काठमाडौं- इजरायल अधिनस्थ वेस्ट ब्याङ्कको जेनिन शहर नजिक शनिबार भएको झडपमा एकजना प्यालेस्टाइनी किशोरको मृत्यु भएको छ ।
इजरायली सेनासँग भएको झडमा एकजना १७ वर्षीय किशोरको मृत्यु भएको तथा अर्का एकजना १८ वर्षका किशोर गम्भीर घाइते भएका प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्यालेस्टाइनी समाचार संस्था वाफाले मारिएका किशोरको नाम अमजद अल–फयद भएको बताएको छ ।
इजरायली सेनाले भने जेनिन शहरको उत्तरपश्चिममा रहेको काफ्रदान गाउँमा संदिग्धहरूले गुडिरहेको गाडीबाट आफूहरूमाथि गोली र विष्फोटक उपकरणबाट प्रहार गरेकाले जवाफी कारबाहीमा ती किशोर मारिएको स्पष्ट गरेको छ ।
वेस्ट ब्याङ्कस्थित जेनिन क्षेत्रमा सशस्त्र प्यालेस्टाइनी समूहहरूको केन्द्रमा गत महिनादेखि लगातार छापा मारिरहेको छ । संदिग्धहरूलाई पत्ता लगाउन जारी कारवाहीका क्रममा दैनिक घातक झडपहरू भइरहेका छन् ।
यस्तै झडपमा कतारी टेलिभिजन च्यानल अल जजीराकी पत्रकार शिरिन अबु अक्लेहको हालै मृत्यु भएको थियो ।