तस्वीर- गेटी इमेज

अन्तर्राष्ट्रिय

सोमालियाको होटलमा अल शबाबको आक्रमणपछि जारी हिंसा अन्ततः ३० घण्टापछि समाप्त, ४० जनाको मृत्यु

By रासस

August 21, 2022

काठमाडौँ- अल शबाब आतङ्ककारीहरूले अफ्रिकी मुलुक सोमालियाको राजधानी मोगादिसुको हयात होटलमा गरेको आक्रमणपछि जारी हिंसा अन्ततः समाप्त भएको छ ।

सरकारी सेनालाई उद्धृत गर्दै सञ्चारमाध्यमहरुले दिएको जानकारीअनुसार अल शबाब आतङ्ककारीले गराएको आक्रमणको झण्डै ३० घण्टापछि हिंसा अन्त्य भएको हो ।

अल शबाब आतङ्ककारीहरूले गरेको आक्रमणमा ४० जनाको मृत्यु हुनुका साथै ७० भन्दा बढी घाइते भएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार सुरक्षा अधिकारी र आक्रमणकारीहरूबीच झण्डै ३० घण्टासम्म गोली हानाहान भएको थियो ।

अल कायदा आतङ्ककारी समूहसँग आबद्ध अल शबाबले सोमालियाको सरकारविरुद्ध सशस्त्र सङ्घर्ष गरिरहेको छ । अल शबाबले अझै पनि देशको दक्षिणी र मध्य भागमा ठूलो भूभागमा नियन्त्रण गरिरहेको छ ।

यता, भारतले मोगादिसुको हयात होटलमा भएको आक्रमणको कडा शब्दमा निन्दा गरेको छ । यसले पीडित परिवारप्रति हार्दिक समवेदना पनि व्यक्त गरेको छ । भारत सोमालियाको सरकार र जनताको आतङ्कवादविरुद्धको लडाईमा साथ रहने आश्वासन दिएको छ ।