तस्वीर- रोयटर्स

अन्तर्राष्ट्रिय

एसिया भ्रमणमा रहेका जो बाइडेन दक्षिण कोरिया पुगे

By खबरहब

May 21, 2022

काठमाडौं- अमेरिकी राष्ट्रपति जो बाइडेन र दक्षिण कोरियाका नवनिर्वाचित राष्ट्रपति युन सुक योलबीच शनिबार भेटवार्ता भएको छ । 

योल राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो पटक दक्षिण कोरियाको भ्रमणमा आएका बाइडेन र योलबीच राजधानी सोलमा भेटवार्ता भएको हो । उत्तर कोरियामा कोरोना भाइरसको महामारीले तीव्र रुप लिइरहेका बेला तथा उत्तर कोरियाले हतियार परीक्षणलाई बढाइरहेका बेला दुई मुलुकका राष्ट्रपतिहरूको भेटवार्तालाई महत्वका साथ हेरिएको छ । 

उनले सोल राष्ट्रिय स्मृति पार्कमा प्रार्थना गरेर भ्रमणको सुरुवात गरेको अधिकारीहरुले जनाएका छन् । त्यसपछि दुई राष्ट्रपतिका बीचमा छलफल भएको र दुवैले पत्रकार सम्मेलन गरेको जनाइएको छ । उनले आगामी आइतबार जापानको भ्रमण गर्ने कार्यक्रम रहेको छ । 

उनीहरूले आणविक हतियारसँगै रुस—युक्रेन युद्धलगायत विषयमा पनि छलफल गरेको जनाइएको छ । 

त्यसैगरी आपसी सम्बन्ध थप बलियो बनाउने, सहकार्य बढाउनेलगायतका विषयमा पनि छलफल भएको अधिकारीहरूले जनाएका छन् । 

अमेरिकी रणनीतिका लागि जापान र दक्षिण कोरिया महत्वपूर्ण देश भएकाले पनि बाइडेनले ती देशका शीर्ष नेताहरूसँग छलफल गर्नुलाई चासोका साथ हेरिएको छ ।