समाचार

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका प्रमुख समाचारहरू (अडियोसहित)

By खबरहब

July 21, 2022

काठमाडौँ– आज दिनभर एन्फाको दोस्रो कार्यसमितिको बैठक स्थगित, निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि अनुसन्धान गर्न ७ दिन म्याद थप, एसपीपीबारे सरकारको निर्णय संसदलाई जानकारी गराउन सभामुखको रुलिङ लगायतका समाचारले मुख्य स्थान पाए ।

यी हुन् आज दिनभरका मुख्य समाचारहरूः

छानबिन समितिको म्याद ७ दिन थप

संसदीय छानबिन विशेष समितिको म्याद सात दिन थपिएको छ । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकले समितिको म्याद सात दिन थपेको हो ।

तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९÷०८०को बजेट निर्माण गर्ने क्रममा गत १४ जेठमा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराएर करको दर हेरफेर गरेको आरोपमाथि छानबिन गर्न सो समिति गठन गरिएको हो ।

काम थालेको १० दिनभित्र आफ्नो जिम्मेवारी पूरा गर्न कार्यावधि तोकिएको थियो । तर, समय अपुग हुने भन्दै समिति सदस्यको आग्रहअनुसार सभामुख अग्निप्रसाद सापकोटाले आज म्याद थप सम्बन्धी प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्तावलाई बैठकले स्वीकृत गरेको हो ।

यस्तै बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिलाई प्रवेश दिएको विषयमा छानविन गर्न गठित संसदीय विशेष समितिले आज पूर्वअर्थमन्त्री जनार्दन शर्मासँग बयान लिएको छ ।

संसदीय विशेष छानबिन समितिले पूर्वअर्थमन्त्री शर्मासँग आज बिहान समितिको कार्यकक्षमा बयान लिएको हो ।

बयानपछि बाहिरिने क्रममा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदैँ पूर्वअर्थमन्त्री शर्माले समितिले सोधेको सबै प्रश्नको जवाफ दिएको र यसको निचोड समितिले निकाल्ने बताए ।

त्यस्तै छानबिन समितिका सचिव सुरेन्द्र अर्यालले आजको बयानमा पूर्वअर्थमन्त्री शर्माले सदनमै भनेको कुरा दोहो¥याएको बताए । शर्माले बजेट निर्माणका क्रममा कुनै पनि अनधिकृत व्यक्ति प्रवेश नगरेको बयान दिएको अर्यालले बताए ।

त्यस्तै अनधिकृत व्यक्ति प्रवेश गरेको प्रमाणका रूपमा रहेको सीसीटीभी फुटेज भने अहिलेसम्म प्राप्त गर्न नसकिएको सचिव अर्यालले बताए ।

सीसीटीभी फुटेज रिकभरी हुने सम्भावनामा नेपाल प्रहरीको फरेन्सिक प्रयोगशालामा हार्डडिस्क पठाइएको अर्यालले बताए ।

प्रहरीबाट प्राप्त हुने प्रतिवेदनका आधारमा छानबिन अघि बढ्ने उनको भनाइ छ ।

एसपीपीबारे सरकारको निर्णय संसदलाई जानकारी गराउन सभामुखको रुलिङ

सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) सम्झौताबारे सरकारले गरेको निर्णय कार्यान्वयनबारे संसद्लाई जानकारी गराउन रुलिङ गरेका छन् ।

आजको बैठकमा सत्तारूढ दलकै सांसदसहित अन्य सांसदले पनि एसपीपी सम्झौता रद्द गर्ने सरकारको निर्णय कार्यान्वयन नभएकोबारे आपत्ति जनाउँदै सरकारलाई रुलिङ गर्न माग गरेका थिए ।

सांसदहरूको मागपछि सभामुख सापकोटाले सरकारलाई एसपीपीबारे मन्त्रिपरिषद्ले गरेका निर्णय र त्यसको कार्यान्वयनबारे संसद्लाई जानकारी दिन रुलिङ गरेका हुन् ।

संघीय व्यवस्था देशले धान्न नसकेको पुष्टि भइसक्योः राजेन्द्र लिङ्देन

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले खर्चिलो, अव्यावहारिक संघीय व्यवस्था देशले धान्न नसक्ने पुष्टि भएको बताएका छन् ।

आजबाट काठमाडौंमा सुरु दुई दिने केन्द्रीय समिति बैठकमा अध्यक्ष लिङ्देनले जनप्रतिनिधि र प्रशासनिक खर्चको भार बोझिलो हुँदाहुँदै करको दायराले जनताको जनजिवन नै प्रभावित भएको भन्दै अव्यावहारिक संघीय व्यवस्था देशले धान्न नसक्ने पुष्टि भएको बताएका हुन ।

उनले राजसंस्थालाई बहिष्करण गरेकैका कारण शान्ति प्रक्रियाले हालसम्म पनि पूर्णता पाउन नसकेको तर्क गरे । चर्को मूल्य वृद्धि र बजार घाटा, वैदेशिक मुद्राको अल्प संचिति, असन्तुलित आयात निर्यातको दर उत्तिकै कहालिलाग्दो रहेको उनको भनाइ छ ।

उनले ठूला भनिएका दलहरुकै कारण मुलुकमा भ्रष्टचार व्याप्त बनेको र मुलुकमा आर्थिक समस्या देखा परेको तर्क गरे ।

बैठकमा लिङ्देनले प्रारम्भिक समसामयिक राजनीतिक परिवेश र भावी कार्ययोजना पेस गरेका थिए ।

अहिलेको निर्वाचन प्रणाली खर्चिलो भयोः कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले अहिलेको निर्वाचन प्रणाली खर्चिलो भएकाले समानुपातिक निर्वाचन प्रणालीमा जानु उपयुक्त हुने बताएका छन् ।

आज पार्टीद्वारा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने आफ्नो पार्टीको मान्यता रहेको उल्लेख गर्दै पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुनुपर्र्ने तर्क गरे ।

त्यस्तै केन्द्रीय सरकार र स्थानीय सरकारलाई बढी अधिकार सम्पन्न बनाउनुपर्ने उल्लेख गर्दै अध्यक्ष थापाले प्रदेश सरकारको आवश्यक्ता नरहेको बताए ।

अध्यक्ष थापाले राष्ट्रवादी शक्तिबीचको बलियो एकताबाट मात्रै मुलुकको समृद्धि र विकास सम्भव हुने बताए । उनले आफ्नो पार्टी मुलुकको वैकल्पिक राजनीतिक शक्ति भएको दाबी समेत गरे ।

गठबन्धनलाई कायम राख्दै वाम शक्तिबीच एकताः माधवकुमार नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनलाई कायम राख्दै वाम शक्तिहरूलाई एकताबद्ध गर्ने बताएका छन् ।

आज काठमाडौंमा निर्वाचित जनप्रतिनिधिहरूलाई अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले गठबन्धनलाई कायम राख्दै वाम शक्तिहरूलाई एकता बनाउँदै कम्युनिस्ट आन्दोलनमा जुटेकासँग संवाद गर्दै अगाडि बढ्ने बताएका हुन् ।

उनले अहिले आफ्नो पार्टी प्रति आकर्षण बढ्दै गएको जिकिर गरे । उनले अबको निर्वाचनमा समानुपातिकतर्फ २० लाख मत भन्दा बढि ल्याउने गरी तयारीमा जुट्न कार्यकर्तालाई पनि निर्देशन दिए ।

उनले प्रत्येक प्रदेशमा पार्टी स्कुलको व्यवस्था गर्ने र पार्टीको विचार र नीतिका बारेमा प्रशिक्षण गर्ने जिकिर गरे ।

किसानलाई तत्काल मल उपलब्ध गराउन लोसपा सांसदको माग

लोकतान्त्रिक समाजवादी पार्टीका सांसद बृजेशकुमार गुप्ताले किसानलाई तत्काल मलको व्यवस्थापन गर्न सरकारसँग माग गरेका छन् ।

त्यस्तै उनले पानीको अभावले किसानले आत्महत्या गर्नुपर्ने अवस्था आएकाले किसनालाई तत्काल राहतको व्यवस्था गर्न पनि माग गरेका छन् ।

प्रतिनिधि सभाको आजको बैठकको शून्य समयमा बोल्दै उनले उक्त माग गरेका हुन् ।

सार्वजनिक विदाको दिनमा चल्ने सरकारी गाडीको चाबी नखोस्न निर्देशन

गृह मन्त्रालयले सार्वजनिक विदाको दिनमा चल्ने सरकारी सवारी साधनको चाबी नखोस्न निर्देशन दिएको छ ।

सार्वजनिक विदामा चलेका सरकारी सवारी साधनको चाबी विभिन्न समूहले खोसेपछि गृहसचिव स्तरीय बैठकले उक्त निर्देशन जारी गरेको हो ।

गृहले प्रहरी प्रधान कार्यालय र सबै जिल्ला प्रशासन कार्यालयलाई पठाएको पत्रमा केही दिनदेखि सार्वजनिक विदाको दिन सरकारी सवारी साधन चलाएको भन्दै विभिन्न समूहको नाममा सवारी साधन रोक्ने, चाबी खोस्नेलगायतका गतिविधिहरु भइरहेको उल्लेख गरिएको छ ।

झण्डावाल सवारी साधन, सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन, एम्बुलेन्स, दमकल जस्ता अत्यावश्यक सवारी साधनहरुलाई सार्वजनिक विदाको दिन चलाउन सवारी पास आवश्यक नपर्ने हुँदा सोही बमोजिम आवश्यक व्यवस्था मिलाउन गृहले भनेको छ ।

अत्यावश्यक सेवाका बाहेक अन्य सरकारी सेवाका सवारी साधन विदाको दिन समेत चलाउनुपर्ने भएमा अनिवार्य सवारी पास लिएर मात्र चलाउन गृहले भनेको छ ।

गभर्नरको राजीनामा माग्दै आज पनि विरोध

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै आज माइतीघरमा कार्टुन प्रदर्शनसहित विरोध कार्यक्रम आयोजना गरिएको छ ।

नेपाल विद्यार्थी संघ, माओवादी समर्थित अखिल क्रान्तिकारी र नेकपा एस समर्थित अनेरास्ववियूका विद्यार्थीहरुले संयुक्त रुपमा विरोध प्रदर्शन गर्दै राजीनामा माग गरेका हुन् ।

नेकपा एमालेको अर्थ तथा वाणिज्य विभागमा सदस्य रहेका एम अधिकारी र गर्भनर अधिकारी एकै व्यक्ति भएको भन्दै उनीहरुले राजीनामा मागेका हुन् । विरोध प्रर्दशनसँगै आयोजित सभालाई नेविसंघका दुजाङ्ग शेर्पा,क्रान्तिकारीकी पन्चा सिंह र अनेरास्ववियुका सुदेस पराजुलीले सम्बोधन गरेका थिए । प्रदर्शनकारीहरूले गभर्नरको राजीनामा वा बर्खास्तीको माग राख्दै व्यंग्यचित्र समेत प्रदर्शन गरेका थिए ।

नेपालमा थप ४ सय ३५ जनामा कोरोनासंक्रमण पुष्टि

नेपालमा थप ४ सय ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

देशभर १ हजार ६६७ पीसीआर तथा १ हजार ९०२ एन्टिजेन परीक्षण गर्दा ४३५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ५६ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर २ हजार ५ सय ३५ कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

वर्षा र गर्मीका कारण लमजुङमा बिरामीको संख्या बढ्यो

वर्षा र अत्याधिक गर्मीका कारण जिल्ला अस्पताल लमजुङमा दैनिक ज्वरो, झाडापखाला र रुघाखोकीको समस्या लिएर आउने बिरामीको संख्या बढेकोे छ ।

अस्पतालमा विभिन्न स्वास्थ्य समस्या लिएर आउने बिरामी मध्ये पछिल्लो समय वढि मात्रामा झाडापखला र ज्वरोको समस्या भएका बालवालिकाहरु उपचारका लागि आएको अस्पताल प्रमुख हेमन्त श्रेष्ठले बताए ।

उनका अनुसार अहिले दैनिक ५० देखि ६० जना बालवालिका उपचारको लागि अस्पताल आउनेको अस्पतालको तंथ्याक छ । उनीहरुमा वढि मात्रामा झापखला, ज्वरो, रुघाखोकी, रगतमासिको समस्या देखिएको छ ।

वर्षा हुदाँ केहि चिसो र वर्षा नहुँदा अत्यधिक गर्मीका कारण र खानपानमा ध्यान नदिँदा बालबालिकामा वढी मात्रा मौसमी स्वास्थ्य समस्या देखा परेको चिकित्सकको भनाइ छ ।

यस्ता स्वास्थ्य समस्या आउन नदिन तथा फैलन नदिन सरसफाइमा ध्यान दिन, ताजा खानेकुरा खान र पानी उमालेर तथा फिल्टर गरी पिउन चिकित्सकको सुझाव छ ।

डोटीको सलेनामा मदिरा बेच्न नपाइने

डोटी जिल्लाका स्थानीय तहले मदिरा सेवन तथा बिक्री वितणसमेत रोक्ने निर्णय गरेका छन् ।

केआईसिंह गाउँपालिकाको वडा नम्बर ७ सलेनाले मदिरा बिक्री वितरण तथा सेवन गर्नेलाई ढुङ्गा बोकाउने निर्णय गरेको छ ।

उक्त वडामा कसैले मदिरा सेवन गरे १५ दिन र विक्री गर्नेलाई वडा कार्यालयसम्म एक महिना ढुङ्गा बोकाउने निर्णय गरिएको वडाध्यक्ष दिलबहादुर बलायरले जानकारी दिए ।

वडामा मदिरा बिक्री वितरण गर्दै आएका व्यापारी तथा वडावासीसँगको छलफलपश्चात् उक्त निर्णय गरिएको उनको भनाइ छ । वडामा सञ्चालन हुने गाडीमा मदिरा ओसारपसार गर्नेलाई समेत एक महिना गाडी ‘होल्ड’ राख्नुपर्ने निर्णयसमेत गरेको वडा कार्यालयले जनाएको छ ।

यसैगरी आदर्श गाउँपालिकाले यही साउन १ गतेदेखि मदिरा बिक्री वितरण तथा सेवनमा पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको छ । गाउँपालिकाका अध्यक्ष गणेश खड्काले मदिरा ओसारपसार गर्नेलाई ४० हजार जरिवाना तथा बिक्री वितरण गर्नेलाई ३० हजार जरिवाना गर्ने निर्णय गरिएको जानकारी दिए ।

यसैगरी मदिरा सेवन गर्नेलाई पहिलोपटक दुई हजार ५०० र दोस्रो पटक सेवन गर्नेलाई पाँच हजार जरिवाना तोक्ने निर्णय गरिएको छ ।

पर्वतमा डेङ्गुका बिरामी भेटिए

पर्वतमा दुई जनामा डेङ्गु रोगको सङ्क्रमण फेला परेको छ । उपचारका लागि जिल्ला अस्पताल आएका दुई जनामा डेङ्गु सङ्क्रमण रहेको पुष्टि भएको हो ।

स्वास्थ्यमा समस्या आएपछि परीक्षणका लागि आएकामध्ये दुई जनामा डेङ्गुको सङ्क्रमण रहेको बुधबार पुष्टि भएको अस्पतालका सूचना अधिकारी लक्ष्मण उपाध्यायले जानकारी दिए ।

उनीहरू दुवै जना कुश्मा नगरपालिकाका बिरामी रहेको अस्पतालले जनाएको छ । घरमा बसिरहेको अवस्थामा लगातार ५÷७ दिनसम्म ज्वरो आएपछि उपचारका लागि आएका उनीहरूमा सङ्क्रमणको शंकामा प्रयोगशालामा गरिएको परीक्षणबाट डेङ्गु रहेको पुष्टि भएको हो । दुवै जनाको उपचार भइरहेको छ ।

अवैध गोदाममा छापा

काठमाडौं महानगरपालिका वडा नम्बर ७ सरस्वतीनगरस्थित एक घरमा रहेको अवैध गोदाममा प्रहरीले छापा मारेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोदाममा छापा मारेको हो । अवैध सामान भण्डारण गरेर राखेको सूचनाका आधारमा पुगेको प्रहरी टोलीले गोदाममा छापा मार्दा विभिन्न ब्रान्डका विदेशी चुरोट, गुट्खा, हुक्का फ्लेबर, अक्सिमिटर र पटका लगायत १ करोड मूल्य बराबरको अवैध सामान बरामद भएको कार्यालयका एसपी कृष्ण कोइरालाले जानकारी दिए ।

उनले सामान भन्सार छलेर ल्याइएको पाइएको भन्दै गोदामका मालिक पर्साको प्रसौनी गाउँपालिका १ घर भएर कपन बस्ने छविलाल अगस्तीलाई पक्राउ गरिएको बताए । अगस्तीले सिजल एण्ड सुजता टेण्ड्रिङ प्रालि भनेर दर्ता गरेको फर्मको गोदाममा उक्त परिणामको अवैध सामान बराम गरिएको हो ।

अवैध सामानसहित पक्राउ परेका अगस्तीलाई थप अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान विभाग पठाइने कोइरालाले बताए ।

बरामद सामान पटका पनि भएकाले विस्फोटक पदार्थ ऐनसम्बन्धी कसुरमा उनीविरुद्ध मुद्दा चलाइने कोइरालाले बताए ।

नेप्से परिसूचक घट्यो

शेयर बजार परिसूचक नेप्से आज पाँच दशमलव ८७ अङ्कले घटेर दुई हजार ४४ दशमलव ७२ विन्दुमा झरेको छ ।

आज बैंकिङ र अन्य समूहको शेयर सामान्य बढे पनि अरू सबै समूहको शेयर घटेको छ । दुई सय २५ वटा कम्पनीका ३९ लाख आठ हजार कित्ता शेयर एक अर्ब ६४ करोड २६ लाख रुपैयाँमा कारोबार भएको छ ।

सबैभन्दा धेरै शिवम् सिमेन्टको १७ करोड रुपैयाँको शेयर किनबेच भयो । आज किसान लघुवित्तको शेयर झन्डै साढे पाँच प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि सेन्ट्रल फाइनान्सको शेयर भने तीन प्रतिशतभन्दा धेरैले बढेको छ ।

वायुसेवा निगमले गर्‍यो १ अर्ब ३५ करोड भुक्तानी

नेपाल वायु सेवा निगमले पछिल्लो पटक २०७९ असार ३० गते कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्नुपर्ने ऋण दायित्वको किस्ताबापतको एक अर्ब ३५ करोड रुपैयाँ भुक्तानी गरेको छ ।

कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट जहाज खरिदका निम्ति ऋण लिएकोमा कर्मचारी सञ्चय कोषलाई न्यारोबडी जहाज खरिदबापतको ४५ करोड र वाइडबडी जहाज खरिदबापतको ४५ करोड रुपैयाँ गरी जम्मा ९० करोड किस्ताबापतको रकम भुक्तानी गरिएको निगमले जनाएको छ ।

त्यसैगरी नागरिक लगानी कोषलाई पनि बाइडबडी जहाज खरिद गर्दाको ऋण दायित्वको किस्ताबापतको ४५ करोड रुपैयाँ भुक्तानी भएको छ ।

पछिल्लो समय कोरोनासम्बन्धी स्वास्थ्य मापदण्डमा आएको विश्वव्यापी खुलापनसँगै अन्तर्राष्ट्रिय उडानमा सहजता, सिट अकुपेन्सी दरमा सुधार, उडानमा भएको सामान्यीकरण तथा नियमिततासँगै आम्दानीमा समेत तुलनात्मक बढोत्तरी भएको कारण किस्ता तिर्न सहज भएको निगमले जनाएको छ ।

एन्फाको दोस्रो कार्यसमितिको बैठक स्थगित

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को दोस्रो कार्यसमितिको बैठक स्थगित भएको छ ।

ललितपुरको एन्फा मुख्यालयमा आज बसेको बैठक एजेण्डामा प्रवेश नै नगरि स्थगित भएको हो । दोस्रो कार्यसमिति बैठकमा विभिन्न १८ एजेण्डा तय भएका थिए ।

एन्फा मुख्यालयमा बिहान सात बजे बैठक बस्ने भनिए पनि बैठक ढिलो गरी सुरु भएको थियो । ढिलो गरी सुरु भएको बैठक एजेण्डामा प्रवेश नगरी स्थगित भएको वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले जानकारी दिए ।

पहिलोपटक एजेण्डा र सूचनासहित एन्फा कार्यसमितिको बैठक डाकिएको थियो । यसअघि गएको सोमवारका लागि तय भएको बैठक अध्यक्ष पङ्कजविक्रम नेम्वाङ अचानक बिरामी परेपछि स्थगित भएको थियो ।

चुनावपछि भएको शपथ ग्रहण लगत्तै बसेको पहिलो बैठकले विवादास्पद रुपमा केही महत्त्वपूर्ण निर्णय गरेपछि आलोचित भएको नयाँ नेतृत्वको दोस्रो बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।