राजनीति

कञ्चनपुर ३ मा नेपाली कांग्रेसका रमेश लेखकलाई सुरुआती अग्रता

By खबरहब

November 21, 2022

काठमाडौँ- कञ्चनपुरमा पूर्वमन्त्री एवम् सत्ता गठबन्धनका उम्मेदवारले सुरुआती अग्रता लिएका छन् । कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधीसभातर्फ पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका नेता रमेश लेखकले सुरुआती अग्रता कायम गरेका हुन् ।

सत्ता गठबन्धनका उम्मेदवार लेखकले एक हजार ६६ मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार निरुदेवी पालले ६ सय ३० मत प्राप्त गरेकी छिन् । प्रतिनिधीसभामा दर्जन उम्मेदवार भए पनि यहाँ सत्ता गठबन्धनका उम्मेदवार लेखक र एमाले नेत्री पालबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

निर्वाचन क्षेत्र नं ३ मा भीमदत्तनगरपालिका–१, २ र ३ नं वडाबाट एकसाथ गणना भइरहेको छ । ९७ हजार आठ सय २२ मतदाता रहेको क्षेत्र नं ३ मा ५७ हजार नौ सय ५५ खसेको जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले जनाएको छ ।

निर्वाचन क्षेत्र नं ३ को प्रदेशसभा १ को समेत गणना दोधारा चादँनी नगरपालिकाबाट सुरु भएको छ । अघिल्लो निर्वाचनमा यो क्षेत्रमा नेकपा एमालेका उम्मेदवार डा. दीपक प्रकाश भट्टले झिनो अन्तरले नेपाली कांग्रेसका नेता रमेश लेखकलाई पराजित गरेका थिए ।