अन्तर्राष्ट्रिय

रुसको गोलाबारीमा जब म चढेको हेलिकोप्टर उड्यो…

By हिमाल कोइराला

August 21, 2022

(रुस–युक्रेन युद्धका क्रममा घरबाट भागेका मानिसहरुको खोजी गर्न राजधानी किभबाट उडेको सरकारी हेलिकोप्टरमा रहेका टोलीका सदस्य जेम्स वाटरहाउसले लेखेको यो स्टोरी बीबीसीबाट लिइएको हो – सम्पादक)

काठमाडौँ – युक्रेनमा सरकारी अधिकारीहरुले छोटो समयका लागि सूचना दिएर कसैलाई कतै लैजानु अस्वभाविक मानिन्छ । यस्ता सूचनामा कुनै विस्तृत विवरण पनि दिइएको हुँदो रहेनछ ।

यसको सबैभन्दा मुख्य कारण चाहीँ सुरक्षा नै हो । अर्को मुलुकले आक्रमण गरिरहेको अवस्थामा कोही मन्त्री कतै जान लागिरहेका छन् भने यस्तो संवेदनशील सूचना प्रकाशित गर्नु उपयुक्त पनि हुँदैन ।

हामीले युक्रेनी अधिकारीले दिएको निम्तो स्वीकार गर्यौँ र हामीलाई राजधानी किभ नजिकै रहेको विमानस्थल लगियो। त्यहाँबाट हामी र अरु केही पत्रकारलाई हेलिकोप्टरमा हुलियो ।

तर, यतिबेलासम्म आइपुग्दा हामी जापोरोज्जिया सहरतर्फ जान लागेको थाहा भइसकेको थियो । त्यहाँ रुसी आक्रमणका कारण युरोपेली महादेशकै सबैभन्दा ठूलो आणविक केन्द्रमा जोखिम उत्पन्न भएको समाचार सार्वजनिक भएका छन् ।

यात्रा सुरु भएको ३० सेकेण्ड पनि नबित्दै हामीलाई हेलिकोप्टर चढ्नुअघि किन वाकवाकी नलाग्ने चक्कीहरु दिइएको रहेछ भनेर थाहा पाइयो ।

दुश्मनको हतियारबाट बच्नका लागि हाम्रो हेलिकोप्टर स्थल सतहभन्दा केबल १० मिटरको उचाइमा उडिरहेको थियो । कहिलेकहीँ त विद्युतीय तारमाथिबाट समेत हेलिकोप्टर उड्थ्यो ।

हेलिकोप्टरबाट हेर्दा सूर्यमुखी फूल रोपिएका अनन्त खेतबारी देखिन्थ्यो । त्यसपछि सयौँ हजारौँ लाखौँ भीमकाय रुखको घना जङ्गल । जङ्गलमाथि उड्दा रुखको टुप्पोले हेलिकोप्टरलाई छोइएला कि जस्तो भान हुन्थ्यो ।

युक्रेनको विशाल भौगालिक बनोट जे होस्, धेरै नै सुन्दर छ ।

जापोरिज्जियामा अवतरण भएपछि दुई वटा कुरा स्पष्ट हुन्छन् । यो सहरको क्षितिजमा किभभन्दा धेरै औद्योगिक संरचना देखिन्छ र अर्को हो – आद्रता ।

अवतरण भएपछि हामी स्थानीय सुपरमार्केटको कार पार्किङ गर्ने स्थानमा पुग्यौँ । यहाँ आपतकालीन कामदारहरुले पूरै शरीर ढाकिने पहेँलो सुरक्षा पोसाक लगाएका थिए । उनीहरु यहाँ रेडियोधर्मी विकिरण चुहिएको खण्डमा गरिने अभ्यासको प्रशिक्षण लिइरहेका थिए ।

प्रशिक्षणलाई वरिष्ठ अधिकारीहरुले निरीक्षण समेत गरेका थिए । ती अधिकारीहरु सबैभन्दा खराब अवस्था उत्पन्न भएको खण्डमा प्रतिकार्यका लागि यस क्षेत्र कतिको तयारीबारे निश्चित हुन चाहन्थे ।

‘अवश्य पनि, हामी चिन्ति छौँ’ युक्रेनका उर्जामन्त्री हर्मन हालुश्चेन्कोले मसँग भने, ‘५ अगष्टमा रुसीहरुले गोलाबारी थालेयता अवस्थामा ठूलो परिवर्तन आएको छ ।’

युक्रेनी पक्षले उक्त परमाणु केन्द्रको अवस्था ‘गम्भीरतातर्फ अग्रसर’ रहेको टिप्पणी गरेका छन् । रुसी फौजले यो केन्द्रलाई मार्च महिनादेखि कब्जामा लिएका छन् ।

आणविक जोखिमका कारण उक्त परमाणु केन्द्रको नियन्त्रण युक्रेनलाई फिर्ता गर्न रुसमाथि चौतर्फी दबाब परेको छ । सो केन्द्रका कर्मचारीले आफूहरुलाई ‘बन्दुकको निशाना’ मा राखिएको समेत आरोप लगाएका छन् ।

पछिल्ला दुई सातायता यस केन्द्रलाई लक्षित गरी बारम्बार गोलाबारी हुँदै आएका छन् । गोलाबारीका विषयमा दुबै मुलुकले एक अर्कामाथि आरोप प्रत्यारोप गरिरहेका छन् ।

उत्तर एटलान्टिक सन्धी संगठन नेटोले समेत यस अणविक केन्द्रमा संयुक्त राष्ट्रसंघका निरीक्षकलाई जान अनुमति दिइनुपर्ने आह्वान गरेको छ । यस केन्द्रको सुरक्षामा तलमाथि भएको खण्डमा यसले युक्रेनसहित छिमेकी मुलुकलाई प्रभावित बनाउने नेटोको दाबी छ ।

युक्रेनी अधिकारीले यस आणविक ऊर्जा केन्द्रबाट उत्पादन हुने विद्युतलाई अन्तै लैजाने प्रयास गरिरहेको जनाएका छन्। उनीहरुका अनुसार रुसले यस आणविक केन्द्रबाट उत्पादित विद्युतलाई आठ वर्षअघि युक्रेनबाट आफ्नो मुलुकमा विलय गराएको क्राइमिया प्रायद्विपतर्फ लैजाने प्रयास गरिरहेको छ ।

‘त्यहाँ रुसी फौज तैनाथ रहेसम्म आणविक उर्जा केन्द्रको सुरक्षा प्रत्याभूती गर्न सम्भव छैन ।’ युक्रेनका आन्तरिकमन्त्री डेनिस मोनास्टिस्र्कीले भने, ‘यो चाहीँ महत्वपूर्ण चासो हो, यसलाई सबैले बुझ्न जरुरी छ ।’

आपतकालीन कर्मचारीले प्रशिक्षण लिइरहेको यो कार पार्कमा रुसी आक्रमणबाट भागेर आएका मानिस पनि बस्छन् । यहाँ मान्छेका शव र सामानहरु कोचिएका सुटकेसले भरिएका कारको लाम देख्न सकिन्छ ।

छायाँमा एकछिन सितल तापिरहेका बेला हामीले ओलेनालाई भेट्यौँ । ओलेना नजिकैको एनारहोदर सहरबाट भागेर आएकी रहिछन् ।

‘यो डरलाग्दो, धेरै डरलाग्दो छ, जहिल्यै पनि गोलाबारीमात्रै भइरहन्छ’ उनले सुनाइन्, ‘त्यहाँ अरु पनि विस्फोट भएका थिए र अहिले त्यहाँ बस्नु निकै खतरनाक छ ।’

उनी धेरै बोलिनन् । जति बोलिन् त्यो बुझ्न कठिन थिएन । वास्तवमै उनले युद्धको बेला भोगेको पीडा कति भयानक थियो, त्यो उनी विस्तारमा सुनाउन चाहन्थिन् ।

‘मलाई घर छाड्ने मन त थिएन’ उनले भनिन्, ‘तर मसँग अर्को विकल्प नै थिएन ।’

रुसी फौजलाई युरोपेली महादेशकै सबैभन्दा ठूलो आणविक केन्द्रबाट लखेट्न असफल भएपछि युक्रेनी पक्षले अहिले सम्भावित सबैभन्दा खराब परिस्थितीको सामना गर्ने तयारी गरिरहेको छ ।