देश/प्रदेश

डा. केसी थप उपचारका लागि काठमाडौँ जान तयार 

By खबरहब

September 21, 2022

धनगढी- सेती प्रादेशिक अस्पतालमा १० दिनदेखि अनसनरत डा. गोविन्द केसीलाई थप उपचारको लागि काठमाडौँ लैजाने तयारी सुरु भएको छ ।

अस्पतालले केही दिनअघि नै उनको स्वास्थ्य अवस्था बिग्रिएको र थप उपचारको लागि सुविधा सम्पन्न अस्पताल लैजान रेफर गरिसकेको थियो । तर, गोविन्द केसीले भने माग पूरा नभई अन्य स्थानमा नजाने अडान लिँदै आएका थिए ।

सिनियर डाक्टरहरूले उनलाई आज सम्झाइ बुझाइ गरेपछि काठमाडौँ जाने मनस्थितिमा रहेको उनको उपचारमा संलग्न एक चिकित्सकले बताए ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले पनि आज उनलाई जसरी पनि काठमाडौं लैजाने बताए । उनले भने, ‘साधन केमा लैजाने भन्ने टुङ्गो नलागे पनि उनलाई आज लैजान्छौँ ।’ उपचारमा संलग्न चिकित्सकहरूका अनुसार उनको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । फोक्सोमा संक्रमण, सुगर लेभल कम, रक्तचाप घटेको चिकित्सकहरूले बताए । यस्तै आमाशयमा पनि रक्तस्राव भएको चिकित्सकहरूले बताएका छन् ।

समग्र स्वास्थ्य शिक्षाको सुधारको माग गर्दे उनी २० औँ पटक अनसनमा बसेका हुन् । उनले यसअघि सरकारले गरेका सहमति कार्यान्वयनमा जोड लिएका छन् ।