काठमाडौँ– कुनै समय बलिउडमा हिट अभिनेत्रीको ट्याग पाएकी शिल्पा शेट्टीको अहिलेको समय ठीकठाक छैन । टेलिभिजन शोमा जज बन्दै पुनः दर्शकसामु उदाएकी शिल्पाले दर्शक माझ पहिचान बनाइन । यद्यपि उनलाई पैसा तिरेर उनको फिल्म हलसम्म पुगेर हेर्ने कष्ट दर्शकले गरेनन् । ‘हंगामा २’ मार्फत ठूलो पर्दामा कम ब्याक गरेकी शिल्पाले दोस्रो फिल्म ‘निकम्मा’ मा पनि सफलता पाउन सकिनन् ।
शिल्पालाई दोस्रो फिल्म ‘निकम्मा’ ले पनि निराश बनाएको छ । ५० करोड हाराहारी लगानीमा बनेको यो फिल्मले पहिलो दिन ७५ लाखको व्यापार गरेको थियो । प्रदर्शनको चौथो दिनसम्ममा यो फिल्मले पनि जम्मा २ करोडको व्यापार गरेको समाचार छ । रियालिटी शो मा पुग्ने बलिउडकर्मी र दर्शकले दिने प्रतिक्रियाले हौसिएकी शिल्पा पुनः सानो पर्दामै क्रियाशील हुने सङ्केत देखिएको छ । उनी ठुलो पर्दामा पाइरहेको असफलताले बलिउड यात्रालाई सिरिज तर्फ मोड्ने सङ्केत गरेको छ ।
शिल्पाले आफूद्वारा अभिनीत फिल्म ‘अपने’ को सिक्वेलमा काम नगर्ने सङ्केत गरेकी छिन् । धर्मेन्द्र, सनी देओल र बबी देओलको अभिनय रहने फिल्मलाई अनिल शर्माले निर्देशन गर्दैछन् । फिल्ममा शिल्पालाई सनीको श्रीमतीको भूमिका अफर गरिएको थियो । फिल्मको अफर निर्देशक शर्माले गरेका थिए । यद्यपि फिल्म मार्फत लगातार फ्लप भइरहेकी शिल्पाले डेट अभाव हुने सङ्केत गरेकी छिन् ।
हाल रोहित शेट्टीको निर्देशनमा तयार भइरहेको सिरिजमा व्यस्त शिल्पा फिल्मलाई समय दिन चाह्दिनन् । शिल्पाले निर्देशक शर्मालाई ‘नो’ भन्ने सङ्केत गरेपछि सनी आफैँले कुरा गर्ने भएका छन् । सनीको प्रस्ताव पश्चात् शिल्पाले के भन्छिन् रु यो थाहा पाउन केही समय प्रतीक्षा गर्नु पर्नेछ ।