राजनीति

भरतपुरमा गठबन्धनकी उम्मेदवार रेनुको अग्रता कायमै

By खबरहब

May 21, 2022

चितवन- भरतपुर महानगरपालिकामा गठबन्धनका उम्मेदवारले अग्रता कायमै राखेका छन् । असी हजार १० मत गणना हुँदा पाँच दलीय गठबन्धनले आफ्नो अग्रता कायमै राखेको हो ।

गणनाअनुसार गठबन्धनबाट महानगर प्रमुखको उम्मेदवार बनेकी नेकपा (माओवादी केन्द्र) की रेनु दाहालले छ हजार ५७० मतले अग्रता लिएकी छिन भने उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले १४ हजार ४८३ मतले अग्रता लिएका छन् ।

 दाहालले ३१ हजार २४३  मत प्राप्त गर्दा नेकपा (एमाले) का विजय सुवेदीले २४ हजार ६७३ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ११ हजार तीन मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार उपप्रमुखमा अधिकारीले ३३ हजार ६५३ मत प्राप्त गर्दा राप्रपाकी हिमला गुरुङले १९ हजार १७० मत प्राप्त गरेकी छिन् । 

भरतपुरमा हालसम्म वडा नं १६ सम्मको गणना सम्पन्न भइसकेको छ ।  महानगरमा एक लाख २७ हजार ८३१ मत खसेको थियो । यस पालिकामा २९ वडा रहेका छन् ।