात्राबाट किभ पुगेका थिए ।
युक्रेनमा रासायनिक कारखानाबाट विषाक्त एमोनिया चुहियो
रुसी आक्रमण जारी रहेका बेला युक्रेनको उत्तरी शहर नोभोसेल्यात्सामा रहेको रासायनिक कारखानाबाट विषाक्त एमोनिया ग्याँस चुहिएको छ ।
सुमी क्षेत्रका गभर्नर दिमित्रो जाभेत्स्कीले जनाएअनुसार स्थानीय सुमिखिम्प्रोम नामक रासायनिक मल कारखानाबाट विषाक्त रसायन एमोनिया चुहिएको हो । कारखानाबाट चुहिएको अमोनियाले त्यस क्षेत्र आसपासको २५०० मिटर क्षेत्र प्रभावित भएको उनको भनाइ छ ।
उनले रुसी गोलाबारीका कारण रसायन चुहिएको बताए । रुसी गोलाबारीका क्रममा उक्त कारखानामा काम गर्ने एकजना कामदार पनि घाइते भएको बताइएको छ ।
एमोनिया मानव स्वास्थ्यका लागि निकै हानिकारक मानिन्छ । एमोनिया प्रभावित क्षेत्रमा श्वास फेरेमा, यसलाई निलेमा वा छालासँग यसको सम्पर्क भएमा स्वास्थ्यलाई यसले नकारात्मक असर पुर्याउने बताइन्छ ।
प्रभावित क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित रुपमा घरको तल्लो तल्लामा बस्न र एमोनियाले प्रभावित भएको थाहा पाए साइट्रिक अम्लमा कपास चोपेर त्यसबाट मात्रै श्वास फेर्न आह्वान गरिएको छ ।
‘एमोनिया हावाभन्दा हलुका हुन्छ, त्यसैले सुरक्षित हुन घरको तल्लो तल्लामा बस्नुपर्छ ।’ जाभेत्स्कीले टेलिग्रामबाट जारी गरेको सन्देशमा भनिएको छ । यसबारे रुसी पक्षले कुनै प्रतिक्रिया दिएको छैन ।
पछिल्ला केही समययता यस क्षेत्रमा रुसी फौजले भारी आक्रमण र गोलाबारी गर्दै आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
श्रीलंकामा इन्धन भर्न पालो कुरिरहेका दुई जनाको मृत्यु
श्रीलंकामा इन्धन भर्न लाइनमा पालो कुरिरहेका बेला दुई जनाको मृत्यु भएको छ । अत्यावश्यक वस्तुको चरम अभाव र अकासिँदो मूल्य वृद्धिले देशभर कठिनाइ निम्तिएका बेला पछिल्लो घटना सार्वजनिक भएको हो ।
अन्दाजी ७० वर्षका उनीहरु देशका छुट्टाछुट्टै ठाउँमा पेट्रोल र मट्टितेल भर्ने लाइनमा पालो कुर्दाकुर्दै ढलेको प्रहरी प्रवक्ता नलिन थलदुवाले जानकारी दिए ।
केही सातादेखि श्रीलंकामा तेल भर्न घन्टौँसम्म मानिसहरू पेट्रोल पम्पमा पालो कुरेर बसेका देखिन्छन् । श्रीलंका सन् १९४८ मा स्वतन्त्रता पाएयताकै सबैभन्दा खराब आर्थिक संकटसँग जुधिरहेको छ ।
देशमा अत्यावश्यक वस्तुको आपूर्ति घटिरहेको छ । विदेशी मुद्राको अभावसँगै अत्यावश्यक वस्तुको आयात समेत घटेको छ । यसअघि छाप्ने कागजको अभावमा सरकारले विद्यालयको परीक्षा अनिश्चतकालका लागि रद्द गरेको थियो । परीक्षा रद्द हुँदा लाखौँ मानिस प्रभावित भएका थिए ।
जो बाइडेनले युरोपको भ्रमण गर्ने
युक्रेनमाथि रुसी आक्रमण जारी रहेका बेला अमेरिकी राष्ट्रपति जो बाइडेनले युरोपको भ्रमण गर्ने भएका छन् । उनी बुधबार बेल्जियमको राजधानी ब्रसेल्स पुग्ने कार्यक्रम छ । ह्वाइटहाउसले जनाएअनुसार त्यसपछि राष्ट्रपति बाइडेन आगामी शुक्रबार पोल्याण्ड पुग्नेछन् ।
उनले त्यहाँ युक्रेनलाई समर्थन गर्ने अन्तर्राष्ट्रिय प्रयासहरूबारे छलफल गर्ने बताइएको छ । ‘यस हप्ता राष्ट्रपति जोसेफ आर बाइडेन जुनियरले ब्रसेल्सको बैठकपछि पोल्याण्डको यात्रा गर्नुहुनेछ ।’ ह्वाइटहाउसले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
उनको युरोप भ्रमण नेटो आबद्ध मुलुकहरु, जी ७, र युरोपेली संघका नेताहरूसँग युक्रेनलाई समर्थन गर्ने अन्तर्राष्ट्रिय प्रयासहरूबारे छलफल गर्न र रुसमाथि थप दबाब सृजना गर्न केन्द्रित हुने ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले विज्ञप्तिमार्फत जानकारी दिएकी छिन् ।
शुक्रबार राष्ट्रपति बाइडेन पोल्याण्डको राजधानी वार्सा पुग्ने र त्यहाँ पोलिश राष्ट्रपति आन्द्रेई डुडासँग द्विपक्षीय बैठक गर्ने तयारी छ । ‘राष्ट्रपतिले हाम्रा सहयोगी र साझेदारहरूसँगै संयुक्त राज्य अमेरिकाले कसरी प्रतिक्रिया दिन्छ भनेर छलफल गर्नुहुनेछ’ ह्वाइटहाउसले जनाएको छ ।
बाइडेनले युक्रेनमा रूसी आक्रमणको प्रतिक्रियामा जारी प्रतिरोध र रक्षा प्रयासहरूबारे छलफल गर्न एक असाधारण नेटो शिखर सम्मेलनमा भाग लिने बताइएको छ ।
बेल्जियममा ६ जनाको मृत्यु
बेल्जियममा मानिसहरुको भीडमा जथाभावी कार चलाउँदा ६ जनाको मृत्यु भएको छ । बेल्जियमको राजधानी ब्रसेल्सबाट ५० किलोमिटर दक्षिणमा रहेको स्ट्रेपी ब्राकोइनेश शहरमा घटना भएको हो ।
परम्परागत जात्रामा सहभागी भइरहेका मानिसहरुको भीडमा तीब्र गतिमा गुडिरहेको कारले ठक्कर दिएको बताइएको छ । घटनामा अरु ४० जनाभन्दा धेरै घाइते भएका छन् ।
शहरका मेयर ज्याक्स गोबेरले जनाएअनुसार उक्त जात्रामा १५०–२०० जना सहभागी थिए । तीब्र गतिको कारले जात्रामा मानिसहरूलाई किच्दै १ सय मिटर परसम्म पुगेको बताइएको छ ।
घटनाको उद्देश्यबारे अनुसन्धान भइरहेको बताइएपनि घटना आतङ्कवादी आक्रमण भने नभएको प्रहरीले जनाएको छ । कारचालक र कारमा सवार केही मानिसहरूलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको बताइएपनि उनीहरूको पहिचान भने सार्वजनिक गरिएको छैन ।
युक्रेन रुस शान्तिवार्ता सकारात्मक – टर्की
टर्कीले रुस र युक्रेनबीच युद्धविरामका लागि सकारात्मक प्रगति भएको जनाएको छ । टर्कीका विदेशमन्त्री मेल्भत काभुसोग्लुले दुई मुलुकबीच समग्र युद्धविरामका विषयमा सहमति भएको र धेरै बुँदाहरू सहमतिनजिक पुगेको बताएका हुन् ।
युक्रेनमा जारी रुसी आक्रमणबीच यसअघि पनि विभिन्न समयमा एक दिने युद्धविराम भएका थिए र यसले सर्वसाधारणलाई युद्ध प्रभावित भागबाट भाग्न सजिलो भएको थियो । मस्कोले अहिले पनि कतिपय भूभागमा बिहान ९ देखि बेलुका ९ बजेसम्म युद्धविराम गर्ने गरेको बताइएको थियो तर पनि त्यसको पालना भने भएको थिएन ।
उत्तरपश्चिममा इरपिन र बुचालगायत राजधानी वरपरका क्षेत्रहरूमा रहेका नागरिकहरूलाई रुसी सेनाको भीषण बमबारीबाट बच्न राजधानी किभ सारिएको बताइएको छ । रुसी सिमानानजिक रहेको दुई लाख ५० हजार जनसंख्या भएको शहर सुमीबाट हजारौँ नागरिक विस्थापित भएका छन् । यस शहरमा रुसले ठूला आक्रमण गर्ने गरेको छ ।
निरन्तरको आक्रमणले युक्रेनको जनजीवन अस्तव्यस्त भएको छ । यहाँका ठूलो संरचनाहरू हवाई आक्रमणमा ध्वस्त भएका छन् । सोही कारण युक्रेनले वार्तामा बस्नुअघि युद्धविराम हुनुपर्ने बताउँदै आएको छ । वार्ताका लागि टर्कीले पनि पहल गरेको जनाइएको छ ।
तर वार्ता निष्कर्षमा पुग्न भने सकेको छैन ।
जेलेन्स्कीद्वारा तेश्रो विश्वयुद्धको चेतावनी
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको शान्ति वार्ता असफल भएको खण्डमा त्यसले तेश्रो विश्वयुद्ध निम्त्याउने चेतावनी दिएका छन् । अमेरिकी टेलिभिजन च्यानल सीएनएनका फरिद जकारियालाई दिएको अन्तर्वार्तामा जेलेन्स्कीले यस्तो चेतावनी दिएका हुन् ।
‘म उनीसँग वार्ताका लागि तयार छु, म पछिल्ला दुई वर्षदेखि तयार थिएँ । र मेरो विचारमा छलफलबिना हामी यो युद्ध अन्त्य गर्न सक्दैनौँ ।’ उनले भने, ‘मलाई लाग्छ, छलफलको सम्भावनाका लागि, पुटिनसँगको कुराकानीका लागि हामीले हरेक प्रारुप, हरेक अवसरको सदुपयोग गर्नुपर्छ ।’
‘तर, यदि यस्तो प्रयास असफल हुन्छ भने यसको अर्थ तेश्रो विश्वयुद्ध हुनेछ ।’ उनले चेतावनी दिए ।
गत फेब्रुअरी यता रुसले युक्रेनमाथि आक्रमण गरिरहेको छ । रुसी आक्रमणले गर्दा युक्रेनमा भयावह मानवीय संकट उत्पन्न भएको छ भने दशौँ लाख शरणार्थी छिमेकी देश जान बाध्य भएका छन् ।
युक्रेनले आत्मसमर्पण नगर्ने
युक्रेनले मारिउपोल शहर आत्मसमर्पण गर्न रुसले दिएको चेतावनी अस्वीकार गरेको छ । युक्रेनी उपप्रधानमन्त्री इरिना भेरेश्चुकले शहरलाई आत्मसमर्पण गर्ने वा हतियार बिसाउने सवाल नै नरहेको बताएकी हुन् ।
यसअघि रुसी फौजका जनरल मिखाइल मिजिन्त्सेभले मस्कोको समयअनुसार सोमबार बिहान ५ बजेभित्र मारिउपोलबाट युक्रेनी फौज र ‘भाडाका विदेशी लडाकु’ ले शहर छाडेर आत्मसमर्पण गर्न अल्टिमेटम दिएका थिए । यसो गरेको खण्डमा शहरमा फसिरहेका मानिसलाई सुरक्षित स्थानमा जान दिने रुसी प्रस्ताव थियो ।
हाल रुसी फौजको चौतर्फी घेराबन्दीमा परेको मारिउपोल शहरमा ३ लाख भन्दा धेरै मानिसहरू फसिरहेको अनुमान गरिएको छ । यो शहरमा रुसी फौजले नियमित रुपमा भिषण गोलाबारी र हवाई आक्रमण गर्दै आएको छ ।
रुसी प्रस्ताव आएको केही घण्टापछि नै मारिउपोलका मेयरका सल्लाहका पिटर आन्द्रुशेन्कोले लड्न नछाड्ने अडान लिएका थिए । ‘हामी अन्तिम सिपाहीसम्म लडिरहनेछौँ ।’ उनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
रुसको बाचामा विश्वास गर्न नसकिने भन्दै उनले रुसी फौजले मारिउपोलका बासिन्दालाई जबरजस्ती रुस ओसारिरहेको आरोप समेत लगाए । रुसी फौजको चौतिर्फी घेराबन्दीमा परेको यस शहरमा बिजुली, इन्धन, खानेपानी जस्ता अत्यावश्यक सेवाको आपूर्ति बन्द छ ।