अडियो सुन्नुहोस्ः
उम्मेदवारहरूलाई समान मैदान दिन स्थानीय जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्था गरियोः निर्वाचन आयोग निर्वाचन आयोगले निर्वाचनमा जाँदा उम्मेदवारहरूलाई समान मैदान दिन स्थानीय जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्था गरिएको जनाएको छ । आज काठमाडौँमा आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले स्वतन्त्र, स्वच्छ र भयमुक्त वातावरणमा चुनाव गर्नु आयोगको दायित्व भएको भन्दै उम्मेदवार भएका सबैलाई समान मैदान उपलब्ध गराउन जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्था गरिएको बताए ।
बहालमा रहेकै अवस्थामा उम्मेद्वार बन्दा राज्यको स्रोतसधान उपयोग गर्ने सम्भावना देखिएको र त्यही स्वस्थ प्रतिपर्धा नहुने देखेर राजीनामा दिनुपर्ने प्रावधान राखेको पनि उनले बताए ।
तोकिएको मितिमै स्थानीय तहको निर्वाचन हुन्छः प्रधानमन्त्री देउवा प्रधानमन्त्री शेरबहादुर देउवाले तोकिएको मितिमै स्थानीय तहको निर्वाचन हुने बताएका छन् । मोरङको सुन्दरहरैंचा नगरपालिकाको प्रशासकीय भवन शिलान्यास कार्यक्रममा आज काँग्रेस सभापतिसमेत रहेका देउवाले यस्तो बताए ।
‘निर्वाचन आयोगले निर्वाचन गराउने हो, सरकारले सहयोग गर्ने हो’ भन्दै उहाँले सरकारको पनि निर्वाचन सार्ने कुनै मनसाय नभएको प्रतिक्रिया दिए । देश अहिले निर्वाचनको संघारमा रहेको भन्दै स्थानीय निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने कुरामा सबै लाग्नुपर्नेमा पनि जोड दिए ।
वैशाख ९ मा चुनावी घोषणा पत्र सार्वजनिक गर्ने एमाले पोलिटब्युरो बैठकको निर्णय प्रमुख प्रतिपक्षी नेकपा एमालेले स्थानीय तह निर्वाचनका उम्मेदवार छनौटसम्बन्धी मापदण्डमा सामान्य हेरफेर गर्ने निर्णय गरेको छ । आज काठमाडौँमा बसेको एमाले पोलिटव्युरो बैठकले आएका सुझावका आधारमा उम्मेदवार सिफारिस र निर्णयसम्बन्धी विधि र मापदण्डमा सामान्य हेरफेर गर्ने निर्णय गरेको हो ।
बैठकले उम्मेदवार छनौटका लागि ६ बुँदे मापदण्ड तयार गरेको एमाले प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । यस्तै बैठकले वैशाख ९ गते स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गर्ने निर्णय गरेको छ । एमालेको केन्द्रीय कमिटी बैठक चैत ९ र १० गते बस्ने तय भएको छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको तालिकाप्रति एमाले अध्यक्ष ओलीको आपत्ति नेकपा एमालेका अध्यक्ष केपी ओलीले स्थानीय निर्वाचनका लागि निर्वाचन आयोगले सार्वजनिक गरेको तालिका प्रति आपत्ती जनाएका छन् । काठमाडौंमा आज बसेको एमाले पोलिटव्युरो बैठकलाई सम्बोधन गर्दै ओलीले उम्मेदवारी मनोनयनको समय दुई दिन तोक्ने र उम्मेदवारी दिन पदाधिकारीहरूले राजीनामा दिनुपर्ने लगाएतका आयोगको व्यवस्थाप्रति आपत्ति जनाए ।
ओलीले केन्द्रमा र प्रदेशमा राजीनामा गर्नु नपर्ने तर, स्थानीय तहमा राजीनामा गर्नुपर्ने प्रावधान उचित नरहेको भन्दै आयोगको क्रियाकलाप एमालेविरुद्ध रहेको धारणा राखे । उनले स्थानीय तह निर्वाचनको तयारीका विषयमा आयोगले गठबन्धन दलसँग मात्र परामर्श लिएको आरोप लगाए ।
५७ औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस नेपालमा पनि मनाइयो ५७ औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । संयुक्त राष्ट्रसङ्घले सन् १९६५ मा जातीय विभेद उन्मूलन सम्बन्धी महासन्धि पारित गरी जाति तथा रङ्गभेद उन्मूलन दिवसको रुपमा मनाउने घोषणा गरेको थियो ।
नेपालले भने यो महासन्धिलाई सन् १९७१ मा मात्रै अनुमोदन गरेको थियो । तर यो दिवस भने सन् १९६६ देखि हरेक वर्ष मार्च २१ तारिखमा मनाउने गरिन्छ । दिवसका अवसरमा बिभिन्न संघ संस्थाले संयुक्त रुपमा काठमाडौंको भृकुटीमण्डपदेखि शान्तिबाटीकासम्म प्रभातफेरीको आयोजना गरेका थिए ।
सरकारद्धारा राजस्व बाँडफाँड र अनुदान वितरणको सीमा स्वीकृत सरकारले आगामी आर्थिक वर्षमा प्रदेश र स्थानीय तहलाई उपलब्ध गराउने राजस्व बाँडफाँडको ढाँचा लगायत अनुदान वितरणको सीमा स्वीकृत गरेको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले आर्थिक बर्ष २०७९/८० का लािग प्रदेश र स्थानीय तहलाई उपलब्ध गराउने राजस्व बाँडफाँडको ढाँचा, हिस्सा तथा वित्तिय समानिकरण अनुदान वितरणको अनुमानित सीमा स्वीकृत गर्ने निर्णय गरिएको जानकारी दिए ।
मन्त्रिपरिषद्ले नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिडेटको महाप्रबन्धकमा प्रेमराज भण्डारीलाई नियुक्त गरेको छ भने बिद्युत नियमन आयोगको रिक्त सदस्य पदमा गौतम डंंगोललाई नियुक्त गरेको छ ।
चिनियाँ विदेशमन्त्री यी नेपाल भ्रमणमा आउँदै चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल भ्रमणमा आउने भएका छन् । विदेशमन्त्री वाङ परराष्ट्र मन्त्री नारायण खड्काको निमन्त्रणामा चैत ११ गते नेपाल भ्रमणमा आउने निश्चित भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको हो । नेपाल भ्रमणका क्रममा विदेशमन्त्री वाङले राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री शेरबहादुर देउवा लगायत शीर्ष नेताहरूसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।
यस्तै परराष्ट्रमन्त्री खड्कासँग चैत १२ गते दुई पक्षीय भेटवार्ता हुने जनाइएको छ । भ्रमणका क्रममा वाङले पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग पनि भेटवार्ता गर्ने तय भएको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि पछिल्लो २४ घण्टामा नेपालमा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ९ सय ७८ पीसीआर परीक्षणका क्रममा ४१ जना र १ हजार ७ सय ७४ एन्टीजेन परिक्षणका क्रममा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
आज १ सय ४७ जना कोरोना मुक्त हुदा हालसम्म नेपालमा ९ लाख ६३ हजार १ सय ११ जना निको भएका छन् । हाल नेपालमा ३ हजार १ सय ३५ सक्रिय संक्रमित आइशोलेशन र १०६ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
ललितपुरमा करणी आरोपमा एक जना पक्राउ ललितपुरमा एक किशोरीलाई बलात्कार आरोपमा एक जना पक्राउ परेका छन् । १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा ललितपुर महागनरपालिका–२४ बस्ने जाजरकोट सिवालय गाउँपालिका–४ घर भएका २४ वर्षीय नबिन खत्रीलाई प्रहरीले पक्राउ गरेको हो ।
खत्रीले ती किशोरीलाई गत फागुन २५ गते ललितपुर महानगरपालिका–२१ खोकना भैँसेपाटीस्थित जङ्गलमा बलात्कार गरेको ती किशोरीको आरोप छ ।महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
अवरुद्ध छिञ्चु बजार र सुर्खेत–नेपालगञ्ज सडक खुल्यो टिपरको ठक्करबाट युवतीको मृत्यु भएपछि अवरुद्ध छिञ्चु बजार र सुर्खेत–नेपालगञ्ज सडक खुलेको छ ।
क्षतिपूर्ती र दोषीलाई कारबाहीको विषयमा सहमतिको नजिक पुगेपछि आफन्तले बजार र यातायात खोलेको सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले जानकारी दिए । गत शनिबार लेकवेशी नगरपालिका–५ नेटाकी १७ वर्षीया लक्ष्मी पुलामी मगरको टिपरको ठक्करबाट वीरेन्द्रनगरमा मृत्यु भएको थियो ।
दुई वर्षअघि बुढानिलकण्ठमा भएको सवारी दुर्घटनाका आरोपित दोषी ठहर दुई वर्षअघि काठमाडौँको बूढानीलकण्ठमा भएको सवारी दुर्घटनाका आरोपित दोषी ठहर भएका छन् । आज काठमाडौँ जिल्ला अदालतले आंशिक दाबी पुग्ने भन्दै दोषी ठहर गरेको हो ।
आज न्यायाधीश सूर्यप्रसाद अधिकारीको इजलासमा परेको सो मुद्दाको बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा परेको थियो । आज बहस सकिएपछि काठमाडौँ जिल्ला अदालतले आंशिक दाबी पुग्ने ठहर गरेको हो । चालकले लापरवाहीपूर्वक सवारीसाधन चलाएको पुष्टि भएको कारण उनलाई ६ महिना कैद र एकहजार रुपैयाँ जरिवानाको फैसला गरिएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए ।
मोरङमा महिला प्रहरीको हत्या भएपछि प्रहरीद्वारा छानबिन सुरु मोरङको लेटाङमा एक महिला प्रहरीको हत्या भएपछि प्रहरीले छानबिन सुरु गरेको छ ।घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले आज आठ जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी मन्जिल मुकारुङले जानकारी दिए ।
खेरुवास्थित शिक्षा विकास माविका एक शिक्षकले १२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार प्रयास गरेको विषयमा हिजो भएको छलफलमा आक्रोशित भीडको आक्रमणमा परेर महिला प्रहरी उर्मिला श्रेष्ठको मृत्यु भएको थियो । यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवाले सो घटनामा छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउने बताएका छन् ।
कास्कीमा आमाको हत्या आरोपमा पक्राउ कास्कीको पोखरामा वृद्धाको हत्या आरोपमा मृतकका छोरासहित दुई जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका–१२, शीतलादेवीकी ६७ वर्षकी नौमाया नेपालीको हत्याको आरोपमा ३६ वर्षीय ओमबहादुर नेपाली र ओमका साथी ३७ वर्षका कुमार गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।
गत शुक्रबार उनको शव आफनै कोठामा मृत अवस्थामा फेला परेको थियो । आमाले जग्गा बेच्न नदिएको निहुँमा ओमले हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । साथी कुमार गुरुङलाई एक लाख दिने शर्तमा हत्यामा सहयोग मागेको खुलेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी सुन्दर तिवारीले बताए ।
नाबालिका करणी आरोपमा पलको अनुसन्धान सकियो नाबालिका गायिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका अभिनेता पल शाहविरुद्धको अनुसन्धान प्रहरीले सकेको जनाएको छ । अनुसन्धान सकेपछि रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय तनहुँमा बुझाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
प्रहरीले २१ दिन लामो अनुसन्धान सकेर अनुसन्धान प्रतिवेदन पेस गरेको हो । जिल्ला प्रहरी कार्यालय, पूर्वी नवलपरासीले पनि शाहमाथि गरेको अनुसन्धान सकेर अदालतमा मुद्दा दायर गरिसकेको छ ।शाह गत फागुन १५ देखि प्रहरी हिरासतमा छन् ।
शेयर बजार परिसूचक नेप्से आज दोहोरो अकंले वृद्धि कारोबारको दोस्रो दिन शेयर बजार परिसूचक नेप्से आज दोहोरो अकंले बढेको छ । नेप्से आज १७ दशमलव ९९ अंकले बढेर २ हजार ६ सय ३४ दशमलव ५७ विन्दुमा पुगेको हो । आज ५१ लाख ८९ हजार ८३ कित्ता सेयर २ अर्ब ५९ करोड २७ लाख १८ हजार १३१ रुपैयाँमा कारोबार भएको छ । आज इमर्जिङ नेपालको शेयर मूल्य १० प्रतिशत बढेको छ । यस्तै ङादी ग्रुप पावरको मूल्य ७.६ प्रतिशत बढ्को छ ।
नेपाल टेलिकमको मूल्य सबैभन्दा धेरै २.९ प्रतिशत घटेको छ । कारोबार रकमका आधारमा टेलिकम, अरुण भ्याली, जीवन विकास लघुवित्त, अपी पावर र शिवम् सिमेन्ट क्रमशः अगाडि रहेको छ ।
चालु आर्थिक वर्षको ८ महिनामा नै नेपालको कुल वैदेशिक व्यापार साढे १४ खर्ब नाघ्यो चालु आर्थिक वर्षको ८ महिनामा नै नेपालको कुल वैदेशिक व्यापार साढे १४ खर्ब नाघेको छ । भन्सार विभागले चालु आर्थिक वर्षको पहिलो आठ महिनाको वैदेशिक व्यापारको तथ्याङ्क सार्वजनिक गरेको हो ।
फागुन मसान्तसम्म नेपालको वैदेशिक व्यापार १४ खर्ब ५६ अर्ब ४८ करोड पुग्दा व्यापार घाटा ११ खर्ब ६० अर्ब ९९ करोड पुगेको छ । नेपालको वैदेशिक व्यापार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४२.१२ प्रतिशतले वृद्धि हुँदा व्यापार घाटा ३४.५० प्रतिशतले बढेको भन्सार विभागले जनाएको छ ।
गत आर्थिक वर्षको यही अवधिमा नेपालको कुल वैदेशिक व्यापार १० खर्ब २४ अर्ब ७७ करोड रहेको थियो भने व्यापार घाटा ८ खर्ब ६३ अर्ब २१ करोड थियो ।