देश/प्रदेश

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू (अडियोसहित)

By खबरहब

September 21, 2022

काठमाडौँ- आज दिनभर राष्ट्रपतिको कदम असंवैधानिक भएको गठबन्धनको निष्कर्ष, राष्ट्रपतिको कदम बिरुद्ध कानूनी उपाय खोजिने, राष्ट्रपतिको पक्षमा युवा संघद्वारा प्रदर्शन, टुकुचा खोला उत्खनन् सम्बन्धी रिटमा प्रमाण झिकाउन आदेश, भन्सार छली ल्याउँदै गरेको १ सय ग्राम सुन सहित ३ जना पक्राउ लगायतका समाचारले प्रमुख स्थान पाए ।

यी हुन् आज दिनभरका मुख्य समाचारहरू:

राष्ट्रपतिको कदम असंवैधानिक भएको गठबन्धनको निष्कर्ष सत्ता गठबन्धनका चार दलले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमविरुद्ध विज्ञप्ति जारी गरेका छन् ।

राष्ट्रिय जनमोर्चा नेपालबाहेकका सरकारमा सहभागी चार दल सहभागी आज बिहानको संयुक्त बैठकले गरेको निर्णय अनुसार संयुक्त विज्ञप्ति जारी गरिएको हो ।

‘प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पुनः पारित भई प्रमाणिकरणका लागि सम्माननीय राष्ट्रपतिसमक्ष पेश भएको नागरिकता विधेयक संविधानले सुनिश्चित गरेको १५ दिनको समयसीमाभित्र प्रमाणिकरण नगरेर राष्ट्रपतिले संविधानको पालना र संरक्षण गर्नु पर्ने कर्तव्यको संवैधानिक व्यवस्थामाथि नै प्रहार गरेको ठहर गर्दछौँ ।’ विज्ञप्तिमा भनिएको छ, राष्ट्रपतिको यो कदमबाट एकातिर नागरिकता प्राप्त गरिसकेका नेपाली आमा(बाबुका सन्तानले नेपाली नागरिकता प्राप्त गर्ने संवैधानिक हकबाट बञ्चित भएका छन् भने अर्कोतिर संविधान सभाबाट निर्मित संविधानले व्यवस्था गरेको जनतामा निहित सार्वभौमसत्ता, संवैधानिक सर्वोच्चता र लोकतान्त्रिक शासन व्यवस्थाका आधारभुत मूल्य मान्यतामा गम्भीर प्रहार भएको यो बैठक ठहर गर्दछ।’

राष्ट्रपतिको कदम बिरुद्ध कानूनी उपाय खोजिने नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नागरिकता विधेयक पारित नगर्ने राष्ट्रपतिको कदम बिरुद्ध कानूनी उपाय खोजिने बताएका छन ।

काठमाडौंमा आज पार्टी निकट युवा संघ नेपालको बैठकपछि सञ्चारकर्मीसंग कुरा गदै अध्यक्ष नेपालले संवैधानिक व्यवस्थालाई उलंघन गरेर राष्ट्रपतिले राम्रो काम नगरेको र नजिर पनि राम्रो नबसेको भन्दै कानूनी उपाय खोजिने बताए । कानूनी उपाय खोज्ने बारेमा गठबन्धनमा छलफल भइरहेको पनि उनले बताए । उनले राष्ट्रपतिले अहिले संविधान नै उलंघन गरेका कारण भविष्यमा पनि कानून उलंघन गर्ने संभावना देखिएको तर्क गरे । त्यसअघि कार्यक्रममा अध्यक्ष नेपालले सीट बाँडफाँटमा कांग्रेसले दम्भ देखाएको बताए ।अध्यक्ष नेपालले शक्ति बढ्दा कुरा ठूला आउने र कमजोर हुँदा सवैले हेप्ने भएकाले पार्टीलाई बलियो बनाउनुपर्ने बताए । त्यस्तै उनले सीट बाँडफाँटमा सहमतिको अन्तिम प्रयास जारी रहेको धारणा राखे ।

राष्ट्रपतिको पक्षमा युवा संघद्वारा प्रदर्शन नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ, नेपालले मुलुक बचाउने काम राष्ट्रपतिबाट भएको भन्दै समर्थनमा र्याली निकालेका छन् । साथै युवा संघले राष्ट्रपतिलाई विवादमा तान्ने काम नगर्न गठबन्धनलाई चेतावनी समेत दिएको छ ।

काठमाडौंको नयाँ बानेश्वरमा आज युवा संघले नागरिकता विधेयक राष्ट्रघाती भएकाले राष्ट्रपतिले प्रमाणीकरण नगरेर मुलुकको हितमा काम गरेको भन्दै र्याली निकालेका हुन् । काठमाडौंको बबरमहलबाट सुरु भएको र्याली बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभामा एमाले नेता महेश बस्नेतले राष्ट्रपतिले अहिले देशको हितमा काम गरेपनि गठबन्धनबाट आक्रमण र अपमान गर्न खोजिएको बताए ।उनले राष्ट्रको हितमा काम गर्दा विरोध भए कुनै फरक नपर्ने बताए । त्यस्तै युवा संघका अध्यक्ष किरण पौडेलले राष्ट्रियताका सवालमा अझै क्रुर शसक्त भएर अघि बढ्न सुझाव दिए ।

टुकुचा खोला उत्खनन् सम्बन्धी रिटमा प्रमाण झिकाउन आदेश काठमाडौं महानगरले टुकुचा खोलाको भौतिक संरचना भत्काउन लागेको भन्दै परेको रिटमा उच्च अदालत पाटनले प्रमाण झिकाउन आदेश दिएको छ ।

उच्च अदालतका न्यायाधीशद्वय गोकर्ण डाँगी र नारायणप्रसाद पौडेलको संयुक्त इजलासले आज प्रेसिडेन्ट ट्राभल्स एन्ड टुर्स प्रालिको तर्फबाट निर्देशक भोला विक्रम थापासहित तीन जनाको रिटमाथि सुनुवाइ गर्दै ‘प्रमाण मिसिल झिकाउने’ आदेश दिएको हो ।

यसअघि अदालतले दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो । काठमाडौं महानगरपालिकाले टुकुचा खोला अतिक्रमण गरिएको भन्दै खोला खोज्ने अभियानलाई तिव्रता दिइरहँदा त्यसको विरोधमा गत साउन ३१ गते उच्च अदालतमा रिट दर्ता भएको थियो ।

भन्सार छली ल्याउँदै गरेको १ सय ग्राम सुन सहित ३ जना पक्राउ

भन्सार छली ल्याउँदै गरेको १ सय ग्राम सुन सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा मोरङ सुन्दर हरैचा नगरपालिका–९ स्थायी घर भएका २४ वर्षीयहिमाल पौडेल, सुर्खेत बिरेन्द्रनगर नगरपालिका–१ घर भएका १९ वर्षीय कविन्द्र विश्वकर्मा र कालिकोट पलाता गाउँपालिका–७ का २५ वर्षीय जिवराजबम रहेका छन् ।

हिमालय एयरलाइन्सको उडानद्वारा दुबईबाट काठमाडौं आएका हिमाल र कविन्द्रलाई विमानस्थलको अन्तर्राष्ट्रिय आगमन टनेल गेटमा प्रहरीले जाँच गर्ने क्रममा उनीहरुबाट भन्सार छली ल्याएको १/१ थान सिक्री र १/१ थान औंठी गरी सो परिमाणको सुन फेला पारी पक्राउ गरेको हो । सोधपुछको क्रममा सो सुन जिवराजले भन्सार छली ल्याउन लगाएको खुल्न आएपछि उनलाई समेत प्रहरीले पक्राउ गरेको हो । नेटवर्किङमार्फत व्यावसाय सञ्चालन नेटवर्किङमार्फत व्यवसाय सञ्चालन गरिरहेको ग्लोबल ओरियन्सको सुनसरी इटहरीस्थित शाखा कार्यालबाट प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । कमाई राम्रो हुने र विदेश घुम्न पाइने प्रलोभन देखाएर सर्वसाधारणलाई सदस्य बनाउँदै ठगी गरेको आरोपमा प्रहरीले ग्लोबल ओरियन्स नेपालको इटहरी शाखाबाट छ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मोरङ मिक्लाजुङ–१ का ससिता राई, सुन्दरहरैंचा–७ का संजीव माझी, ग्रामथान–३ का बिक्रम माझी, कटहरी–६ का पंकजकुमार साह र अरुणकुमार मुडयारी र झापा बिर्तामोड–१० का पदम राई रहेका छन् । इटहरी–९ सजन राईको घरमा कोठा भाडामा लिएर उनीहरुले ग्लोबल ओरियन्स नेपाल प्रालिको बोर्ड पनि राखेको प्रहरीले जनाएको छ ।

प्रहरीले पक्राउ परेकाहरुको कोठामा खानतलासी गर्दा कम्प्यूटर, ल्यापटप, मोवाईल फोन, विभिन्न व्यक्तिहरुको फोटो, नागरिकता, प्रमाणपत्रलगायतका सामाग्री बरामद गरेको छ । पक्राउ परेका ६ विरुद्ध सुनसरी जिल्ला अदालतबाट नेटवर्किङ्ग ठगी मुद्दामा म्याद थपेर अनसन्धान सुरु गरिएको छ ।

कोरोना अपडेट नेपालमा थप ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ९७ पिसिआर परिक्षणका क्रममा ३९ जना र २ हजार ३ सय ५० एन्टीजेन परिक्षणका क्रममा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै थप १ सय ७५ संक्रमित निको भएका छन् । हाल नेपालमा १ हजार ४ सय ८३ सक्रिय संक्रमित आइशोलेशनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

डा केसी आफ्नै खर्चमा काठमाडौं आए स्वास्थ्य क्षेत्र सुधारको माग विगत राख्दै १० दिन देखि अनसनरत डाक्टर गोविन्द केसी आफ्नै खर्चमा काठमाडौं आएका छन ।

सरकारी खर्चमा काठमाडौं नजाने घोषणा गरेका केसी आज आफ्नै खर्चमा प्लेन टिकट काटेर काठमाडौं आएको सहयोगी डाक्टर अमृत जैशीले बताए । स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उपचारमा संलग्न डाक्टरले केसीलाई काठमाडौं जान सुझाव दिएका थिए ।

स्वास्थ्यकर्मीको सुझाव अनुसार केसी आफ्नै खर्चमा काठमाडौंगएका सेती प्रादेशिक अस्पतालका सिनियर फिजिसियन कन्सल्टेन्ट डाक्टर शेरबहादुर कमरले बताए ।

बागडोलमा आगलागी हुदाँ ३ जना घाइते ललितपुरको बागडोलमा रहेको एक कवाडी गोदाममा आगलागी हुदाँ ३ जना घाइते भएका छन् । प्रकाश खत्रीको जग्गामा भाडामा रहेको बच्चा साहको कागजको कवाडी गोदाममा करेन्ट सर्ट भई आज दिउँसो आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागीको सूचना प्राप्त भएपछि सेना, प्रहरी, शसस्त्र प्रहरी र उपत्यकाका ४ वटा दमकलको मद्दतले २ घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो ।

बर्दियाबाट ब्राउन सुगरसहित दुई जना पक्राउ अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पद्धार्थ सहित प्रहरीले २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दिया गुलरिया नगरपालिका–६ आनन्द टोल बस्ने ४२ वर्षीय हेमराज गिरी र सोही नगरपालिका–५ सन्तोषी टोल बस्ने ३७ वर्षीय सफल ज्ञवाली रहेका छन् ।

बढैयाताल गाउँपालिका–८ रिहारबाट खैरो पदार्थ ६ सय १० मिलिग्राम सहित २ जनालाई आज बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भे।११ प ४२७८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई सो पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।