राजनीति

योग गर्नु भनेको शारीरिक रुपमा स्वस्थ र मानसिक रुपमा शान्त हुनु हो : मन्त्री आले

By खबरहब

June 21, 2022

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले योग गर्नु भनेको शारीरिक रुपमा स्वस्थ, मानसिक रुपमा शान्त र आध्यात्मिकरूपले उच्च चेतनायुक्त भएर जिउने कला भएको बताएका छन् ।

अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा अन्तर्राष्ट्रिय मूल समारोह समिति शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा मन्त्री आलेले मन र मस्तिष्कको सन्तुलन नै योग भएको बताए । उनले भने, ‘आम नागरिक निरोगी बन्न तथा मन र मस्तिष्कको सन्तुलन कायम गर्न योग गर्न आवश्यक छ, मानव जीवनमा योगको अत्ति नै आवश्यक रहेको छ ।’

मन्त्री आलेले सन्तुलित, शारीरिक र मानसिक रूपले संयमतापूर्वक निर्वाह गरिने मानव सम्बन्धहरुको सन्तुलन नै योगको सार भएको बताए । सजगता, संयमता र लगनशीलता जस्ता महत्वपूर्ण मूल्यहरुमार्फत सकारात्मक सोचको विकास गर्न योगले निकै मदत गर्नेसमेत उनले जानकारी गराए । मानसिक र आध्यात्मिक शान्ति र सन्तुलन मात्र नभई योगले रोग प्रतिरोधात्मक क्षमता पनि बढाउने उनले बताए । स्वस्थ, स्वास्थ्य तथा सन्तुलित सम्बन्धले व्यक्ति मात्र नभई समुदायमा समेत स्वच्छता र सहिष्णुता प्रवर्द्धन गर्ने भएकाले आम नागरिकले योग गर्न आवश्यक रहेको मन्त्री आलेको भनाइ थियो ।

उनले थप भने, ‘हामीले हाम्रो मन्त्रालय र मातहतका निकायबाट योगलाई प्रवर्द्धन गर्न विभिन्न कार्यक्रम पनि ल्याएका छौँ, योग गर्नुपर्ने बानीको विकास गर्ने छौँ ।’ अन्तर्राष्ट्रिय मूल समारोह समितिका उपसंयोजकसमेत रहेका मन्त्री आलेले योगलाई अध्ययन र सिकाइको विषय बनाई यसका बारे अध्यापन गराउन पनि आग्रह गरे ।