काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नागरिकता विधेयक पारित नगर्ने राष्ट्रपतिको कदमविरुद्ध कानूनी उपाय खोजिने बताएका छन् ।
बुधबार काठमाडौंमा पार्टी निकट युवा संघ नेपालको बैठकपछि सञ्चारकर्मीसँग कुरा गदै अध्यक्ष नेपालले संवैधानिक व्यवस्थालाई उल्लंघन गरेर राष्ट्रपतिले राम्रो काम नगरेको र नजिर पनि राम्रो नबसेको भन्दै कानूनी उपाय खोजिने बताएका हुन् ।
कानूनी उपाय खोज्ने बारेमा गठबन्धनमा छलफल भइरहेको पनि उनले बताए । उनले राष्ट्रपतिले अहिले संविधान नै उल्लंघन गरेका कारण भविष्यमा पनि कानून उल्लंघन गर्ने सम्भावना देखिएको तर्क गरे । अध्यक्ष नेपालले नागरिकता विधेयकका विषयमा अध्यादेशमा जान नहुने धारणा पनि राखे ।
त्यसअघि कार्यक्रममा अध्यक्ष नेपालले सीट बाँडफाँडमा कांग्रेसले दम्भ देखाएको बताए । उनले कांग्रेसमा देश नै आफ्नो पेवा ठान्ने जस्तो प्रवृत्ति देखिएको समेत जिकिर गरे । अध्यक्ष नेपालले शक्ति बढ्दा कुरा ठूला आउने र कमजोर हुँदा सबैले हेप्ने भएकाले पार्टीलाई बलियो बनाउनुपर्ने बताए ।
त्यस्तै उनले सीट बाँडफाँडमा सहमतिको अन्तिम प्रयास जारी रहेको धारणा बताएका छन् ।