चरिकोट– दोलखा जिल्लामा स्थानीय तहका लागि भएको निर्वाचनमा प्राप्त नतिजाअनुसार नेपाली कांग्रेस पहिलो, नेकपा (एमाले) दोस्रो र नेकपा (माओवादी केन्द्र) तेस्रो हुन पुगेको छ ।
दुई नगरपालिका, सात गाउँपालिकाका ७४ वटा वडाबाट प्राप्त मत परिणामअनुसार कांग्रेस तीन पालिका प्रमुख, तीन उपप्रमुख र २५ वडाध्यक्षमा विजयी भएको छ । त्यसैगरी दुई पालिकाका प्रमुख, पाँच उपप्रमुख र २३ वडाध्यक्षमा एमाले तथा तीन पालिका प्रमुख, एक उपप्रमुख र २१ वडाध्यक्षमा माओवादी विजयी भएको हो । त्यस्तै नेकपा (एकीकृत समाजवादी) ले एक गाउँपालिका प्रमुख र दुई वडाध्यक्ष जितेको छ भने दुई वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारले जितेका छन् ।
जिरी र भिमेश्वर नगरपालिकामा मिश्रित परिणाम आएको छ । जिरी नगरपालिकाको प्रमुख–उपप्रमुख र दुई वडाध्यक्ष एमालेबाट निर्वाचित भएका छन् भने अन्य वडामा गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । उक्त नगरको कार्यपालिकामा भने गठबन्धनको बहुमत छ । त्यस्तै भिमेश्वर नगरपालिकाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।
कांग्रेसले वैतेश्वर र कालिञ्चोक गाउँपालिका तथा भिमेश्वर नगरपालिकामा प्रमुखका साथै तामाकोशी र गौरीशङ्कर गाउँपालिकामा उपप्रमुख जितेको छ । एमालेले जिरी नगरपालिका र मेलुङ गाउँपालिकामा प्रमुख–उपप्रमुख जितेको छ भने भिमेश्वर नगरपालिका, बिगु गाउँपालिका र शैलुङ गाउँपालिकामा उपप्रमुख जितेको छ ।
माओवादी केन्द्रले शैलुङ, गौरीशङ्कर र बिगु गाउँपालिकामा प्रमुख जितेको छ भने कालिन्चोक गाउँपालिकामा उपप्रमुख जितेको छ । एकीकृत समाजवादीले तामाकोशी गाउँपालिकामा प्रमुख जितेको छ ।