राजनीति

सत्ता गठबन्धनको चुनावी सभा आज पोखरा र बुटवलमा

By खबरहब

October 21, 2022

काठमाडौँ – सत्ता गठबन्धनले आज पोखरा र बुटवलमा चुनावी सभा गर्ने भएको छ। पोखरामा बिहान ११ बजे र बुटवलमा दिउँसो २ बजे सभाको आयोजना गरिएको छ।

कार्यक्रममा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी र जनमोर्चाका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

पूर्वनिधारित कार्यक्रम अनुसार भोलि प्रदेश १ को विराटनगर र मधेस प्रदेशको जनकपुरमा चुनावी सभा हुनेछ। कात्तिक ६ गते सुदूरपश्चिम प्रदेशको धनगढी र कर्णाली प्रदेशको सुर्खेतमा तथा ७ गते काठमाडौंमा चुनावी सभाको आयोजना गरिएको छ।

‘संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन’ नारा दिएर गठबन्धनले सबै प्रदेशमा संयुक्त चुनावी सभा गर्ने जनाएको छ। आजदेखि कात्तिक ७ गतेसम्म हुने सबै प्रदेशका चुनावी सभामा गठबन्धनका शीर्ष नेताहरुले सम्बोधन गर्ने छन्।