फाइल तस्वीर

राजनीति

धनुषा–३ मा मतगणना जारी

By खबरहब

November 21, 2022

जनकपुरधाम- मधेस प्रदेशका जिल्लामा आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना प्रक्रिया सुरु भएको छ ।

अहिलेसम्म प्रदेशका आठ जिल्लामध्ये धनुषाको प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा मात्रै मतगणना सुरु भएको छ । धनुषाका मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले सो क्षेत्रमा बिहानैदेखि मतगणना जारी रहेको र हालसम्म जनकपुरधाम उपमहानगरपालिका–१५ मा मतगणना सम्पन्न भएको छ ।

उनका अनुसार यहाँ नेकपा (एमाले)का उम्मेदवार जुली महतो छ सय आठ मतसहित अग्रस्थानमा छिन् भने गठबन्धनका उम्मेदवार अनिल झा तीन सय १० मतसहित तेस्रो र जनमत पार्टीका उम्मेदवार शम्भुनाथ साह तीन सय २० मतसहित तेस्रो स्थानमा छन्।

धनुषाका निर्वाचन क्षेत्र १, २ र ४ मा मतगणनाका लागि सर्वदलीय बैठक बस्ने तयारी भइरहेको धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । उनले सर्वदलीय बैठकको निर्णयअनुसार अहिले १० बजेपछि मतगणनाको तयारी भइरहेको पनि बताए।

त्यसै गरी सर्लाही, सप्तरी, बारा, पर्सा, रौतहट र महोत्तरीमा पनि सर्वदलीय बैठक बसेर मतगणनाको तयारी भइरहेको जनाइएको छ  ।