फाइल तस्वीर

आर्थिक

१ खर्ब ८७ अर्बभन्दा बढी रेमिट्यान्स भित्रियो

By खबरहब

October 21, 2022

काठमाडौं– चालु आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनामा नेपालमा विभिन्न देशबाट १ खर्ब ८७ अर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्रिएको छ । 

नेपाल राष्ट्रबैङ्कले आज जारी गरेको तथ्यांक अनुसार २०७९ साउनदेखि असोज मसान्तसम्म नेपालमा कुल १ खर्ब ८७ अर्ब ४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यसवर्ष नेपाल भित्रने रेमिट्यान्स १९.८ प्रतिशतले वृद्धि भएको राष्ट्रबैंकले जनाएको छ । 

अघिल्लो वर्षको सोही अवधिमा नेपाल भित्रने रेमिट्यान्स ५.८ प्रतिशतले घटेको थियो । पछिल्लो तीन महिनामा अमेरिकी डलरमा रेमिट्यान्स ११.३ प्रतिशतले वृद्धि भई १ अर्ब ४७ करोड डलर पुगेको छ । अघिल्लो वर्ष यस्तो रेमिट्यान्स ५.३ प्रतिशतले घटेको थियो । 

गत साउनदेखि असोज मसान्तसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या १६९.९ प्रतिशतले वृद्धि भई १ लाख ३ हजार ८९८ पुगेको छ । 

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ७०.६ प्रतिशतले वृद्धि भई ३९ हजार १८९ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ४२९.५ प्रतिशतले बढेको थियो।