फाइल तस्वीर- एएनआई

अन्तर्राष्ट्रिय

६ वर्षे बाढीपीडित बालिकाको भोकमरीबाट मृत्यु भएपछि पाकिस्तानमा प्रदर्शन

By खबरहब

September 21, 2022

काठमाडौँ- बाढी प्रभावित पाकिस्तानमा भोकमरीका कारण एकजना ६ वर्षे बालिकाको मृत्यु भएपछि आक्रोशित बाढीपीडितले प्रदर्शन गरेका छन् ।

पाकिस्तानको सिन्ध प्रान्तस्थित पटनी जिल्लामा निर्माण गरिएको अस्थायी शिविरमा ६ वर्षे बालिकाको भोकमरीका कारण मृत्यु भएको बताइएको छ ।

बालिकाको मृत्यु भएपछि सिन्धको सुक्कुर जिल्लामा बाढीपीडितले सरकारविरुद्ध प्रदर्शन गरेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

पाकिस्तानबाट प्रकाशित हुने डन अखबारले जनाएअनुसार अधिकारीले खाना र सहायता सामग्री उपलब्ध नगराएका कारण ती बालिकाको मृत्यु भएको प्रदर्शनकारीको आरोप छ ।

बाढीले सबै सामान बगाएपछि पीडितहरु ज्याकोबावाद सहरबाट सुक्करमा आएको डनले जनाएको छ ।

‘अधिकारीहरु तथ्यांकमात्रै संकलन गर्न आए, तर उनीहरुमध्ये कसैले पनि यहाँ खाना, पाल, लामखुट्टेविरुद्धको झुल र अरु आवश्यक सामान ल्याएनन् ।’ प्रदर्शनकारीालाई उद्धृत गर्दै डनले जनाएको छ ।

यसबाहेक कुनै पनि चिकित्सक विस्थापित शिविरमा आएर कसैको पनि स्वास्थ्य जाँच नगरेको प्रदर्शनकारीको आरोप छ ।