अन्तर्राष्ट्रिय

भारतको थोमस कप सफलताको अर्थ

By मनोज घिमिरे

May 21, 2022

१४ पटक उपाधि जिती सकेको इन्डोनेसियालाई फाइनलमा हराउँदै भारतले पहिलो पटक थोमस कप ब्याडमिन्टनको उपाधि जितेको छ। थोमस कपको ७३ वर्षको इतिहासमा भारतको यो पहिलो सफलतासमेत हो। भारतमा धेरै खेल क्रिकेटको छायामा परिरहेको समयमा ब्याडमिन्टनले पाएको यो सफलता अर्थपूर्ण छ।

आइतबार सम्पन्न सो फाइनल खेलको नतिजाले ब्याडमिन्टन विज्ञलाई स्तब्ध बनाएको छ। अन्डरडगको रूपमा फाइनलमा खेलेको भारतका लाखया सेनले विश्वकै पाँचौँ वरीयताका खेलाडी एन्थोनी सिनीसीका गीन्टीङलाई हराए।

त्यसको लगत्तै भएको युगल खेलमा सत्वीक साइराज रेन्केडी र चीराग सेठ्ठीको कमब्याक साँच्चै आश्चर्यजनक थियो। त्यो जोडीले चार म्याच प्वाइन्ट जोगाउँदै तीन पटकका विश्व च्याम्पियन मोहम्मद अन्सा र केभिन सन्जय सुकामुजीलोलाई हराएका थिए। यो भारतीय जोडीले अन्सा र सञ्जयसँगको जोडीको सामु यस अगाडिका ११ खेलमा लगातार हारको सामना गरेका थियो। भारतीय टोलीको जितलाई सार्थक तुल्याउने पूर्व शीर्ष वरीयताका खेलाडी केदम्बरी श्रीकान्तले त जीवनकै उत्कृष्ट खेल खेलेका थिए। पुरै समयमा कोर्टमा छाएका उनको सर्भिस, रिटर्न र नेटमा गति तारिफ योग्य थियो।

सन् १९०० को दशकमै बेलायतका जर्ज एलन थोमसले फुटबलको विश्वकप तथा टेनिसको डेभिस कप भए जस्तै ब्याडमिन्टनको कुनै प्रतियोगिता हुनुपर्ने मत राखेका थिए।

उनकै नाममा प्रतियोगिताको नाम पनि थोमस कप राखिएको हो। प्रतियोगिताको पहिलो संस्करणको आयोजना हुनका लागि १९ सय ४८ सम्म पर्खनु परेको थियो। त्यसपछि भएका ३२ संस्करणमा भारत १३ पटक मात्र छनोट हुन सफल भएको छ।

यो लामो इतिहासमा उपाधि सीमित देशमा मात्र रहेको थियो। यस अघि चीन, इन्डोनेसिया, मलेसिया, जापान र डेनमार्कले थोमस कपमा सफलता पाएका थिए। यो ब्याडमिन्टनको एलीट क्लबमा प्रवेश गर्ने भारत छैटौँ देश भएको छ। १६ राष्ट्र सम्मिलित यस प्रतियोगितामा सहभागी हुने क्रममा भारतले आफूलाई सुरुवातमै दाबेदारको रूपमा प्रस्तुत गरेको थियो।

भारतको यो दाबीलाई अन्यले पत्याएका थिएनन्। कतिसम्म भने सामान्य योनेक्स जर्सीमा खेल्ने भारत एउटा मात्र टोली थियो। अन्य सबै देशको टोलीतर्फ ठूला कम्पनी आकर्षित हुँदा भारतीय टोलीले प्रायोजक समेत पाएका थिएन। यो सफलतापछि धेरै कर्पोरेट हाउस भारतीय ब्याडमिन्टन टोलीको पछि लाग्ने अनुमान गरिएको छ।

यो भारतीय टोली २०१५ को इङ्ग्लिस फुटबलको सिजनमा लिचेस्टर सिटी जत्तिकै अन्डर डग त थिएन। परन्तु उपाधि जित्नका लागि साँच्चै हकदार पनि धेरैले मानेका थिएनन्। मलेसिया र डेनमार्कजस्ता बलिया देशलाई पार गर्दै फाइनल प्रवेश गरेपछि यसले भारतीय टोलीमा एउटा उमङ्ग नै सञ्चार भएको थियो।

क्रिकेटको दबदबा रहेको भारतका दक्षिणी प्रान्तमा अहिले पनि ब्याडमिन्टन लोकप्रिय छ। हैदारावाद र बंगलोरमा धेरै परिष्कृत शैलीका इनडोर ब्याडमिन्टन कोर्ट छन्। त्यहाँ नियमित प्रशिक्षण हुने गरेका छन्। साथमा हजारौँ युवा सुन्दर भविष्यको खोजी गर्दै एकेडेमी धाउने गरेका छन्।

टोलीमा दुई जना ओलम्पिक पदकधारी तथा दुई जना अल इंग्ल्यान्ड च्याम्पियन समावेस थिए। यो व्यक्तिगत सफलताजस्तै आवश्यक परेको समयमा राष्ट्रिय टोलीका लागि खेल्दा पनि उत्कृष्ट प्रदर्शनको पर्खाइमा भारतीय ब्याडमिन्टन वृत्त थियो। टोलीका दुई सिनीयर खेलाडी एचसी प्रेनी र श्रीकान्तले सबै खेलाडीलाई सल्लाह गर्ने तथा आवश्यक निर्देशन दिने काम गरेका थिए।

‘मैले जीवनमा यस्तो महत्त्वपूर्ण खेल खेलेको पहिलो पटक हो,’ प्रेनीले भनेका छन्, ‘एकपछि अर्को साता व्यक्तिगत खेल खेलिरहेका हाम्रा लागि टिमसँगको खेलमा भिन्न खाले रमाइलो थियो। साथमा दबाब पनि।’

उनले श्रकान्थसंँग पहिले सल्लाह गरिसकेपछि टोलीका जुनियर खेलाडीसँग अन्य विषयमा कुरा गर्ने गरेको बताए। टोलीमा कहिले काहीँ व्यक्तिगत इगो जन्मिएर प्रतिकुल असर गर्ने गरेको अनुभव विगतमा पनि नभएको होइन। यस कुरामा दुवै सिनीयर खेलाडी सचेत थिए।

थोमस कपको वरीयता प्वाइन्ट हुँदैन। साथै नगर पुरस्कार पनि नभएका कारण कसैलाई इगो राख्नु पर्ने कारण नभएको कुरा युवा खेलाडीले मनन गरेपछि टोलीको वातावरण राम्रो भएको थियो।

आइतबारको त्यो अभूतपूर्व सफलतापछि भारतीय टोलीको विजयोत्सव पनि हेर्न लायक कै थियो। पर्दामा देखिएका होइन, यस टोलीको सफलतामा पर्दा बाहिरका धेरै जनाको उत्तिकै भूमिका थियो। राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक कुमारले पनि पर्दा पछाडि बसेर निर्देशन दिने काम गरेका थिए।

कुमारको कार्यकालमा भारतीय खेलाडीले थुप्रै एकल तथा युगलस्पर्धामा सफलता पाएका थिए। टिमको रूपमा यस किसिमको सफलता पाएको थिएन। यस कारण उनलाई पनि यस पटक भारतले ठूलो सफलता पाएको हेर्न मन थियो। यसले उनलाई स्वतः स्फूर्त रूपमा टोलीको नजिक ल्याएको थियो।

‘विगतमा अल इङ्गल्यान्ड ट्रफी र ओलम्पिकको अनुभव थियो। यस पटक यो ट्र्रफी समाउन पाउँदा भिन्न अनुभव भइरहेको छ’, ट्रफी उचाल्दाको अनुभव फरक छ। गएको दशक साइना नेवाल र पिभु सिन्धुको सेरोफेरोमा भारतीय ब्याडमिन्टन घुमी रहेको थियो। यसमा पनि परिवर्तन देखिएको छ। तथापि पुरुष टोलीमा प्रतिभा नभएको भने पक्कै होइन। अल इङ्गल्यान्ड च्याम्पियनसिप र विश्व च्याम्पियनसिपको पोडीयममा उनीहरू बारम्बार उभिएका थिए। अहिले प्राप्त थोमस कपको सफलताले भारतीय ब्याडमिन्टनलाई थप उचाइ दिएको छ।

उबेर कपको क्वार्टर फाइनलमा पराजित भएपछि महिला टोली पुरुष टोलीको लागि हुटिङ गरेरै त्यहाँ बसेको थियो। सिन्धु सहितको टोलीका धेरै खेलाडी बैंककबाट फर्किने तालिका थियो।

भारत ब्याडमिन्टन एसोसिएसनले तालिका परिवर्तन गरेर त्यही राखेको थियो। महिला टोलीको साथले आफूहरू अझ उत्साहित भएको प्रेनी बताउँछन्। सिङ्गो ब्याडमिन्टन जगत एउटै घर र एउटै परिवार भएको आभास आफूहरूलाई भएको र यसले थप उत्साहित बनाएको प्रतिक्रिया उनले दिए।

प्रेनीले यसलाई एक या दुई व्यक्तिको सफलता भन्दा सिङ्गो देशको सफलता भएको प्रतिक्रिया दिएका छन्। भन्छन्, ‘यसका लागि हामीले वर्षौसम्म पर्खिराखेका थियौं। ’ उनले यो स्वर्ण पदकको सफलताको श्रेय सबैलाई जाने र यो उत्साहको समय भएको प्रतिक्रिया दिए।

भारतीय सरकारले उपाधि विजेता टोलीलाई १ करोड भारतीय रुपैयाँ पुरस्कारको घोषणा गरिसकेको छ। युवा तथा खेलकुदमन्त्री अनुराग ठाकुरले यो घोषणा गरेका हुन्।

भारतीय खेलकुदमा भिन्न समयमा भिन्न खेलको प्रभाव रहेको थियो। ६० को दशकसम्म हक्की भारतका सबैभन्दा प्रमुख खेल थियो।

क्रिकेट पनि धेरै अगाडिदेखि भारतको सबैभन्दा लोकप्रिय खेल नभएको होइन। परन्तु, सन् १९८३ को विश्वकप फाइनलमा वेस्ट इन्डिज माथिको जितसहित विश्वकप उपाधि जितेपछि अन्य धेरै खेल क्रिकेटको छायामा परेका थिए। ८० को दशकमै भारतमा विश्व बुद्धिचाल च्याम्पियन विश्व नाथन आनन्दको उदय भएको थियो।

यसले भारतको बुद्धिचालको लोकप्रियता पनि चुलिएको थियो। संयोग नै मान्नुपर्छ ८० को को दशकको अन्त्यमा आनन्द विश्व च्याम्पियन भएपछि चेस लोकप्रिय रहेको थियो । व्यक्तिगत रूपमा ब्याडमिन्टन खेलाडीले पनि केही महत्त्वपूर्ण सफलता पाएका थिए।

दक्षिण भारत आन्द्र प्रदेश ब्याडमिन्टनको मुख्य क्षेत्र बनिरहेको समयमा तामील नाडुले चेसमा त्यस्तै उपलब्धि प्राप्त गरेको छैन, संसारलाई नै आश्चर्यमा पार्ने एकेडेमी र त्यहाँको चेस संस्कारले धेरैलाई आकर्षित गरिरहेको छ।

निःसन्देह अबको वर्ष पनि भारतमा क्रिकेट नै प्रमुख खेल हो भन्ने कुरामा विमति हुन सक्दैन। तथापि, उत्तर पूर्वी राज्यको बक्सिङको प्रभाव तथा दक्षिण भारतमा ब्याडमिन्टन र चेसको प्रभाव पक्कै कम छैन। थोमस कपको यो उपाधिले ब्याडमिन्टनको प्रभावलाई पक्कै बढाउने नै छ। साथै प्रायोजक सम्झौता, पब्लिकमा खेल प्रतिको मोह र त्यो खेलको लोकप्रियतालाई थोमस कपले भारतमा पक्कै बढाउने छ भन्ने अपेक्षा गरिएको छ। श्रोतः बीबीसी, एबीपी लाइभ